आमा हुन् जननी भरेर ममता वात्सल्य देखाउने
जस्तै दु:ख परोस् तथापि घरमा हाँसो खुसी ल्याउने ।
लाखौं होस् धन औ जुहार घरमा लाग्नेछ खल्लो तर
माया हुन्न जहाँ रहन्न घर नै आमाविनाको घर ।।१।
राधा हुन् तुलसी उमा भगवती देवी उनै पार्वती
सावित्री सधवा उनै पतिव्रता सौभाग्य नारी सती ।
आमाको महिमा सकिन्न कहिल्यै गाएर रित्तिन्छ र
जस्तै निर्जन वास बन्छ पिजडा आमाविनाको घर ।।२।
बस्छिन् भोक र प्यास किन्तु नभनी संतान प्यारो सधैं
हुन्छिन् टन्न सदा पिएर ममता देखिन्न भोको कवै ।
आमा आदरणीय पुज्य जननी देवी उनै मन्दिर ।
जस्तै प्रेम गरूंँ हुँदैन गतिलो आमाविनाको घर ।।३।
आमा गीत बनी सदैव मनमा संगीत गुन्जाउने
आमा जीत बनी निमेष भरमा हाँसो खुसी ल्याउने ।
चौतारी वरको सँगै पिपल होस् मान्नेछ ठूलो भर
आफैमा किन हो मसानसरि यो आमाविनाको घर ।।४।
हे आमा अब ता भरेर ममता त्यै साथमा बस्न द्यौ
झर्छन् आँसु खुसी हुँदा नयनमा पुछ्नेछु यो खस्न द्यौ ।
भाग्छौ दूर कतै भनेर जननी लाग्दैछ साँच्चै डर
थोत्रो बाकस लाग्छ बन्द पिँजडा आमाविनाको घर ।।५।
प्रतिक्रिया