US Khabar

तस्करी , विचौलिया र भ्रष्टले प्रभाव पार्न नसकेका माधवलाइ किन नमान्नु ?- राधाकृष्ण देउजा

- यूएस खबर | २ वर्ष पहिले प्रकाशित

तस्करी , विचौलिया र भ्रष्टले प्रभाव पार्न नसकेका माधवलाइ किन नमान्नु ?- राधाकृष्ण देउजा

अनेकन आरोपजन्य प्रतिक्रियाहरुको निम्ती तयार भएर आफ्ना आग्रह पूर्वाग्रह र दृष्टिदोषको सिकार भएकाहरुले लेख्न सक्ने अनेकन तल्लो स्तरको टिप्पणीहरु प्रति पनि खुल्ला रहेर पनि सुरुमै लेख्छु कि समकालीन नेपाली राजनीतिमा विद्धमान नेताहरु मध्य मलाइ माधव नेपाल एक असल , इमान्दार , चरित्रवान अनि देश र जनता प्रति निष्ठावान नेता लाग्छ । मैले एक सर्वसाधारणको हैसियतले देखेको जानेको राजनीतिलाइ विश्लेषण गर्दा हामीले देखेका , पढेका वा सुनेका नेताहरु मध्य शिर्ष तहमा पुगेका असल नेताहरुको सुची बनाउने हो भने पनि माधव नेपाललाइ गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराई पछाडी राख्दा अन्याय र अनुचित दुवै हुदैन भन्ने लाग्छ मलाइ । तर मैले मेरो आफ्नो निष्कर्षको आधारमा वहाँ प्रति देखाएको सम्मानलाइ अन्यथा हिसावले बुझ्ने , व्याख्या गर्ने अनि के के नै पाएर पो वा पाउने भएर पो सम्मान गरेको रहेछ कि भन्ने पनि कतिपयलाइ लाग्ने गरेको महशुस गरेको छु । यद्धपी सत्य चाहिं के हो भने मैले वहाँको घरको एक कप चिया खानेसम्मको अवसर पाएको छैन भलै एक पटक वहाँको घरमा पुगेको जरुर छु अनि जहाँसम्म वहाँको कारण मैले कुनै पद वा कुनै अवसर पाउँला कि भन्ने पनि मलाई छैन किन भने एक त म आफ्नो वाध्यताले भनौ वा छनोटले प्रवासमा मेहेनत मजदुरी गरेर जीवन विताउने मान्छेलाइ वहाँले कहाँ के अवसर दिनु अनि अर्को कुरा यदी स्वदेश फर्केर कहीं कतै केहि गरौँ भन्दा पनि वहाँले विधि पद्दति मिचेर कोहि कसैलाइ फड्को मार्न दिनुहोला भन्ने नै लाग्दैन भने असम्भव यात्रा के गरौंला मैले ? हुन त त्यही लोभ लालच केहि नराखी धारणा बनाउने हुनाले निरन्तर वहाँ प्रतिको आफ्नो सम्मानभाव राख्दा मलाइ न कुनै असहजता लाग्छ वा न कसैले त्यसमा आफ्नो पूर्वाग्रही प्रतिक्रिया दिंदा नै मलाइ त्यसले छुने गर्छ । तर यसो भन्दै गर्दा पनि एउटा अर्को कुरा यहाँ भन्न छुटाउनु हुदैन त्यो के भने माधव नेपाल प्रति सम्मानभाव प्रकट गर्नुको मतलव वहाँका राजनीतिक प्रतिस्पर्धीहरुको दोहोलो काढ्नु पर्छ भन्ने पनि छैन र वहाँको व्यक्तिगत सरलता र इमान्दारिताको निम्ती वहाँ प्रति नतमस्तक हुँदै गर्दा पनि वहाँले लिनु भएका राजनीतिक विचार , कार्यशैली र कार्यनीति सदैव ठिक नहुन पनि सक्छ भन्नेमा सचेत छु र आफुलाइ बेठिक लागेको समयमा त्यस प्रति विमति राख्न पनि कुनै धक मान्ने गरेको छैन । बरु खुसि के लाग्छ भने वहाँमा आफ्नो आलोचना सुन्ने , आफ्ना नीति विचार र कार्यशैलीमा रहेका वा देखिएका त्रुटीलाइ आलोचना गर्दा पनि त्यसलाइ धैर्यतापुर्वक सुन्ने र गलत भएछ भन्ने लाग्दा स्विकार्ने र सच्याउने बानि छ , जुन वहाँलाइ सम्मान गर्न प्रेरित गर्ने अर्को कारण हो ।
माथी उल्लेख गरे जस्तै आफ्ना आग्रह पूर्वाग्रह अनि दृष्टिदोषको आधारमा मैले माधव नेपाललाइ आफ्नो बुझाइ र अनुभवको आधारमा सम्मान गरेको विषयलाइ यो वा त्यो कोणबाट सवाल गरेर मलाइ प्रतिरक्षात्मक पो बनाउन सकिन्छ कि भन्ने ठान्नेहरुलाइ त न चित्त बुझाउन सकिन्छ न त त्यो कोशिस नै आवश्यक छ तर केहि यस्ता सुपात्र , मेरा आदरणीय अनि सहि र गलत वाहेक अरु केहि नहेर्नेहरुले पनि मलाई सोध्नु हुन्छ “ किन तपाईं माधव नेपाललाइ यति धेरै मान्नु हुन्छ ?” अनि मैले आफुले वहाँलाइ किन मान्ने गरेको छु भनेर सकेसम्म स्पष्ट पार्ने गरेको पनि छु । अहिले नेकपा चिरा परिसके पछिका पछिल्लो दिनहरुमा वहाँ प्रतिको मेरो सम्मानभावको कारण जान्न खोज्नेहरुको संख्या बढेको छ त्यसैले म सवैलाइ एकमुष्ट जनाकारी होस भन्ने हेतु माधव नेपाल प्रति सम्मान किन ? भन्ने सवालको उत्तर होस भनेर बुँदागत रुपमा निम्न कुराहरु राख्न चाहन्छु :
१. मदन भण्डारीको असामयिक देहवसान पश्चात तत्कालिन नेकपा एमाले पार्टीको नेतृत्व गरेर पार्टीलाइ नौ महिनानै भए पनि सरकारको नेतृत्वमा पुर्याउँदा वर्तमान प्रधानमन्त्री केपी ओली समेत सहभागी गराएर छरितो सरकारको गठन गर्ने अनि सरकारको कामले जनतामा आशा पैदा गराउन सफल हुने कुराको नेतृत्व गर्ने वहाँ नै हो । आज पनि नेपालको इतिहासका जनपक्षिय सरकार को कुरा आउँदा त्यो सरकार एक नम्बरमा चर्चा हुन्छ ।
२. आफुले पन्ध्र वर्ष पार्टीको नेतृत्व गर्दा हरेक महत्वपूर्ण विषयमा निर्णय लिंदा पार्टी वैठक राख्ने , सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको प्रणालीलाइ बढावा दिने अनि आफ्ना पक्षकालाइ मात्रै नभएर विपक्षलाइ पनि जिम्मेवारी दिने वहाँको शैली थियो । त्यस तथ्य प्रस्तुत गरिरहँदा वहाँको नेतृत्वकालमा वहाँले अवसर र जिम्मेवारी दिनु भएकैले आफ्नो राजनीतिक शिखर तर्फको यात्रा तय गर्नु हुने वर्तमान प्रधानमन्त्री केपी ओली , उपाध्यक्ष बामदेव गौतम , प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल , परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत थुप्रैको नाम लिन सकिन्छ जसलाइ वहाँले पार्टीको आन्तरिक जीवनमा आफु प्रति असहयोगी हुँदा पनि जिम्मेवारीविहिन पार्ने बारेमा कहिल्यै सोच्नु भएन । केपी ओलीले नेतृत्व गर्नु हुँदा गोकर्ण विष्ट , राजेन्द्र राइ , बेदुराम भुषाल , अष्टलक्ष्मी शाक्य लगायतलाइ गरेको जस्तो व्यवहार माधव नेपालले आफ्नो पालामा गर्नु भएको भए आज कमसेकम शंकर पोखरले , प्रदिप ज्ञवाली , पृथ्वीसुब्बा गुरुङ लगायतका कतिपय मानिसहरु माधव नेपाल प्रति लान्छना लगाउने ठाउँमा हैन आफ्ना निरासाका गीत लेख्ने ठाउँमा हुने पक्का थियो ।
३. माधव नेपालले पार्टी देखि सरकार संचालन गर्दासम्म कोहि दलाली , तस्करी र दुइ नम्बरी ठेकदारहरुको संगत गरेको सुन्न र पढनु परेको छैन तर यसो भन्दा कतिपयले प्रधानमन्त्री निवासको स्तरउन्नतिको सकारात्मक सोचको निरन्तरता हुने ठानेर वहाँको मन्त्रीपरिषदले गरेको नीतिगत निर्णयको जगमा केहि अनैतिक भ्रष्टहरुले फाइदा लिएको विषयलाइ जोडेर वहाँको इमान्दारितामा दाग लगाउन खोज्ने मात्रै नभएर वाहाँलाइ त्यसैको वाहनमा जेल हालिने भन्दै हौवा पिटाइ रहेका छन । वहाँको इमान्दारितालाइ बुझेर पनि बुझपचाइरहेकाहरुलाइ त केहि नभनौं तर त्यस्ता अफवाहबाट भ्रमितलाइ चाहिं त्यस प्रकरणमा वहाँको संलग्नता प्रमाणित गर्न अनेकन खेल गर्दा पनि नसकेको , वहाँलाइ त्यसमा जसरि पनि त्यसमा आरोपी बनाउन घुमाउरो तर कडा निर्देशन पाएको अवस्थामा पनि अख्तियार अनुसन्धान देखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले समेत वहाँलाइ त्यसमा संलग्न देखाउने कुनै आधार नदेखेकोले केहि गर्न नसकेको आसयमा लोकप्रिय नागरिक लगायतका मिडियामा आएका समाचारहरु हेर्न अनुरोध गर्दछु भने आफ्ना विरुद्ध लागेका वा लाग्न सक्ने सवै खालका आरोपहरुको स्वतन्त्र छानविन होस आफु त्यस निम्ती तयार रहेको भन्दै माधव नेपालले गर्दै आउनु भएको सार्वजानिक घोषणाको पनि स्मरण वान्छनीय छ । अनि वहाँको आर्थिक इमान्दारिताको कुरा गर्दा म नेपाल प्रहरीका भूतपूर्व महानिरिक्षेक आदरणीय अच्युतकृष्ण खरेलले लेख्नु भएको कितावमा वहाँले चुनावमा सहयोग होस भनेर तत्कालिन अवस्थामा दिन खोजिएको दस लाख रुपियाँलाइ आफुलाइ हैन पार्टीको आम्दानी जनिने गरेर पार्टीको खातामा जम्मा गर्न भनेर माधव नेपालले भन्नु भयो भनेर भनेको प्रसंग, अनि लामो समय तत्कालिन नेकपा एमालेको कार्यलय सचिव रहनु भएका आदरणीय काशिनाथ अधिकारी ( जो आफैं पनि इमानको प्रतिमूर्ति हुनुहुन्छ ) वहाँले तत्कालिन अवस्थामा महासचिव रहनु भएका माधव नेपाललाइ जसले जे दिए पनि वहाँले त्यसलाइ पार्टीको आम्दानीको रुपमा राख्ने र पार्टीको भण्डारमा जम्मा गराउनु हुन्थ्यो भनेर भन्नु भएको सम्झन्छु । यो दुई आदरणीय पात्रहरुको लेखाइ र भनाइ मात्रै हैन माधव नेपालको जीवन शैलीनै हेर्दा पनि वहाँको आर्थिक इमान्दारिता प्रष्ट नै हुन्छ ।
४. तथ्यमा टेकेर हैन आग्रह र पूर्वाग्रह टेकेर वहाँलाइ कतिपयले पदलोलुप भनेको पनि सुनिन्छ तर तथ्य चाहिं के हो भने वहाँ आफुले पद त्याग गर्दा देश , जनता र पार्टीको हित हुने देख्दा पद त्याग्न सक्ने दृष्टान्त प्रस्तुत गरेको नेता हुनुहुन्छ , वहाँको अक्सर आलोचक रहने इतिहास बनाउनु भएका बामदेब गौतमले त वहाँको त्यो शैलीलाइ राजनेतामा हुने गुण नै भन्नु भएको छ । इतिहास साक्षी छ , वहाँले आफ्नो नेतृत्वमा रहेको पार्टीले चुनावमा पराजय व्यहोर्दा एकल निर्णयले नैतिकताको आधरमा राजिनामा दिनु भएको , अनि तत्कालिन अवस्थामा देशमा जारि संकटको समाधान हुन्छ संविधान निर्माणले निष्कर्षमा पुग्न पाउँछ भने , शान्ति प्रक्रियाले गति पाउँछ भने ठिक छ नि त भनेर आफुसंग वहुमत कायम हुँदाहुँदै पनि प्रधानमन्त्री पदबाट राजिनामा दिने वहाँ नै हो । त्यती मात्रै हैन अहिले आफुले गरेको असंवैधानिक संसद विगठन र औचित्यहीन पार्टी विभाजनलाइ छोप्न माधव नेपालको कटु आलोचना गर्नमा व्यस्त प्रधानमन्त्री केपी ओलीले वहाँलाइ अध्यक्ष हुनुस भन्दा मान्नु भएन भनेर त भन्नु नै भएको छ । वहाँलाइ घरमा गएर राष्ट्रपति भैदिन पर्यो भन्दा वहाँले नमाने पछि अमिलो मुख पारेर फर्कनु हुने आदरणीय इश्वर पोखरेल , विष्णु पौडेल त अहिले सरकारमा विराजमान नौ हुनुहुन्छ । अनि यस्ता यस्ता जगजाहेर तथ्यहरुलाइ नजरअन्दाज गर्दै कोहि कसैले मन पराउँदैनन कि भनेर माधव नेपाललाइ समर्थन नगर्ने त ?
५. वहाँ प्रति सम्मान हुने अर्को कारण पनि छ , वहाँ न कसैलाइ कुर्नु हुन्छ न कुराउनु हुन्छ । बोलाएको ठाउँमा समयमै वा केहि अगाडी पुग्ने , तोकिएको समयसम्म बस्ने अनि त्यसपछि हिडने वहाँको बानि धेरैको निम्ती उधाहरण बन्ने गरेको छ ।
उल्लेखित पाँच वाहेक वहाँका अरु धेरै कुराहरु पनि छन जसले वहाँलाइ सम्मान योग्य बनाएको छ । यद्धपि वहाँ वा कोहि कसै प्रति पनि कोहि कसैले भन्दैमा सकारात्मक वा नकारात्मक धारणा बनाउनु पर्छ भन्ने छैन तर जोसुकै प्रति धारणा बनाउँदा पनि तथ्यलाइ आधार चाहिं बनाइनु पर्छ । तसर्थ देखेको सत्य र अध्यन गरिएको तथ्यको आधारमा मैले चाहिं माधव नेपाललाइ सम्मान नगर्न पर्ने कारण पाएको छैन अनि यसो भन्दै गर्दा “वहाँको निष्ठा , इमान र सरलताको प्रशंसक त म पनि हो नि तर वहाँ यो वा त्योसंग मिलेको मलाइ निको लागेन” भन्नेहरुको चिन्ता र चासोलाइ पनि स्मरण गरिरहेको छु ।
तर सकारात्मक वा भनौं सुचिन्तनले त्यस खालको चासो वा चिन्ता राख्नेहरुले पनि माधव नेपालको सहकार्य वा एकता को संग हुन्छ भन्दा पनि के को निम्ती हुन्छ वा भैरहेको छ भन्ने दृष्टिले हेर्दा मात्रै सहि र आवश्यक निष्कर्ष निस्किनेछ भन्ने सत्यको मनन गर्नु उचित हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!