US Khabar
  • परिश्रमका प्रतिमान

    - Admin | ६ महिना पहिले प्रकाशित

    परिश्रमका प्रतिमान

    एउटै ध्येय छ उनको – ‘जीवनको अन्तिम उद्देश्य यतिमात्र छ,मानिस भएर जन्मिसकेपछि आफ्नो शेषपछि पनि अमिट छाप छोड्न सकियोस् ।’ उनी अर्थात् छायादत्त भट्टराई । अठ्ठाईस हेमन्त हिमशैलको छायाँमुनि अबोध शिशुहरूलाई आखर सिकाएरै व्यतीत गरे उनले । अत्यन्तै ऊर्जाशील वय थियो त्यो । लमजुङ जिल्लाको बिचौर भन्नासाथ पृथक पहिचान भएको अर्थात् शासक विरोधी मनोविज्ञान बोकेको थलो थियो । वस्तुतः छड्के नजर लगाउँथ्यो तत्कालीन प्रहरी प्रशासन । उतिवेला पनि व्यवस्थाका विरुद्ध घुइरो घुइरो विमति राख्थ्यो बिचौरले । ठीक त्यतिबेला आम सचेत शिक्षकहरूलाई पञ्चायत विरोधी गतिविधिमा सरिक भएको बुझ्थे शासक र उनका अनुचरहरू ।

    यो बुझाइको केन्द्रमा नरहे पनि परिधिमा उनी पनि थिए । शासकीय कोपभाजनको जोखिमबीच नै २०३३ सालमा कफी खेती थालनी गर्ने सनक चढ्यो उनलाई , उत्तरको ताक पूर्वको दौड भनेझैँ । दैनिक दुई घण्टा उकालिने र ओरालिने गर्दै विद्यालयको काम,कारवाहीमा चुस्तता ल्याउने र बिहान बेलुकी घरायसी टन्टा सघाउने कि समाजमा धुन्धुकारी सोचिने काममा पनि फाल हाल्ने ? काष्ठकलामा पनि मनग्गे रूचि राख्ने भएकाले टेबल,पलङ,दराज, सन्दुस निर्माणतर्फ ध्यान कसरी केन्द्रित गर्ने ? सवालहरू अमित थिए । यिनै सवालका मझधारमा सैसैला खेल्दै थिए उनी । शिक्षणकै सिलसिलामा अचानक उनी सेवाकालीन तालिममा छनोट भए । जानुपर्ने भयो गोरखा क्याम्पसमा । उनलाई शिक्षण सिकाइ तालिमले भन्दा बेसी फाइन आर्ट सिक्ने रूचिले आकर्षित गर्न थाल्यो ; फोटोग्राफीले मोहित पार्न थाल्यो र चिने अन्तरनिहित कलाकारिता । ‘जानु थियो आरुबारी, पुग्न गएँ आलुबारी’ जस्तै भयो । यता पनि मन डुल्ने , उता पनि मन डुल्ने तर एक ठाउँमा स्थिर हुन नसक्ने । यसरी खोलामा गुडिराख्ने अस्थिर गिटीझैँ गुज्रे उनी एउटा कालखण्ड ।लेखक: माधव घिमिरे 'अटल'

    लेखक: माधव घिमिरे ‘अटल’

    आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु:।
    नास्त्युद्यमसमो बन्धु कृत्वा यं नाव सीदति ।।
    अर्थात्

    मान्छेको दुस्मन उसको अल्छीपन हो । महान् मित्र परिश्रम हो । जबसम्म ऊ मेहनती रहन्छ तबसम्म ऊ कहिल्यै दु:खी हुनुपर्दैन । हो, यही चाणक्यको कथनलाई शिरोधार्य गर्दै करिब २०३६ सालतिर दश हजार रूपैयाँ लगानीमा एक हजार सुन्तला र पैंतीस सय अलैंची ल्याए, गोरखाका अग्रणी कृषक चिन्तामणि अधिकारीबाट । सबै हुर्काउन त सकेनन् किन्तु हिम्मत हारेनन् । २०४९ सालमा भूमिविष्णु फलफूल नर्सरी दर्ता गरी अनेक जातका फलफूल खेती र डाले घाँसका बिरुवा हुर्काउन प्रारम्भ गरे । ड्रागन फ्रुट,एभोकाडो, किवी, मेकाडानिया नट,भुइँ स्याउ,रुद्राक्ष, श्रीखण्ड, अगर उड जस्ता बहुमूल्य वनस्पति साथै इस्टोविया,एलोभेरा,पेपिनो मेलन, भरिङ्गाजस्तै चानचुन डेढ सय जातका जडीबुटी विस्तार गरे । करिब चालीस रोपनी जमिनमा लगाएका यी फलफूल र जडीबुटीबाट वार्षिक १०/१२ लाख रुपैयाँसम्म आम्दानी पनि भयो, एकाध वर्ष । कफी र अलैंचीको बिरूवा उत्पादनमा प्रोत्साहित गर्न तालिम प्रदायक अगुवा कृषकमा पनि दर्ज भए उनी । यतिखेरसम्म उनलाई ‘सपनालाई साथमा र गन्तव्यलाई काँधमा राख्यो भने सफलता टाढा हुनै सक्दैन’ भन्ने लागिसकेको थियो ।

    मेहनतको कुञ्जी, भरोसाको ज्यावल—

    मेहनतको चाबीले नै भाग्यको दैलो खुल्ने बोध आफ्नै दैनिक जीवनमा सिद्ध भयो । बजारको मागका आधारमा त्यो भूगोल र माटोमा उत्पादन हुन सक्ने सबैजसो वनस्पतिको खेती गरे उनले । परीक्षण नै सही जेजति गरे त्यो दुर्लभ कर्म थियो त्यो क्षेत्रकै निम्ति । लक्ष्यसहितको मान्छेलाई सफल हुन यसर्थ पनि सजिलो छ कि उसलाई आफूले पक्रेको दिशाबारे पूर्व ज्ञान हुन्छ । अनि त लाग्ने नै भयो – ‘उठे सगरसम्म, बसे गजधम्म’ । अरू स्थानीय कृषकसँग उनको तुलना गर्यो भने यस्तो प्रतीत हुन्थ्यो उतिवेला – अरूले गीत गाएका र कालेका बाबुले मुख बाएका । जब व्यावसायिक कृषिमा हात हाले तब थाहा भयो – ओखलमा हात हाल्नेलाई मुसलको के डर !

    ‘जसले चुच्चो दियो उसैले चारो दिन्छ’ भनेझैँ कृषि विकास कार्यालयले उनलाई अगुवा किसानको रूपमा र तत्कालीन जिविसले उत्कृष्ट किसान भन्दै पुरस्कृत पनि गरे । २५००भन्दा बढी किसानलाई तालिमको माध्यमद्वारा आफ्नो अनुभव आदानप्रदान गरिसकेका भट्टराईले स्थानीय सहकर्मी किसानलाई अनुदान ल्याउन सरसहयोग गर्ने गरेका छन् । ‘जसले आँट गर्छ उसैले पार तर्छ’झैं अनुभूत हुन्छ यतिवेला उनलाई । आखिर स्वावलम्बन नै उन्नतिको मुख्य कारक न रहेछ । अरूका सफलताका कथा मात्र सुनेर बसेका भए आज उनको यो सम्मान, यो प्रसिद्धि र यो प्राप्ति किमार्थ हुने थिएन ।सम्मान, पुरस्कार र कदरपत्र गणना गर्न आफैँलाई हम्मेहम्मे पर्छ अहिले त ।

    त्यसो त मामुली मान्छेले भोग्ने तमाम भोगाइका भुक्तभोगी पनि हुन् भट्टराई । द्वन्द्वकालमा तत्कालीन माओवादीले आफूले ल्याउँदै गरेको स्रोत-केन्द्रस्तरीय संस्कृत परीक्षाका प्रश्नपत्र नजलाइदिएको भए अनेक तिकडम गरी तत्काल शिक्षककै जागिर पनि छोड्दैनथे होला । एकातिर जिसिअ जसरी पनि परीक्षा लिनू भनेर उर्दी जारी गर्ने र अर्कोतिर विद्रोहीले परीक्षा लिए भौतिक कारबाही गर्ने धम्की दिने । यो चेपुवामा परेर आर्जन गरेको इज्जतमा धावा बोल्न चाहेनन् उनले । त्यो समय थियो २०५६ साल । ज्यानको मूल्यमा दुनियाँका भुराभुरीलाई शिक्षाको न्यानो घाम बाँड्न असमर्थ भएकैले त्यो ऊर्जा कृषितिर खर्चेका थिए । शिक्षा कार्यालयले उत्कृष्ट शिक्षक घोषणा गरेको छोटो कालखण्डमै दुई दर्जनभन्दा बढी वसन्त गुजारेको पेसाबाटै विमुख हुने चाह नभए पनि बाध्यता थियो उनलाई ।

     उन्नति वा बर्बादी—–

    भनिन्छ या त जिन्दगी उन्नत हुन्छ या त बर्बाद । यस्तै मनन गरेर हुनुपर्छ, सपना देख्नमै मात्र व्यस्त नरही उठ्ने,कडा परिश्रम गर्ने र सफलता निर्माण गर्ने काममा अटुट रूपमा समर्पित बने उनी । अनुकूल समयसँग मितेरी गाँसे, प्रतिकूलतामा निरन्तर जुधे । आफू गतिशील बनेर मात्र दुनियाँ बदल्न सकिन्छ भन्ने चिन्तन गरे । पसिना शक्ति हो, महाधन हो यसका निम्ति लगनशीलता पूर्व शर्त हो भन्ने ज्ञात भयो पटकपटक उनलाई । अड्चन र अप्ठ्यारा त बेगिन्ती थिए नै र पनि भयाक्रान्त भएनन् उनी कुनै पल । सोचे, आखिर हामी यस्तो समाजमा रतिन अभिशप्त छौं जहाँ ज्ञान प्राप्ताङ्कमा नापिन्छ र आदर पैसाको गरिन्छ । फेरि सत्य पथ त निकै दुसाध्य र गन्तव्य दुर्गम पनि हुन्छ । परिश्रमप्रति अटुट लगाव र कर्मप्रतिको अगाध आस्थाले कुनै न कुनै दिन गन्तव्य भेटिन्छ नै । सुन्दर गन्तव्य डोर्याउने बाटा अक्सर अक्करे नै त हुन्छन् । अन्ततः झ्याउँकीरीले होइन, माहुरीले घार भर्छ । जिन्दगीको बहुमूल्य किताबमा उनले धैर्यताको यस्तै गाता लगाइरहेछन् अविराम कुनै न कुनै दिन आफ्नो अभीष्ट प्राप्त गर्ने पूर्ण भरोसामा । अवश्यमेव मान्छे ताकतले होइन, ल्याकतले परिचित हुन्छ ।फसलको हाँगामा बसेकी चरीलाई पसिनाको पखेटामा विश्वास नहुने कुरै हुन्न ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">