शेर के.सी अष्टिन (टेक्सास)
टेक्सासको राजधानी अष्टिनमा बसोवास गर्ने नेपालीहरुको आफ्नै सामुदायीक भवन बनाउने सपना पुरा हुन लागेको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) र यस अन्तर्गत रहेको नेपाली सामदायीक केन्द्र निर्माण समितीको पहलमा आउंदो फेब्रअरी पहिलो साता सामुदायीक भवन खरिद प्रक्रिया सकिने ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।
फुल्गरभिल, राउण्ड रक र हटोको कर्नरमा हाइवे १३० संगै रहेको २.६ एकड जमिनमा रहेको भवन खरिद गरेर नेपाली सामुदायीक केन्द्र बनाउने कार्य अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले बताउनुभयो । उहांका अनुसार सो भवनलाई ५ लाख ७ हजार डलरमा खरिद गर्ने सहमती भएको छ ।
हाल सम्म सामुदायीक भवनका लागी संकलित रकम खरिद मूल्य भन्दा कम रहेको र यही महिनाको अन्त्य सम्म रकम जम्मा गरि सक्नपर्ने भएकोले सके संस्थाको ट्रष्टी बनेर नसके सक्दो सहयोग गर्न अष्टिनवासी नेपाली समुदायमा अपिल गरिएको पनि भट्टले बताउनुभयो । साथै पहिले सहयोगको कबोल गरेका व्यक्तिहरुले आफ्नो रकम यही जनवरी महिनाको अन्त्य सम्म बुझाई सक्न पनि अनुरोध गर्नुभयो ।
नेपालीहरुको बाक्लो बसोवास भएका अमेरिकाका अन्य शहरहरुका नेपाली सामदायीक भवन छन् । नेपालीहरुका बिभिन्न कार्यक्रम हालसम्म भाडामा गर्दै आइएकोमा अव आफ्नै भवन भएपछि कार्यक्रम आयोजनाका लागी पनि सहज हुनेछ । ग्रेटर अष्टिन नेपाली सामुदायीक केन्द्र निर्माण समितिले सामाजिक संजालमार्फत एक बिज्ञप्ती जारी गरेर भवन खरिद प्रक्रिया र संकलित आर्थिक विवरण पनि सार्बजनिक गरेको छ ।
ग्रेटर अस्टिन नेपाली सामुदायीक केन्द्र निर्माण समितिले जारी गरेको बिज्ञप्ती :
आदरणीय ग्रेटर अस्टिन निवासी नेपाली दाजु भाई दिदी बहिनीहरु, अन्तत: हामी सामुदायिक केन्द्रका लागी सम्पत्ती खरिदको नजिक आई पुगेका छौं । 1251 Co Rd 138, Hutto, TX 78634 लाई हाम्रो ५ लाख ७ हजारको अफर स्विकार भएको छ । धेरै जनाको अफर परेर बडाबड गरेर माँग गरिएको भन्दा केही बढी तिरेर मात्र यो हाम्रो हातमा आएको छ । हामीसित $181,484.47 जम्मा भएको छ तर धेरैले दिन बाँकी नैं छ । यसरी साँच्चिकै किन्ने भए पछि दिई हालिन्छ नि भनेर बस्नु भएको छ । यसैको आशामा हामीले यो आँट गरेका छौं । तसर्थ क्लोजिंग हुनु अघि (January 31) जोड तोडले रकम संकलन गर्न सबैले सहयोग गर्नु हुनेछ भन्ने हामीले आशा लिएका छौं । यो जग्गा एकदमैं बिकाश भैरहेको हाईवे १३० को छेवैमा फ्लुगरभिल, राउण्ड रक र हटोको कर्नरमा पर्छ ।
हाईवेको एक्सेसका कारण सबैतिर छरिएर रहेका नेपालीहरुलाई यहाँ आउन सजिलो र छिटो हुनेछ । अहिलेको महंगाई, हाम्रो क्षमता, आबश्यकता, बजार सम्भावना र हाम्रो सम्पत्ती खोजाईको लामो अनुभवका आधारमा यसलाई (२.६ एकर जमिनमा बनेको २२९५ स्क्वायर फिटको एक तले चार सुत्ने कोठा भएको घर र एउटा सानो टहरो) उपयुक्त ठानेर अघि बढ्न लागेका छौं । तत्काल सामान्य प्रयोगमा आउने यो ठाऊँमा भविश्यमा हाम्रा आबश्यकता अनुसारको निर्माण गर्न सकिनेछ । तर अपुग रकम अव क्लोजिंग गर्नु अघि या त बैंकले स्विकृत गर्नु पर्ने हुन्छ या त सहयोग उठाउन सक्नु पर्ने हुन्छ ।
यस्तो संस्थालाई लोन लिन गाह्रो हुन्छ, त्यसैले सहयोगकै भरोसामा हामी छौं । तसर्थ हामी सोध्न चाहन्छौं, नदिएकाले कति दिन सकिन्छ? र दिईसकेकाले कति थप्न सकिन्छ? यो हाम्रो आफ्नैं सामुदायिक काम हो । यस कार्यले हाम्रो समुदायको हित गर्नेछ । त्यसैले फेरी हामी सहयोग संकलनका लागी सबैलाई आब्हान गर्दछौं । होष्ठेमा हैंसे नगरीकन या तपाईहरुको साथ सहयोग बिना हामी अघि बढ्नैं सक्दैनौं । हामीलाई बिश्वाश छ यो पुण्य कार्यमा गक्ष अनुसारको सहयोग निरन्तर गर्दै गर्न कोही पनि चुक्नु हुने छैन ।
“ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र” के हो?
यो हामी नेपालीहरुको धार्मिक, सामाजिक, सांस्कृतिक गतिविधि गर्ने ठाऊँ हो । हाम्रो पारिवारिक या सामाजिक आबश्यकता अनुसार भेला हुने र प्रयोग गर्ने छौं । यसले हामीलाई हाम्रा आबश्यकता पुरा गर्न या समस्याहरु समाधान गर्नलाई सहयोग पुग्ने छ । अहिले तत्काल ब्यवस्थित मन्दिरको रुपमा जान सम्भव नभए पनि हाम्रा धार्मिक सांस्कृतिक आबश्यकता पुरा गर्दै जाने यसको उद्देश्य हुनेछ । ग्यान्सले गर्दै आएका बच्चाहरुको नेपाली पाठशाला समरमा मात्र सिमित नराखी बाह्रै महिना गर्ने प्रयास गरिनेछ र स्वास्थ्य शिविर, रक्तदान, बिभिन्न कार्यशाला र गोष्ठीहरु, सांगितिक सांस्कृतिक कार्यक्रमहरुलाई नियमित र ब्यवस्थित बनाउदै लगिनेछ ।
योजना के छ?
यो कामलाई दुई चरणमा बाँडिएको छ । पहिलो चरणमा भरिसक्य घर सहितको अलिक ठुलो जग्गा लिने र प्रारम्भिक उपयोग सुरु गर्ने । र दोश्रो चरणमा थप आर्थिक जो गरेर रिमोडलिंग या भवन निर्माण आबश्यकता र क्षेमताका आधारमा गर्दै जाने ।
सहयोग कति गर्ने र कसरी गर्ने ?
1. संस्थापक ट्रष्टी: यो पहिलो फेजको सम्पत्ती खरिद गर्नु अघि बनेका ट्रष्टीहरु संस्थापक ट्रष्टी हुनेछन् तर ट्रष्टी बन्न त्यसपछि पनि निरन्तर पाईनेछ । हामी यहाँहरुलाई सक्नु हुन्छ भने ट्रष्टी नैं बनेर सहयोग गर्न अनुरोध गर्दछौं । ट्रष्टीले पैसोको सहयोग मात्र हैन, यसको नेतृत्व या अगुवाई र संरक्षण पनि गर्दछ । अहिलेसम्म ५० जना ट्रष्टी बनिसक्नु भएको छ । ट्रष्टी जति ठुलो हुन्छ त्यति नैं संस्था तागतवान बन्नेछ या कार्य सहज हुनेछ । ट्रष्टी बन्न कमसेकम $३,४००.०० रकम बुझाउने या $१,०००.०० बाट सुरु गरेर बाँकी किस्तामा बुझाउदै जाने नियम बनाईएको छ सहजताका लागी । यस अघिको सूचनामा पैसा चुक्ता गर्नैं पर्ने अनिवार्यतालाई हटाईएको या सच्याईएको छ साथीभाईको सुझावका आधारमा । यो हाम्रो साझा काम भएकोले सकारात्मक सुझावहरुको अपेक्षा पनि राख्दछौं ।
2. संस्थापक आजीवन सदस्य: यो पहिलो फेजको सम्पत्ती खरिद गर्नु अघि बनेका सदस्यहरु संस्थापक सदस्य हुनेछन् तर सदस्य बन्न त्यसपछि पनि निरन्तर पाईनेछ । कमसेकम $२५०.०० बुझाउनेहरु आजीवन सदस्य हुने छन् ।
3. “एकले थुकी सुकी जाने सयले थुके नदी हुने” भन्ने उखान छ । जति सक्नु हुन्छ सहयोग गर्दै जाऊँ, थप्दै जाऊँ यो पुण्य कार्यमा ।
यो हाम्रो आफ्नैं आबश्यकताका लागी हो । $२५०.०० पनि गाह्रो हुनेले पनि जति सकेको सहयोग गर्न सक्नु हुनेछ । तपाईहरुका प्रश्न या जिज्ञासाहरु भए [email protected] मा पठाउनु होला । यही ईमेलमार्फत पनि Zelle बाट पैसा सहयोग पठाएर हामीलाई जानकारी गराउन सक्नु हुनेछ । या हाम्रो वेवसाईट ourgans.org मा “donate for community center” मा गएर अनलाईन सहयोग गर्न सक्नु हुनेछ । या हामीलाई प्रत्यक्ष दिन पनि सक्नु हुनेछ ।
हार्दिक धन्यवाद । सुरक्षित रहनु होला ।
ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र समिति
प्रतिक्रिया