US Khabar

आमा, आज यो विशेष दिनमा मात्र होइन हरेक पल हजुरलाई सम्झिरहेको छु- सबिना मल्ल

- Admin | २ वर्ष पहिले प्रकाशित

आमा, आज यो विशेष दिनमा मात्र होइन हरेक  पल हजुरलाई सम्झिरहेको छु- सबिना मल्ल

कहिलेकाहीँ त लाग्छ म कति अभागी सधैंभरि आमाको मुख हेर्ने भाग्यमा लेखिएनछ यो धर्तीमा छोरी बनेर पाइला टेक्ने बित्तिकै। जताततै हल्ला चलेछ फेरि अर्कैको घर जाने जातको आगमन भयो भनेर। हो म अर्कैको घर जाने जात न परेँ। बुवाआमासँगै बस्ने चाहनाको बाधक बनेको छ हाम्रो संस्कृति अनि संस्कार। जब म आमाको काखमा लुट्पुटिदै थिएँ न त थाहा थियो मेरी आमालाई मातातीर्थ औंसी न त थाहा थियो मलाई नै। सायद सरल अनि सोझी मेरी आमा अझै नि अनविज्ञ नै हुनुहुन्छ यो दिनको महत्त्वको बारेमा। उहाँले न त विशेष दिन भनेर आमाको मुख हेर्न जीवनमा माइत कहिले जान नै पाउनुभयो न त छोरीहरु नै मातातीर्थ औंसी भन्दै माइत आएको देख्न पाउनुभयो। लाग्छ आमा उल्टै छोरीको मुख हेर्ने दिन कुरेर बस्दै हुनुहुन्छ न कि मातातीर्थ औंसी।

आमा, हो आज यो विशेष दिनमा मात्र होइन हरेक दिन अनि हरेक पल हजुरलाई सम्झिरहेको छु। सम्झिदैछु हजुरका संघर्षका दिनहरू बिहान हामी सपनामा चुर्लुम्ब डुबिरहेको बेला हजुर थरथर काम्ने त्यो पुस माघको कठ्याङ्ग्रीने जाडोमा हरेक दिन टिलपिल टिलपिल निभ्नै लागेको टुकीको सहायताले हाम्रो भविष्यको उज्यालो खोज्न छामछाम छुमछुम गर्नुहुन्थ्यो। जब म हजुरसँग शौचको लागि हात समातेर बाहिर निस्किदै गर्दा हजुर सधैं आकाशमा तारा हेर्दै भन्नुहुन्थ्यो अब उज्यालो भएछ, उठ्नुपर्छ। समय हेर्न न त मेरी आमाको हातमा घडी नै थियो त न त घडीमा भएका अंक चिन्ने ज्ञान नै। किताबका अक्षर चिन्न नसक्ने मेरी आमाले आफ्ना सन्तानलाई जीवनको अर्थ चिनाउनुभयो। औंला भाचेर जोडघटाउ गर्ने मेरी आमाले जीवनका उतारचढाव जोड्न अनि घटाउन सिकाउनुभयो। आफ्नो जीवनमा स्कुलमा पाइला नटेकेकी मेरी आमाले थुप्रै संस्कार र संस्कृतिका पाठ घोकाउनुभयो। किताबका अक्षरबाट सिक्न नसकेका व्यबहारिक ज्ञान सिकाउनुभयो। संघर्ष अनि चुनौतीका अर्थ बुझाउनुभयो।

सम्झिदैछु ती दिन कुरुसको सहायताले आफ्नै हातले बुनेको झोला बोकेर स्कुल जाँदै गर्दा छिमेकीले छोरी जात अर्काको घर जाने जात हो पढ्नुपर्दैन भन्दा कता कता मन खिन्न हुन्थ्यो। कहिलेकाहीँ गाउँमा गएको बेला सुनाउँदा रहेछन् वरिपरिका छिमेकीले बुवालाई छोरीको काम पो खानुपर्छ, पढाएर कमाइ खाने बेला पराइ घर जाने जातलाई बेक्कार छ लगानी लगाउन। थाहा थिएन मलाई त्यतिबेला कमाइ के हो अनि पराइ घर के हो? बुवा र हजुर आपसमा यही विषयमा बाँझेको सुन्दा लाग्थ्यो बुवाभन्दा हजुर नै शिक्षित तर मेरो सोचाइ गलत थियो किनकि न त बुवालाई आफ्नो नाम लेख्न नै आउथ्यो न त हजुरलाई नै आमा, हो आफू अशिक्षित भएर नि त्यो अन्धविश्वासले ग्रसित समाजलाई चुनौती दिदै छोराछोरीप्रतिको भेदभावपूर्ण व्यबहारको अन्त्य गरेर आफू दु:खको भारी बोकेर हामीलाई किताबको झोला बोकाउनुभयो।आमा, हजुरकै अमुल्य योगदानले गर्दा यो विशेष दिनमा मनभरि हजुरको माया अनि तस्बिर सजाएर आमा शब्द कोर्न सक्ने भएकी छु।

आमा, हजुरबाट सिकेका थुप्रै संघर्षका पाठहरू जसले जीवनभरि असल कार्य गर्न उत्प्रेरित गरिरहनेछन्। हजुरसँग रमाइलोका साथ बिताएका बाल्यकालका अविस्मरणीय पलहरूले अझै जीवनमा दु:खसँग पनि रमाउन हौसला दिनेछन्। हजुरले जीवनभर गरेको मेहनत परिश्रमले अझै जीवनमा परिश्रमी बन्न उत्साहित पार्नेछन्। नलिनु आमा केही चिन्ता, हजुरकी छोरी सदैव असल मार्गमा हिंड्नेछ।

हजुरले सिकाएका सीपलाई जीवनमा लागू गर्नेछ। हजुरले दिएको आशिर्वादले सधैं सफलता मिल्नेछ।

हो आमा म आफूलाई सारै भाग्यमानी ठान्छु किनकी सबैको भाग्यमा जन्म दिने र जीवन दिने दुई वटी आमा लेखेको हुँदैन। दुई वटी आमाको छत्रछायामा बाल्यकाल बिताउने अवसर जो कोहीलाई चाहेर पनि मिल्दैन। साच्चिकै बुझ्ने हुँदासम्म जन्मदिने आमा छुट्ट्याउन नसक्ने म जान्ने बुझ्ने भएदेखि छुट्ट्याउन आवश्यक पनि ठानिन। दुवै आँखा बराबरी भने झैँ मेरा लागि पनि हजुरहरू बराबरी नै हुनुहुन्थ्यो। जन्म दिने आमाले सधैंको लागि छोडेर गए पनि अझै आफूलाई टुहुरो महशुस गर्नु परेको छैन आमा। भगवानसँग प्राथना छ कि यसरी नै जीवनभर हजुरकै मायाको भिखारी बन्ने अवसर मिलिरहोस्।

आमा, आजको यो विशेष दिनमा मात्र होइन सधैंभरि हजुरहरुको माया मुटुभरि सम्हालेर राखेकी छु। हरदिन हरक्षण हजुरहरुकै सम्झनाले पिरोलिरहेको छ। तन जहाँ भए पनि मन त त्यही छ जहाँ हजुरहरु हुनुहुन्छ। जन्म दिनु मात्र ठूलो कुरा होइन जीवन दिनु झन महान हो। यसको मतलव यो कि मेरो लागि जन्म अनि कर्म दिने सबै आमाहरू महान हुनुहुन्छ। आजको विशेष दिन मातातीर्थ औंसीको फरक हैसियतले कर्म दिनुहुने दुवै आमाहरूप्रति हार्दिक नमन।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!