US Khabar

हिमालसंग मनको मित

- Admin | २ वर्ष पहिले प्रकाशित

हिमालसंग मनको मित

गंगा थुलुङ (दमक- झापा)

 

काठमाडौबाट सात घण्टाको मोटर यात्रा गरेर हामी साझको चार बजे तिर रसुवाको स्याब्रुबेसी पुग्यौ । साथमा मोउ छिरिङ दावा अनि म गरेर जम्मा चार जना थियौ । गाडीको धङधङीले टाउको रन्थनी रहेको थियो । त्यसैले कतै चटपटाउने जागर थिएन । त्यस रात हामी त्यहिको एक होटलमा बाँस बसेउ । बिहान सबेरै निन्द्राले छोड्यो । मनमा एक प्रकारको उत्साह अनि चुनौती दुबै थिए मेरा लागि । मन उत्साही यो मानेमा थियो कि, त्यो मेरो लागि पहिलो हिमाली पथ यात्रा थियो । अनि चुनैती यो मानेमा थियो कि, झापाको झर्का गाँउबाट हिउँदको महिनामा देखिएको त्यो दुरदराजको कुम्मकर्ण हिमाललाई आँखामा अटाएर एक टकले हेर्नू बाहेक हिमालहरुसंगको सामीप्यताको अर्को अनुभब म संग छदै थिएन । म बिल्कुल तराईमा जन्मी हुर्किएको तराईबसी केटी । एक्कासि म कसरी हिमाली यात्रा गरुला ? के म सक्छु ? मनमा यस्तै यस्तै चुनौतीका तर्क बितर्क चल्दै थियो । त्यतिकैमा दावा आएर छिरिङ र मलाई छिटो गर्नु भरै ठाउँमा पुग्न सकिँदैन ।

बास बस्नु समस्या हुन्छ भन्दै दावा आफ्नो ब्याग अनि सामनहरु बोकेर तल झर्यो । हामी पनि सबै सामान बोकेर हतार हतार तल झरिम । दावा र मोउ आफ्नो सामान प्याकिङ गर्दै रहेछन । म पनि त्यही लहरमा उभिएर आफ्नो सामानहरु प्याकिङ गर्न थाले । त्यतिकैमा दावा जि ले शंकास्पद पारामा मलाई भन्नुभयो । सामान राम्रोसंग प्याकिङ गर्नुहोस है गंगा जि । बाटोमा गाह्रो होला । अब त खुट्टाले हिडेर लाङटाङ पुग्ने हो । नो गाडी नो ढाकर ओके । अरुको लागि होइन तपाईको लागि यो यात्र धेरै चुनौतीपूर्ण छ । ठट्टा पारामा मलाई ब्याङ्ग्य गर्दै फेरि दावा जि भन्नुहुन्छ । तराईमा हुर्किएको राईनीले बिच बाटोमा धोका दिन्छ होला । हेर्नुहोस गंगा जि ! यदि बाटोमा धोका दिनु भयो भनेत भोटेको छोरा हुँ । लजाउने सजाउने कुरा आउदैन जुरुक्क बोकेर हिडिन्छ पो नि । रिसाउन पाइदैन अहिल्यै भन्द्या छु । ट्रेकिङ गरेकै बीस वर्ष भयो । यस्तो यात्रामा कति खैरे बोकियो कति खैरेनी । जाबो राईनी बोक्नु कुन नौलो कुरा भयो र…यति भन्दै दावा म तिर फर्किएर हाँस्नुहुन्छ । म दावालाई बिश्वास दिलाउदै भन्छु । सुन्नुहोस दावा जि ! शरिरले के गर्छ कुन्नी त्यो मलाई थाहा छैन । तर यो राईको छोरीको आत्मविश्वासले भन्छ यात्रा भरी तपाई लगायत अन्य साथीहरुलाई कुनै किसिमको दु:ख दिने छुइन । म चाहन्न मेरै कारणले गर्दा अरु साथीहरुको यात्रा अधुरो होस । सके सम्म यात्रामा आउने चुनौतीहरुसंग लड्ने छु । यो मेरो वचन भयो । यति भनेर मैले आफ्नो ब्याग पिढ्युमा बोकेर उभिए । अरु त त्यस्तै हो लेक लाग्यो भने धेरै गह्रो हुन्छ गंगा जि । तर चिन्ता नगर्नुहोस यो दावाले सबै सामान बोकेर हिडेको छ । माथी हाइटमा पुगे पछि यदि कसैलाई लेक लाग्यो भने म संग अक्सिजन तयारी अबस्थामा छ । यति भन्दै दावाले पनि आफ्नो बडेमानको ब्याग आफ्नो पिठ्युमा बोकेर लु हिड्नुहोस भन्दै बाटो लागे । त्यस पछि हामीले दावाको पद चापलाई पछ्याउदै अघि बढ्यौ ।

म स्वभाबैले प्रकृतिसंग भुल्ने मान्छे । प्रकृतिसंग रमाउने मान्छे । बाटोमा देखिएका मनमोहन प्रकृतिका दृश्यहरु….आकाश सरी अग्लिएका पहाडहरु । हरिया जंगलहरुलाई आफ्नो छात्तिमा फिजाएर सेता बादलहरुलाई आफ्नो शिर माथी सझाएर पहाडले हामीलाई हेर्दै मुस्कुराई रहेको थियो । भीर पहरामा उभिएका रुखका जराहरुबाट मुल फुटाएर रसाएका ति झरना खोलाहरु । जो वर्षौ देखि धर्तीको रुखो गर्भलाई सिन्चाइ रहे छन । दावाले उभिदै मलाई भन्नु भयो गंगा जि ! उ पर पहरामा हेर्नू त । नाङ्ग्लो जस्तो लस्करै केही कुरा देख्नु हुदैछ ? मले भने साच्चै त्यो के हो दावा जि ? दावा भन्नू हुन्छ । त्यो भीर मौरी हो । आम्मामामामा….कति धेरै भीर मौरी । पहरामा भीर मौरीको लस्करै घारहरु देखेर म उत्साहित भए । किन कि मैले भीर मौरी सुनेको मात्रै थिए । यो भन्दा पहिला कहिल्यै देखेको थिइन । जंगलमा घाँस काट्न आएका घाँसेहरु रुखका डाला तिर बादर सरी उभिएर सुसेलीमा गीतको भाका खिपेर डाले घाँस काट्दै थिए । सुसेलीको भाकाले बनै संगीतमय बनेको थियो ।

म हिडदै गरेको गोरेटोमा एउटा रुखको हाँगा हुर्‍रिएर झर्यो । यसो हेरेको एक जना दाजुले काफलको डाले घाँस काट्दै हुनुहुदो रहेछ । हाँगा भरी काफल देखेर म खुशी भए । हाँगाबाट केही काफल टिपेर गोजिमा राखे । केही मसिनो हाँगाहरु हातमा सेउला बनाएर हाँगाको रसिलो काफल खादै पर पुगी सकेका साथीहरुलाई छिटो छिटो पछ्याउन थाले ।

घरी झोलङ्गे पुल, घरी फड्के, घरी साँघुरो घुम्ती, घरी गोरेटो, घरी साँघु तर्दै हामी पहिरो भन्ने ठाउँ तिर लम्किदै थियौ । उकालो बाटो त्यहि माथी ब्यागको भारीले गर्दा सास बढेर म फ्या फ्या भए । हिडाइको रफ्तार बिस्तारै घट्दै गयो । ओठ, मुख तालु सबै सुक्न थाल्यो । थकाइ अनि भोक दुबैले बेस्सरी गाज्दै लग्यो । मोउ दावा छिरिङ आफ्नै तालमा सुस्तरी हिड्दै थिए । जति हिन्दा पनि पहिरो भन्ने ठाउँ आइपुग्नै लागेन । उभिएर लामो सुस्केरा लगाए….एक जना भाइ आलुको बोरा बोकेर आउदै रहेछ । उ पनि त्यही पहिरो भन्ने ठाउँ सम्म पुग्ने होला भनठानेर मैले सोधे । भाई पहिरो पुग्न अब कति समय लाग्छ ? धेर लाग्दैन आधी घण्टामा मज्जाले पुग्नु हुन्छ भन्दै उ फटाफट उकालो लाग्यो । पहिरो भन्ने ठाउँमा पुगे पछि मात्र हामीले खाना खानु पाउथ्यौ । स्याब्रुबेसीमा खाएको खाजाले अगि छोडी सकेको थियो । त्यो आधा घण्टाको समय आधा जुनि जस्तै लाग्यो । निकै बेर हिडे पछि तल खोलाको गतिरमा केही रंगी विरंगी लुङ्दारहरु हावाले हल्लाएको देखे । जब लुङ्दारहरु हल्लिएको देखे तब अनुहारमा केही आरामको रंग छल्कियो । दिउँसोको एक बजि सकेको थियो । पहिरो पुग्न साथ खानाको अडर दिएर म ढुङ्गाको बिसौनी माथी मुढा पल्टिए जस्तै गरि पल्टिए । केही समय पश्चात साउनीले खाना खान उठाउदा जिउ पुरै कक्र्याक कुक्क्रुक भैसके रहेछ । प्यारालाइसी बिरामी जस्तै……

हाम्रो त्यस दिनको साझको बाँस अनि खाना लामा होटलमा हुने निश्चित भयो । साझमा दर्के पानी बेजोडले दर्कियो । झरीले ह्वात्तै जाडो बोलाएर ल्यायो । चुलोमा दाउरा ठेस्दै होटलको साउनिले भनिन माथी क्याङ्जिनमा हिउँ पर्यो होला । हामी सबै जाडो छेक्न अगेनाको छेउमा बसेर आगो ताप्दै बेलुकाको खानाको पर्खाइमा थियौ । सोलुखुम्बुको पासङ दाइले जंगलबाट टिपेर ल्याउनु भएको सिस्नो अगेनामा टिम्मुरको रागसंग भकभक उम्लिदै थियो । त्यहाँ बाँस बस्न पुगेका स्वदेशी तथा विदेशी सबै पाहुनाहरुलाई पासङ दाइले पकाउनु भएको स्वादिलो सिस्नो थपी थपी खान पुग्यो । भोलि बिहान हामी सबेरै लामा होटलबाट आफ्नो गन्तव्य तिर लागिम । यात्रामा अर्को मनमोहन दृश्य थपियो । विभिन्न रंगमा फूलेका गुँरास फूलहरुको दृश्य । जसका कारण बनै घमाइलो यात्रै रमाइलो हुन थाल्यो । जता हेर्यो गुँरासै गुँरास । जंगलभरी रातो सेतो बैजनी प्याजी रंगमा फूलेका गुँरासको फूलहरु देख्दा मन आनन्दित भएर आयो । यस्तो लाग्यो गुँरास फूलहरुको राजधानी हो यो । जहाँ रुखै पिच्छे विभिन्न रंगमा फूलेर गुँरासका फूलहरु एक आपसमा बहेली खेल्दै रमाइ रहेका थिए । एक पटक प्रकृतिलाई एउटै स्थानमा उभिएर आँखाले भ्याए सम्म हेरिरहन मन लाग्यो । शिरमा हिमाल बोकेर छातिमा पहाड उचालेर पाउमा हरियाँ फाट फिजाएर उभिएको सिङ्गो प्रकृतिको बहुरंगी रुपलाई नियाली रहन मन लाग्यो । प्रकृतिको यहि अदभूत बहुरंगी रुपलाई हेर्न भनी विभिन्न देश विभिन्न ठाँउबाट लालयित भएर बाटोमा आउदै जादै गरेका भिन्नभिन्न यात्रीहरुको गुनगुनाहट । यता उता उफ्रीदै अचानक बाटो काट्ने मायालु जंगली जनवारहरुको चुलबुल । पानी घट्टाको सहयताबाट निरन्तर घुमी रहने मानेको चुइ चुइ आवाज । लाङटाङ खोला पारी पहराबाट झरिरहेको झरना । झरनाको पानी माथी झुल्किएको सप्तरंगी इन्द्रेणी । म त्यो अदभूत दृश्य देखेर त्यसै त्यसै नतमस्तक हुन्छु । क्यामेराको लेन्सको माध्यमबाट सके जति जाने जति त्यो अदभूत दृश्यलाई आफ्नो मोबाइलमा क्याप्चर गर्छु । मैले बर्खामासको झरिमा आकाश माथी इन्द्रेणीलाई धनुष आकारमा झुल्किएको मात्रै देखेको थिए । तर धर्तीमा झर्दै गरेको झरनाको पानीमा इन्द्रेणी झुल्किएको कहिल्यै देखेको थिइन । मनले हतार गर्दै खोलाको सङ्ग्लो पानी तरेर अचानक मन खोला पारी पुग्यो । अनि पहराबाट झरेको झरनामा झुल्किएको इन्द्रेणीको छेउमा उभिएर मनले प्रकृतिलाई भन्यो । के तिमीले यो अदभूत रुप मेरै लागी धारण गरेकी हौ ??

घोडा तबेला हुँदै हामी माथी माथीको सैलुङ तिर पुग्यौ । तीन दीनको लगातार हिडाइले शरिरमा एक किसिमको थकान महसुस भैरहेकै थियो । तर यात्रा झन झन रोमाञ्चक हुँदै गहिरहेको थियो । हिड्दा हिड्दा हामी सबै थाकेका थियौ । त्यतिकैमा दावाले एक्छिन बिसाउ भन्ने अनुमानि दिए पछि हामी सबै आ – आफ्नो ब्याग सिरानी बनाएर गोरोटेको एक कुनामा आरामले ढल्कियौ । शरीर बाफिएर पसिना बनेर बगिरहेको थियो । जंगलबाट आएको चिसो बतासले शरिरको रापिलो बाफलाई बिस्तारै चिस्याउदै लादैथियो । हामी सबै चुपचाप आफ्नै पारामा ढल्किएर आराम गरि रहेका थियौ । जंगलको बिच कुनाबाट आइरहेको घण्टीहरुको टिङ्टिङ टिङ्टिङ मधुर आवाजले मेरो चेतनालाई जागृत गरायो । सोचे यो अनकन्टार जंगलमा यो घन्टीको आवाज कहाँ बाट आएको होला ? घण्टीहरुको टिङ्टिङ टिङ्टिङ मधुर आवाजहरुले पुरै घना जंगल संगीतमय बनी रहेको थियो । त्यो घण्टीहरुको मधुर आवाजहरुले मेरो मनलाई एक प्रकारको सांगीतिक आनन्दको महसुस गराइरहेको थियो । घण्टीका मधुर आवजहरु बिस्तारै बिस्तारै हाम्रो नजिक नजिक हुँदै आइरहेको थियो । यसो आँखा खोलेर माथी जंगल तिर हेरे । भारी बोकाउनको लागि बेसी झार्दै गरेका खच्चडहरुको लामबद्ध हुलहरु पो रहेछ । बिच बिचमा खच्चड खेदाउने गोठालेहरुको चर्को आवाज पनि सुनिन थाल्यो । तिनै खच्चडहरुको घाटीमा झुण्याइएका घन्टीहरुको आवाजले घना जंगल संगीतमय बनाएको रहेछ । खच्चडहरुको हुल हाम्रै छेउको गोरेटो बाटो हुँदै तल बेसी झर्दै गए । त्यतिकैमा केही खच्चडहरुको आँखामा मेरो आँखा पुग्यो । आँखाले आँखालाई पढ्यो । अनि मनले भन्यो यात्रा भनेको त कोहि दु:खलाई बोकेर ओराली झर्ने रहेछन । कोहि दु:खलाई बोकेर उकाली चढ्ने रहेछन । दु:ख अनि सुखहरुको उकाली ओराली नै यात्रा रहेछ ।

चार दिनको निरन्तर हिडाइ पछि एक जना दिदीको साथमा हामी दिउँसोको एक बजे तिर क्याङ्जिन पुग्यौ । तिनै दिदीको घरमा बास बस्ने हामीले निधो रर्यौ । चारै तिर हिमालै हिमालको सेताम्मे पर्खालहरु । हिमालहरुको बिचमा एउटा सुन्दर क्याङ्जिन बस्ती । हिमालको चिसो हिउँलाई आफ्नो पाउले स्पर्श गर्न पाउँदा मन प्रफुल्ल भएर आयो । यो इच्छा हिउँदमा मेरो गाउँबाट देखिने कुम्भकर्ण हिमाल देखे देखिको थियो । थकाइ सकाई कता भाग्यो भाग्यो । हिमालबाट बहि रहेको चिसो हावालाई फोक्सोको आयतनलाई भरपुर फैलाएर मन तृप्त नभइन्जेल श्वास लिरहे । मेरो मन बच्चा जस्तै चनचल भयो । घरी यता घरी उता गर्दै प्रत्येक हिमालका थुम्क्का थुम्क्कामा पुगेर उफ्रीन थाल्यो । दिउँसोको एक बजि सकेको हुनाले घरबेटी दिदीलाई हामी चार जनाको खाना तयार गर्नु हत्तारो थियो । घरबेटी दिदी आत्तिएर कामको मेसो नपाएको मैले महसुस गरिरहेको थिए । मैले घरबेटी दिदीलाई भने तपाईको राखनधारन मलाई थाहा छैन । अहिलेलाई के के पकाउने हो त्यो सामान मलाई देखाइदिनु । खाना पकाउनु म तपाइलाई सघाउछु । मैले यति भने पछि घरबेटी दिदी मुसुक्क हाँस्दै भन्नू भयो । सघाउछस र ? भयो तँ थाकेको छ्स बस । मै पकाउछु भन्नू भयो । अनि मैले भने म गलेको छुइन दिदी । गलेको भए किन भन्थेर । लु के के पकाउने हो ल्याउनुस म पकाउन सुरु गर्छु । यति भने पछि दिदी खुसी हुनुभयो र हामीले मिलेर खाना पकायौ र खायौ । दिउँसोको खाना खाइसके पछि हामी माथी तिर एक्छिन घुम्न निस्कने भयौ ।

छिरिङ दावा मोउ सबै उत्साहित थिए । साथमा आ आफ्नो मोबाइल बोकेर हामी दावाको पछि पछि लागिम । अलिक माथी पुगे पछि मोउ माथी जान सकिनन । मोउलाई लेक लागे पछि मोउको साथमा दावा तलै छोडिए । त्यस पछि उनिहरु तेर्सो लागे । म र छिरिङ सिधै माथी ग्लेसियर तिर लागेउ । हिउँ पग्लिएर बग्दा बग्दै फेरी चिसिएर हिउँ भएर जमेको त्यो ग्लेसियरमा पुग्ने हाम्रो अठोट भयो । छिरिङ अघि अघि म पछि पछि । उचाई बढ्दै गयो हाम्रो सास पनि बढ्न थाल्यो । बाटोमा एउटा मज्जाको याक हिउँको छेउमा चरिरहेको देखे । त्यो दृश्य मलाई अति मन पर्यो । म त्यो याकको फोटो लिन याकको नजिक पुगे । तर त्यो याकले मलाई यस्तो गरि खेदायो कि म भाग्न खोज्दा ढुङ्गामा ठोक्किएर झन्डै लडे । याकले मलाई खेदाएको देखेर छिरिङले ढुङ्गाले हानेर याकलाई छेक्यो । म बेस्सरी डराए । मेरो हालत देखेर छिरिङ् मर्ने गरि हास्यो र अन्त्यमा म पनि हाँसे । त्यस पछि हामी उकालै उकालो लागिम । नजिकै देखिएको हिमाल जति हिड्यो उति पर सर्दै गहिरहेको थियो । स्या स्या गर्दै सास बढी रहेको आवजमा छिरिङ्ले भन्यो । हेर त्यो हिमाल त्यहि देखिए पनि धेरै टाढो छ । त्यहाँ पुगेर हामीलाई भरै फर्किन धेरै समय लाग्छ । अब हामी सर्टकटको बाटो जानु पर्छ । नत्र भ्याइदैन । छिरिङ्ले त्यसो भने पछि मैले हुन्छ भनेर सहमती जनाए । चुनौती भए पनि म सर्टकटको बाटो जान तयार थिए तर यहाँ सम्म आइपुगेर ग्लेसिएर अनि हिमालको छेउमा नपुगी बिच बाटोबाटै फर्किने मनस्थितिमा थिइन । त्यस पछि हाम्रो यात्रा सर्टकटको बाटो हुदै आँखै सामुन्ने देखिने ग्लेसियर अनि हिमाल तिर हानियो । सर्टकटको बाटो हिन्दा हिन्दै हामी बाटो बिराएर डरलाग्दो भीर माझ रुमल्लियौ । छिरिङको जुत्ता ट्रेकिङ गर्दा लगाउने खालको जुत्ता थियो । जहाँ टेक्यो त्यही अडिने । जसले गर्दा छिरिङ्लाई भीरमा टेकेर हिन्न धेरै सजिलो भएको थियो । तर मैले लगाएको जुत्ता सामान्य खालको थियो । जहाँ टेक्यो त्यही चिप्लिने । भीर चढ्दा चढ्दै मनले हरेस खायो । माथी हेर्यो ग्लेसियर तल हेर्यो कहाँ हो कहाँ लाङटाङ खोला । भीरको बिचमा हामी झुन्डिरहेको थियौ । माटो र ढुङ्गालाई हातको नङ्ग्राले कोपरेर म भीरमा अडिएको थिए । बिस्तारै मलाई लेक लाग्न थाल्यो । रिंगटा लागे जस्तो हुन थाल्यो । बान्ता आउला जस्तो भयो । मेरो आँखा र घुच्चुकमाट केही कुराले बेस्सरी रगत चुसी रहेको जस्तो गरेर बेस्सरी दुख्न थाल्यो । मैले छिरिङ्लाई बोलाए । बेजोडले हावा चलेको हुनाले मैले बोलेको आवाज छिरिङ्ले सुन्न सक्दैन थियो । उता छिरिङलाई पनि लेक लाग्न थालेछ । सास लिन गाह्रो भए पछि उ एकै ठाउँ बसि रहयो । म सारा पिडालाई सहेर ईश्वर जप्दै छिरिङ भएको ठाउँमा मरेर बल्ल बल्ल पुगे । हिमालबाट बटारिएर आएको हावाको बेगले हामी दुईलाई उडाउला झै गर्दै थियो । मलाई अति साह्रो भए पछि छिरिङलाई भने, छिरिङ मलाई लेक लाग्यो । हावाले मलाई यतै झार्छ होला । अब म उकालो जान सक्दिन । रिंगटा लागेर बान्ता हुन लाग्यो । आँखाबाट रगत झर्ला जस्तै भयो । घुच्चुक फुट्ला जस्तै गरि दुख्दै छ । मैले यति नभन्दै छिरिङ्ले कराउदै भन्यो अब हामी तल झर्न सक्दैनौ । तल खोला हेर, अनि भीर हेर । अब तल झनु सम्भव छैन । कसरी हुन्छ हामी माथी पुगेर पुरानै बाटो भेट्ने कोसिस गर्नु पर्छ । सास लिन गाह्रो भए पनि छिरिङ्लाई पछ्याउँदै भीर उक्लिन थाले । हावाले उडाएर लैजाला जस्तै गरि मलाई धकेल्दै थियो । म भित्तामा टाँसिएर हातको नङ्ग्राले माटो कोपरेर बसेको थिए । हातको औलाहरु अचानक सुन्निएर आउन थाल्यो । झार कोपर्नै नमिल्ने भयो । छिरिङ्को हातको औलाहरु फुटेर रगत बग्न थाल्यो । तै पनि हामीले हिम्मत हारेनौ । बल्ल बल्ल हामी माथी ग्लेसियर भएको ठाउँमा पुगेउ । ठुल्ठुला चट्टानहरु ढुङ्गाहरु भएको ठाँउमा हामी पुगेउ । जहाँ गुफा जस्तो ठाउँहरु थियो । गुफाको छेउछाउ हिमाली जनवारहरुले हगेको गूँहरु देखे । गूँ देखे पछि मन डरायो । तर त्यो गूँहरु भर्खरको आलो नभएर सुकिसकेको हुनाले केही दिन अघि यता तिर हिमाली जनवारहरु आएको अनुमान लगाए । तै पनि छिरिङ्लाई सतर्क भएर हिडन आग्रह गरे । अलिक माथी उक्लिए पछि केही समथल ठाउँ आयो । हिमाल ती नजिकै थियो । हामी एक्छिन बिसायौ । सास लिन अलिक सजिलो भए पछि र रिंगटा अलिक कम भए पछि हामी हिमाल भए तिर अघि बढ्यौ । त्यस पछि अगिको हाम्रो चुनौतीपुर्ण यात्रालाई सम्झिदै यहाँ सम्म आउन सफल भएकोमा हामीले ईश्वरलाई सम्झिदै धन्यवाद दियौ । त्यो ठाउँमा हामी दुई बाहेक अरु कोहि मान्छेहरु थिएनन । यदि हामीलाई केही भएको भए सायद हाम्रो कुनै निशानी भेटिने थिएन । हामी पुगेको ठाँउको नाम गाङ्जला रेन्ज हेलोम्बु हो । त्यसको उचाई ४ हजार ६ सय कि.मि रहेछ । त्यहाँ सम्म पुग्ने यात्रीहरुले ढुङ्गाको देउता बनाएका रहेछन । त्यही ढुङ्गाको देउतालाई हामीले पनि बुकी फूल टिपेर हिमालयको पुजा गरिम । त्यस पछि हामी खुशीले रमाइम नाचिम उफ्रीम । आफ्नै सामुन्ने उभिएको लाङटाङ लेरुङ, लाङटाङ खिम्जु, लाङटाङ युब्रा र लेरुङ योमु हिमालहरुलाई मन अघाइन्जेल हेरिम र हिमाल थर्किने गरि दुबै जना खुशीले चिच्याइम । हावाको बेग फेरि बिस्तारै बढ्न थाल्यो । तल क्याङ्जिन तिर फेरि कालो निलो हुँदै आयो । त्यस पछि हामी छिटो छिटो गरेर पुरानो गोरेटो समाएर क्याङ्जिन तिर फर्किन थाल्यौ । जति अघि बढछौ उति उति हावाको बेग बढ्न थाल्यो । अचानक हिमाललाई कालो कुहिरोले ढाक्दै आउन थाल्यो । हामी होशियारपूर्वक पाइला टेक्दै तल झर्दै थियौ । त्यो कुहिरोले हामीलाई पनि ढाक्न आटि सकेको थियो । छिरिङ्ले फेरि आत्तिदै भन्यो । यो गोरेटो बाटो लामो छ । हामी तल झर्न भ्याउदैनौ । हामीलाई हुरी र कुहिरोले यतै छोप्छ । जे पर्छ पर्छ । फेरि सर्टकटको बाटो जाउ । मैले आत्तिएर ल बाहेक अरु केही भन्न सकिन । त्यस पछि छिरिङलाई पछ्याउन थाले । फेरि हामी अगिको जस्तै गरि भीर भित्र अलमलियौ । जता पाइला टेक्दा पनि पाइला चिप्लिन्छ मात्रै । टेकेको ठाउँबाट ढुङ्गा र माटो पहिरो गए सरि झर्दै थियो । माथीबाट हावाको बेगले गर्दा मसिनो ढुङ्गाहरु झर्न थाल्यो । हावा झन बेग मारेर मच्चिन थाल्यो । म ढुङ्गा समाएर भित्तामा टासिएर बसेको थिए । हावाले उडाउला जस्तै गरेर तल झर्नै दिएको थिएन । छिरिङ पर चारपाउ जोडेर भीरमा टासिएर बसेको छ । उ पनि त्यहाँबाट अघि बढ्न सकेको छैन । मैले फेरि ईश्वरलाई सम्झिए र मन मनै भने मेरो मरन यहि ठाउँमा हुन लेख्या छ कि क्याहो । किन मलाई यस्तै चुनौतीपुर्ण ठाउँहरु मन पर्छ ? त्यस पछि छिरिङ चिच्यायो । उताको हावाले छिरिङ्को चर्को आवाज मेरो कानमा ल्याएर बजार्यो । छिरिङ भन्दै थियो । अब झन हावा हुरी चल्छ जस्तो छ । मलाई हेरेर निसाना काट्नु र बिस्तारै तल झर्ने कोशिस गर्नु । मैले ल भनेर बोले पनि हावाले गर्दा छिरिङ्ले मेरो आवाज सुन्ने सक्ने थिएन । म होशियारपूर्वक कदमलाई अघि बढाउदै हावाको बेगसंग लड्न थाले । कहाँ टेकुम कहाँ नटेकुम । जता टेके पनि पहिरो जान्छ । म छिरिङ तिर जाँदै छु जस्तो लागेको थियो । तर म छिरिङ भन्दा धेरै माथी पुगिसकेको रहेछु । छिरिङ फेरि चिच्यायो । माथी होइन…..म तिर आउ । तिमी म भन्दा धेरै माथी गैसकेउ । तर मलाई त्यस्तो लाग्दैन थियो । फेरि म गलत बाटो तिर जाँदै थिएछु । त्यतिकैमा हिउँ पर्न थाल्यो । म त्यही उभिरहे । हावाको बेगले माथीबाट ढुङ्गा झर्ला कि भनेर मन डराइ रहयो । हिउँ रोकिने छाटकाट नदेखे पछि साहास जुटाएर म अघि बढन थाले । केही समय त्यही भीरमा रोकिएको भए हिउँले सबै ठाउँ ढाकेर यात्रा झन जोखिम बन्थ्यो । म चिप्लिदै घिस्रीदै भए पनि तल झर्ने कोसिस गरिरहे ।

केही समयको संघर्ष पश्चात तलबाट मौसम उग्रीदै आयो । बिस्तारै फेरि सबै तिर उज्यालो हुँदै आयो । हिउँ पर्न रोकियो । त्यति खेर सम्ममा हामी पुरानो गोरेटेमा पुगिसकेको थियौ । मनले भन्यो अब यहि झमकै रातै परे पनि हामी जसोतसो बाँस स्थान सकुशल पुग्ने छौ । हामी दुबैले फेरि ईश्वरलाई सम्झिदै धन्यवाद दियौ । केही पर पुगे पछि छिरिङ्ले बौद्धमा लगेर धुप चढाउछु भन्दै धुप टिप्न थाल्यो । लेकमा पाइने भैरुमपाती सुनपातीको बारेमा बुवा आमाले भनेको मात्र सुनेको थिए । तर त्यो धुप देख्ने मौका पाएको थिइन । छिरिङ्ले टिपेको धुप त्यही भैरुमपाती सुनपातीको रहेछ । धुपको बुट्यानबाट मगमग बासना आइरहेको थियो । घरमा कुलको पुजा गर्दा बुवालाई काम लाग्छ भन्ने सम्झिएर म पनि धुप टिप्न थाले । किन कि किराँत राईहरुको मुन्धुम गर्दा तीन चुलामा यस्तै धुप बाल्ने गरिन्छ । यो धुपलाई किराँत राईहरुले पवित्र धुपको रुपमा मान्ने गर्छन ।

हामी लामो समय सम्म हराएको हुनाले दावा र मोउ चिन्तामा थिएछन । यदि हामी केही समय भित्र नपुगेको भए दावा र होटलको साउजी हामीलाई खोज्नको लागि हिन्न लाग्नु भएको रहेछ । हामीलाई देख्न साथ दावा हतासिएर बोल्नु भयो । हामीले सबै कुरा सुनायौ । होटलको साउजी छक्क पर्नु भयो । धन्न आज तपाइहरुलाई केही भएन छ । यहाँ हावासंगै ठूलो पानी पर्यो । तपाईहरु कता हराउनु भयो भनेर दावा कम्ता चिन्तामा थिएन । यो हिमाली ठाउँ हो । यहाँको मौसमको कुनै भर हुदैन । हावा हुरीमा परेर कति टुरिष्टहरु हराएको छन । यहाँको हावा बेसी तिरको जस्तो हुदैन । हिमाल हिमाल ठोक्किदै आएको हावाले मान्छेलाई बटारेर कता लगेर पछार्छ थाहै हुदैन । होटलको साउजीको कुरा सुने पछि मुटु फुलेर आयो । सास लिन गाह्रो हुदाहुदै पनि हावाको बेगसंग पैठेजोरी खेल्दै चारपाउ टेकेर भीरको भित्ता तिर घरि उकालो घरि ओरालो गरेको सम्झना आयो । मन मनै भने धन्न भगवान आज बाचिएछ । त्यतिकैमा फेरि बाहिर हिउँ पर्न थाल्यो । झन बेस्कन जाडो बढेर आयो । त्यस पछि हामी साझको खाना खाएर बेलैमा सुतिम ।

बिहानपख बाहिर उठेर हेर्दा क्याङ्जिनले हिउँको घुम्टो ओढेर गुम्म परेर बसेको रहेछ । जताततै सेताम्मे हिउँ नै हिउँ । केही उज्यालो फैलिदै आए पछि बिहानको कलिलो घामको किरण हिमालको शिर तिर पोखिन थाले । घामको किरणसंगै हिमाल मुस्कुराउन थाले पछि क्याङ्जिनले हिउँको पछेउरी बिस्तारै उघार्दै गयो । हाम्रो बिहानको ब्रेकफास्ट तयार भैसकेको थियो । ब्रेकफास्ट लिसके पछि हामी काठमाडौ फर्किने तरखरमा आफ्नो ब्यागहरु प्याकिङ गर्न तिर लागेउ । त्यस पछि हामी त्यहाँको सुन्दर हिमाली बस्ति क्याङ्जिन अनि सम्पुर्ण हिमालहरुलाई छोडेर पुन: आउने बाचा गर्दै बिस्तारै ओरालो झरिम । बाटोमा हिड्दै गर्दा दावा जि ले भन्नू भयो । गंगा जि साच्चै तपाईसंग मलाई धेरै डर लागेको थियो । ट्रेकिङ कहिल्यै गएको छुइन भन्नू हुन्थ्यो । बिच बाटोमा पुगेर कहाँ अभरमा पार्नुहुन्छ होला भन्ने डर लागेको थियो । तर तपाइले जीवनमा पहिलो पटक नै एड्भेन्चर ट्रेकिङ्ग गर्न सफल हुनु भयो । तपाईं यो जुनिमा तराईमा जन्मिए हुर्किए पनि पहिलो जुनिमा पक्कै हिमालमा जन्मिनु भएको थियो । त्यसैले आज यहाँ सम्म आइपुग्न सफल हुनु भयो । छिरिङ्ले दावाको कुरामा सहि थप्दै भन्यो साच्चै गंगा हिजो हामीले आम्मा कसम एड्भेन्चर ट्रेकिङ गरेकै हो । यति भन्दै हिमाल तिर फर्किएर छिरिङ्ले हिमाललाई एक पटक ढोग्यो अनि आफ्नो भाषामा हिमाललाई धन्यवाद दियो । त्यस पछि मैले दावालाई भने । म पहिलो जुनिमा कहाँ जन्मिए के थिए त्यो त मलाई थाहा छैन । तर दावा जि तपाईलाई दिएको वचनलाई मैले ईमानदारपुर्वक पूरा गर्न सकेकोमा धेरै खुशी छु । यात्रामा तपाइहरुलाई कुनै किसिमको दुख कस्ट दिनु परेन ।

परिस्थिति जस्तो सुकै होस तर मान्छेको मनस्थिति सधै दृढता हुनु पर्छ । यात्रा हो । यात्रामा निस्किए पछि सोच्दै नसोचेको समस्या आउन सक्छन । चुनौतीसंग तितरबितर भएर भाग्ने होइन । चुनौतीसंग लड्न सक्नु पर्छ । तब मात्र आफुले चाहेको लक्ष्यमा पुग्न सफल भइन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!