सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ ।

महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए । ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले बताए ।

उनले सभामुखमा सहमति भएको बारे आफुलाई जानकारी दिए । ‘दुई नेताबीच के के कुरा भयो त्यो मलाई थाहा भैसकेको छैन । पछि थाहा होला’ पौडेलेको भनाई छ । नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदै आएको थियो ।

 

Comments

comments