US Khabar
  • बाँसगडीको महोत्सवले तय गरेको काठमाडौं यात्रा – अन्जली अधिकारी

    - Sushma Devkota | १ हप्ता पहिले प्रकाशित

    बाँसगडीको महोत्सवले तय गरेको काठमाडौं यात्रा – अन्जली अधिकारी

    गाजलको कलात्मकताले अझ सुन्दर देखिने ठुला ठुला आँखा, मोहनी नसा जस्तो मधुर मुस्कान, आकर्षक ब्यक्तीत्व, शालिन स्वभाव, कलाप्रतिकोे अगाध लगाव, चर्चा बिचमै पनि उनले नविर्षिएको नेपाली संस्कार र यहि संस्कारले सिकाएको एउटा हिम्मत जसले उनलाई आजको सफलतामा पुर्याएको छ । उनि अर्थात कलाकार अन्जली अधिकारी ।

    उमेरले जम्मा २३ बर्षकी भईन् अन्जली । तर उनको अभिनय यात्राले आधा दशक लामो समय पार गरिसकेको छ त्यो पनि चर्चा र प्रशंसाका साथ ।

    २०५४ साल असोज १४ गते वर्दियामा जन्मिएकी अन्जलीले सानैबाट देखेको सपना यतिबेला सार्थक भएको छ तर उनि भित्रको कलाकार मनले सोच्दछ कि मैले अझै धेरै काम गर्नु छ, मेहनत र सिकाई अझै बाँकी छ । अव त उनलाई यस्तो पनि लाग्छ यो क्षेत्र र दर्शकप्रतिको जिम्मेवारी अझै बढेको छ ।

    अवोध मनले रोजेको सपनाको यात्रा

    सानोमा चन्चल थिईन् अन्जली । मध्यम बर्षिय किशान परिवारमा जन्मिएकी उनि स्कुले जीवनदेखी नै प्रतिस्पर्धात्मक कार्यक्रमा नृत्य प्रस्तुत गर्दथिईन् र संधै प्रथम नै हुन्थिन । उनलाई सम्झना छ एउटा प्रतियोगामा दोस्रो हुनु परेकोमा उनलाई दुख लागेको थियो । यो दुखाई त्यहि दुखाई हो जसले अन्जलीलाई प्रथम हुनेका लागि अझ सहयोग गरिरहेछ । आजको लोकप्रियता हेर्दा उनि प्रथम स्थानमा रहेरै काम गरिरहेकी मोडल हुन् जसका फ्यानहरु साना नानीहरु देखी बृद्ध वा आमाहरु छन्, देश बिदेशमा रहेका नेपाली तथा बौद्धिक बर्गमाझ समेत कुशल कलाकारका रुपमा परिचय बनाएकी अन्जली त्यो कलाकार हुन् जसले नेपाली माटो सुहाउँदो पहिरन र अदा पस्केरै करडौं मन जित्न सफल छिन् ।

    अन्जली आफ्ना बाल्यकाल सम्झन्छिन्, जतिबेला उनकी आमा उनलाई सपनाको गोरेटोमा हिड्न साथ दिईथिहिन् उस समय उनका बुवा र दाईलाई डर थियो । स्टाफ नर्स पढाउने बुवाको त्यो धोको अधुरै रहेपनि यतिबेला अन्जली त्यो सेविका बनेकी छन् जसले करडौं मनहरुलाई मनोरन्जनका माध्यमबाट खुसी बनाईरहेकी छन् । उनले स्टाफ नर्स बनेर गर्ने उपचार भन्दा यो कयौं गुणा माथी छ यदि कलाकारितालाई यो देश र समाजले बुझ्न सक्ने हो भने ।

    ग्रामिण परिवेश, परिवारको जिम्मेवारी, सामाजले निर्धारण गरेका निश्चिित दायरा भित्रकी छोरी, टिनएजपनि पार नगरेको केटाकेटी मानसिकता । सायद उनका बुवा यि सबै कुराले त्यो समय डराएका हुँदा हुन् । यो क्षेत्रमा कामगर्ने कलाकर्मी बिषेशत महिला कलाकार जो ग्रामिण भेटबाट आएका छन् उनिहरुले झेल्दै आएको सुरुवाती समस्या हो यो । यतिबेला बुवा र दाईको धेरै सपोर्ट छ उनलाई त्यसैले उनलाई लाग्छ त्यो मेरो हिम्मतको परिक्षा पनि थियो सायद जसको रिजल्ट नआउँदा सम्म मैले कुर्नु पर्यो । सायद उहाँहरुकै असन्तुष्टीले पनि अन्जलीलाई आफुलाई प्रमाणित गर्ने साहास थपियो ।

    अन्जलीले आफु हिड्ने गोरेटो आफैंले कोरेकी हुन्, ५ सय रुपयाँ बोकेर करिव ६ बर्ष पहिले बर्दियाबाट काठमाडौं आएकी अन्जलीले आफुभित्र पुरुष बराबरकै साहास पनि संगालेकी थिईन् ति दिनलाई फर्केर हेर्दा । कयौं रात भोक र जाडोको सामाना गरेकी उनले यसलाई पनि आफ्नो गन्तब्य सम्झेर हिडिरहिन् उहि मिठो मुस्कानका साथ ।

    बाँसगडीको महोत्सवले तय गरेको काठमाडौं यात्रा

    बन्नु थियो त कलाकार, देखाउनु थियो त आफ्नो गहिरो लगाव, रोज्नु थियो त केवल एक सपना यो आफ्नै अस्तित्व, आफ्नै नाम र परिचय । स्कुले जीवन देखी नै नाचगान भनेपछि हुरुक्क हुने उनि त्यो समय बाँसगडी महोत्सव हेर्न गएकी थिईन् । काठमाडौंबाट राष्टिय कलाकार बद्री पंगेनी, पशुपती शर्मा र शंकर बिसी महोत्सवका लागि आउने खबरले पनि उनि उत्साहित थिईन् । महोत्सव सुरु भयो, स्टेजमा कलाकारको लाईभ प्रस्तुती चलिरहँदा अरु दर्शक झैं अन्जली पनि नाचिरहेकी थिइन् । अन्जलीका लागि एउटा नसा बनेको थियो नृत्य त्यसैले उनि डुवेरै नाचिन्, बिना असजिलो बिना धक ।

    असाध्यै राम्री अन्जलीको त्यो नृत्यले काठमाडौंबाट गएका कलाकारलाई पनि प्रभावित पार्यो । संजोगले सो कार्यक्रममा गायक बद्री पंगेनीले सबैभन्दा राम्रो नाच्नेलाई ५ हजार पुरस्कारको पनि घोषणा गरेकाले यो पनि उनका लागि अर्को अवसर बन्यो सो प्रतियोगीतामा अन्जली नै प्रथम भईन् । उनि हुर्किएको परिवार र समाजले उनको कलालाई अझै पनि नजरअन्दाज गरिरहेको थियो तर गायक पंगेनी, शर्मा र कलाकार तथा निर्देशक बिसीले उनको खुवीलाई पहिल्याए । एउटा राम्रो संभावना भएकी किशोरीको कलालाई त्यत्तीकै खेर जान दिन हुन्न भन्ने लागेर बद्री पंगेनी, शंकर बिसी र पशुपती शर्मा अन्जलीको परिवारसंग कुरा गर्न उनको घरमा नै पुगे । यो प्रशंग सुन्दा सामान्य लागेपनि राजधानीबाट बिषेश आतित्यताका साथ गएका कलाकार एउटी सानी केटीको संभावना बुझाउन अविभावकको हैसियतमा उनको परिवारलाई भेट्न जानुले अझै पनि हाम्रो कला संस्कार जीवितै छ भन्ने भान हुन्छ कि अग्रज कलाकर्मी नयाँ पुस्ताको लक्ष्यसम्म पुग्ने सेतुको रुपमा पनि खडा भएका छन् ।

    टिभिमा मात्र देख्न पाईरहेका कलाकार घरमै सम्झाउन आउँदा पनि अन्जलीका बुवा र दाई पूर्णरुपमा सहमत थिएनन् त्यो समय । माथी भनेजस्तै उनिहरुलाई उनको भविश्यको चिन्ता थियो । समान्य परिवारकी हुर्कदैं गरेकी फूल जस्ती छोरी कलाकारिता जस्तो बिसाल भिडमा प्रतिष्पर्धा गर्न जाँदै थिई, यो चिन्ता स्वभाविक थियो । तर उनकी आमालाई विश्वास हुनुपर्छ सायद मेरी छोरी कलाकार नै बन्न जन्मिएकी हो, उनले जसरी छोरीको टिउसन फि बुझाउन ढिला हुँदा आफ्नो मंगलशुत्र नै बेचेकी थिईन् त्यसरी नै काठमाडौं पठाउने बेला पनि जा छोरी तँ सक्छेस भन्ने हिम्मत सहित उनलाई बिदा गरिन् र त्यही बिदाईमा दिएको आर्शिवादले अन्जलीलाई संर्घष पनि सामान्य लाग्दै गयो । किनकी यो उनले रोजेको बाटो थियो यात्रा थियो ।

    दोहोरी साँझको जागिर र अनिदा रात

    अन्जली एउटा अवोध मन बोकेरै काठमाडौं भित्रिएकी हुन् । यहाँको महंगी, मानिसका थरी थरी स्वभाव, नयाँ सहर, नयाँ संसार । अन्जलीले आफ्नो यात्राको सुरुवात दोहोरी साँझबाट सुरु गरिन् । वर्दियामा परिवार भेट्न गएका कलाकार नै उनले आफ्नो देखेका अविभावक थिए उनका लागि यो नयाँ परिवेषमा ।

    ५ सयबाट सुरु भएको मेरो संघस आजका दिन सम्म पनि जारी नै छ जस्तो लाग्छ अन्जलीलाई । उनलाई यो कुरा सुनाउँदा थोरै मात्र पनि असजिलो महशुष हुँदैन यि कुरा बरु उनलाई आफ्नै संघर्षले हौसला दिन्छ, अप्ठेरो अवस्थासंग जुध्न सकेको भएर नै जीवनलाई बुझ्ने मौका पाएको छु ।
    काठमाडौं आएपछि उनले निरमायाँ दोहोरी साँझमा काम पाईन् । यो दोहोरी साँझ गायक बद्री पंगेनी, सुवास अधिकारी र बिजय सिंहले संचालन गरेको दोहोरी साँझ हो । जागिर त भयो तर नयाँ कोठा, सामान, लगायत जोडिहाल्न सक्ने अवस्था उनको थिएन । परिवारलाई यो अवस्था सुनाउनु भनेको अर्को चिन्ता थपिदिनु हो, यहि सोचेर उनि दोहोरीमा काम गर्ने दिदीहरुसंगै बस्न थालिन् । हरेक रात फर्कदा उनि बस्ने डेरा पनि फेरिन्थ्यो, कहिले एउटा दिदी कहिले अर्कोकोमा फेरि दोहोरिन्थ्यो यहि क्रम । कोहीले त आफ्नोमा लैजान आनाकानी समेत गर्थे । ति दिन सम्झदा उनि दुखी हुन्नन् बरु जीवनको महत्वपूर्ण अनुभव जसरी उहि मुस्काना साथ सगर्व सुनाउँछिन दुखका दिन र ति सबैजना आभार ब्यक्त गरिरहेकी हुन्छिन् । उनि एउटै कपडालाई सिरक र डसना सम्झिएर निदाउँथिन कति भने कति रात अनिदै बित्दथे । उनका अनिदा रातमा पनि यहि कल्पना हुन्थ्यो कि म जुन उदेश्यले आएको छु त्यो पुरा गर्नु नै छ चाहे अझ बढि दुख किन झेल्न नपरोस् । सपना देख्न सजिलो छ यसलाई प्राप्त गर्न कठिन त्यसैले यस्ता संघर्ष सामान्य नै लाग्छ उनलाई ।

    उनले सानै उमेरमा थाहा पाईन् संघर्षमा पनि मज्जा आउँदोरहेछ यदि गन्तब्य निश्चित छ भने र त उनि हाँस्दै सुनाउँछिन् कति रात त म म्याटमा पनि सुते, घरबाट ल्याएको झोलाको सीरानी हालेर ।

    दोहोरी साँझमा टिप्स आउँथ्यो, तलव थियो सबै भन्दा ठुलो कुरा उनलाई आफ्नो प्रतिभा देखाउनु थियो उनले त्यसलाई दोहोरी साँझ सोचिनन् बिसाल स्टेज नै यहि हो भन्ने ठानेर आफुलाई प्रमाणित गर्दै गईन् ।

    पहिलो गीत रेकर्ड हुँदाको सम्झना

    निरमाया दोहोरी साँझमा काम गरेको एक बर्षपछि मात्र उनको अभिनयको औपचारिक ढोका खुल्यो । उनले पहिलो पटक मोडलिगं गरेको गीत थियो

    खरबारीमा घाँस काट्दा मायाले डोको समाई दियो
    त्यतिखेरै मेरो दिल बसेको थियो

    एक नारायण भण्डारीको शब्द तथा लय सृजना रहेको यो गीत बद्री पंगेनी र मीरा गीरीको स्वरमा रहेको गीत हो । जसमा उनि केन्द्रिीय कलाकारको भुमिकामा छन ।

    २०७१ सालमा पहिलो गीत सार्वजनिक भएपछि उनको अभिनय र नृत्यकलाको तारिफ यस क्षेत्रमा रहेकाले गर्न थाले भलै गीत अपेक्षा गरे अनुरुप चर्चामा आएन तर जतिले हेरे अन्जलीको अभिनय मन पराए । त्यपछि उनको दोस्रो गीत बजारमा आयो ।

    उनि अभिनित दोस्रो गीत थियो

    पसिना आरैछ निधारैमा तिम्रो
    पुछ्दिन मन लाग्यो नमाने है सरम

    बोलको यो गीत पनि एक नारायण भण्डारीकै शब्द तथा लय सृजनामा रहेको छ । प्रिती आले र बद्री पंगेनीको स्वर रहेको यस गीतले अन्जलीलाई एउटा सफलता र चर्चा यस कारण पनि दिलायो कि यो गीतमा उनका सहकर्मी मोडल नै अत्याधिक लोकप्रिय कलाकार शंकर बिसी भए । बिसी स्वयंको निर्देशनमा निर्माण भएको यो भिडियोमा शंकर बिसीको जोडी भएर अभिनय गरेपछि अन्जलीको चर्चा र प्रशंसाको अर्को सफलता सुरु भयो । जो कलाकार उनको क्षमता वुझाउन अविभावक जसरी उनको घर पुगेका थिए तिनै कलाकारसंग अभिनय गर्न पाउनु उनका लागि र उनको करिअरका लागि पनि महत्वपूर्ण थियो । यो गीतले धेरै हद सम्म उनलाई सपोर्ट गर्यो ।

    त्यसपछि सार्वजनिक गीतले उनका काम, नाम र पहिचानलाइ स्थापित गरिदियो । यो गीत थियो २०७२ सालको तिजमा सर्वजनिक मेरो माया बसेको ठाउँमा, बत्ती बाल्नु पर्दैन त्यो गाउँमा ।

    पशुपति शर्माको शब्द तथा लय सृजना रहेको यस गीतमा अन्जलीको सहकर्मी कलाकारका रुपमा देखिए गायक तथा मोडल प्रकाश सपुत । म्युजिक नेपालबाट सार्वजनिक यस गीतको भिडियोलाई करिव ८२ लाख दर्शकले हेरेका छन् । नेपाली तिज गीतको ईतिहासमा यो गीत पनि सर्वाधिक सफल गीत हो । जसमा पशुपती शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ ।

    स्टज प्रोगाममा नयाँ कलाकार २, ३ हजार दिँदा नि खुसीमनले स्वकारें

    यो क्षेत्रसंग करिव ६ बर्षको निरन्तरको मेहनतलाई फर्केर हेर्दा उनलाई सुरुवाती समयको स्टेज प्रोगामको सन्धर्वहरु पनि याद आउँछ । जतिबेला उनि नयाँ थिईन् उनको क्षमता हेरेर भन्दा उनको यस क्षेत्रको प्रवेशलाई मापदण्ड बनाएर पारिश्रमिक दिईन्थ्यो । अन्जलीलाई लाग्छ कलाकारको लागि कलाकारिता एउटा तपस्या हो जसलाई पूर्ण गर्न गहिरो साधना चाहिन्छ । त्यसैले पनि ति दिनहरुमा उनले आफ्नो कलाको मुल्य कति हो भन्ने भन्दा पनि म कलाकार हुँ भने मलाइ आएको कार्यक्रममा मैले दर्शकको लागि पनि प्रस्तुती दिनुपर्छ । उनलाई पैसा भन्दा आफुलाई दर्शकको नजरबाट हेर्नु थियो । त्यसैले उनले त्यो समय २ ३ हजारबाट ५ हजारमा पनि स्टेज प्रोगामहरुमा प्रस्तुती दिईन बिना गुनासो ।

    बिस्तारै उनका प्रशंसक बढ्दै गए र उनको माग पनि देशका बिभिन्न जिल्ला देखी बिदेश सम्म हुन थाल्यो । यति थोरै पारिश्रमिक पाउँदा पनि उनको चित्त दुखेन उल्टो उनि भित्रको स्वाभिमानले उनलाई भन्यो ५ सयबाट सुरु भएको यात्रा ५ हजारमा पुग्यो । यो पनि ठुलो सफलता हो यसरी उनले पैसाका लागि काम गरिनन् बरु यस्तो भै दियो कि उनको कामले आफैं उनको आर्थिक पक्षलाई पनि सहज बनाउँदै लग्यो । आफैंले जोडेका सामान सहितको फ्ल्याटमा बस्छिन यतिबेला अन्जली तर उनले राजधानीका सुरुवाती समयलाई पनि बिर्षेकी छैनन । उनि भन्छिन् त्यहि ५ सय, त्यही गाह्रो असजिलो, त्यही भोका अनिदा रातले त जीवनको मुल्य र आत्मसन्तुष्टी जान्ने मौका दियो । धन्यवाद त्यो समय र मलाई सहयोग गर्ने सबै ह्रदयलाई ।

    कलाकार बन्न अंगप्रर्दशन, नियतबस जोडिएका सम्बन्ध र छाडापन आवश्यक हुँदैन

    अंग प्रदर्शन डाईरेक्टर संग निर्माता संग नजिक, छाडा गीत जीत कुराले कहिल्यै माथी पुगिदैंन भन्ने लाग्छ उनलाई । उनि भन्छिन् मेरो पनि बुवा दाई हुनुहुन्छ, परिवार छ, समाज छ, नेपाल र देश वाहिर रहेका सबै उमेर समुहका प्रशंशक हुनुहुन्छ । सबै भन्दा ठुलो कुरा हाम्रो आफ्नै संस्कार छ, नेपाली संस्कार, त्यसैले पनि मैले खेलेका भिडियो सबैजनाले हेर्नुपर्ने हुन्छ भने म आफु मेहनतमा विश्वास गर्छु । सपना देख्ने अधिकार हर कोहीलाई छ तर बिना मेहनत कसैको दयाले, आफ्नै तन मन बन्धक राखेर या चर्चाको अति लोभले त्यो रुपमा प्रस्तुत भएर सफलता प्राप्त गर्दा अरुले त तारिफ, गाली दुवै गर्लान् त्यो ठुलो कुरा भएन तर आफु भित्रको आत्मसम्मनले नै संधै प्रश्न गर्न आफैंलाई के तैंले यो ठिक गर्दैछस् ? त्यसैले आफ्नो खुवि र मेहनतमा विश्वास गर्नुस् न की कसैले दिने आश्वासन ।

    अन्जलीका हरेक जवाफमा उनि भित्रको हिम्मत पनि बोलिरहेको हुन्छ । हामी संगको भेटमा उनि नेपाली माटो सुहाउँदो अभिनय गरेरै अघि बढ्न चाहन्छिन् । उनले सम्झिईन् बोल माया बोलको सफलतापछि गएको एक बिदेश कार्यक्रमा उनलाई अंगालेर एउटी बृद्ध आमा निकै बेर रोईन्, त्यो आँसुले उनको भावुक मनलाई पनि दुखायो, यि र यस्तै मायाहरुमा अन्जली आर्शिवाद देख्छिन् र फर्कदा अर्को अठोट जन्मन्छ म सबैको कलाकार हुँ भने मैले निश्चित बर्ग होईन सबैले हेर्न र चित्त बुझाउन सक्ने कलाकारिता प्रस्तुत गर्नैपर्छ । मेरो गीतमा साना नानीहरु नाच्न पाउन् बुढा बा आमा रमाउन् युवा बर्गले मेरो अभिनयलाई मुल्याकंन गरेर सल्लाह सुझाव दिउन् त्यो पनि मज्जा त्यो पो खुसी । चौतर्फी आलोचना खेपेर पाएको सफलताले त लाखौंको बिछ्वानमा सुतेपनि निदाउन दिंदैन त्यो भन्दा मिठो निन्दा बरु भुँईले दिन्छ, सफलता सानै किन नहोस् यदि आफ्नै क्षमताले प्राप्त गरिएको छ भने । उनि महिला कलाकारलाई पनि सम्मानपूर्वक यस क्षेत्रले ब्यवहार गर्ने गरेको बताउँछिन् । मेरै हकमा पनि म दाईहरुकै सहयोगले आएँ, कति पुरुष कलाकार काम गरें, लाखौं पुरुष फ्यानहरु हुनुहुन्छ, बा दाजु भाई पनि पुरुष नै हुन् । त्यसैले आफ्नो ब्यक्तीगत फाईदाका लागि यो क्षेत्रप्रतिको ईज्जतमा आँच आउने काम गर्ने अधिकार हामीलाई छैन । यसो भएकै कारण आज पनि ग्रामिण भेटबाट आउने र एक्लै संघर्ष गर्ने छोरीहरुलाई परिवारले सजिलै स्वृकिती दिंदैन । यो नजिर नै बदल्नु छ त्यसका लागि कलाकारिता झल्कने काम गरौं शरिर र अंग त हर कोहीसंग छ, यो झल्काएर मात्र कलाकार बनिदैंन ।

    माटो सुहाउँदो अभिनयबाटै अघि बढ्न चाहन्छु

    दर्शकको मायाले नै कलाकारको भविश्य सुरक्षित हुन्छ भने उहाँहरुको मायाको गुन मेरो एक शब्द धन्यवादले मात्र तिरिदैंन, म संधै ऋणि छु देश विदेशमा रहनु भएमा दर्शकप्रति म अभिनित गीत सुन्ने स्रोताहरुप्रति । कला क्षेत्रका अग्रज र समकालिन कलाकर्मीको साथ र सहयोगप्रति पनि संधै कृतज्ञ छु म ।

    सबैको विश्वास अनुसारकै अभिनय पस्कन पाईरहुँ, कला साधना अनन्त छ त्यसैले म आफु अब्बल मान्दिन अझै पनि सिक्दैछु सिक्नु छ । यो सिकाईमा मेरो परिवार, कलाकर्मी र दर्शकको सहयोगको जरुरत संधै रहन्छ मलाई । त्यसैले पनि लाग्छ संघर्ष अझै बाँकी छ, धेरै काम गर्न बाँकी नै छ । कलाकार त्यो दपर्ण हो जसबाट प्रतक्ष्य अप्रत्यक्षरुपमा ब्यक्ती र समाज देखिन्छ त्यसैले माटो सुहाउँदो अभिनयबाटै अघि बढ्न चाहन्छु चाहे सफलताको गति सुस्त नै किन नहोस् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">