US Khabar
  • हामी नारीहरु मर्नका लागि किन यती साह्रो उद्यत छौं हँ ?

    - Admin | ४ महिना पहिले प्रकाशित

    हामी नारीहरु मर्नका लागि किन यती साह्रो उद्यत छौं हँ ?

    सुष्मा देवकोटा

    कोभिड पेण्डामिकले देश लकडाउनमा चलिरहेरका समय समेत नरोक्किएको महिला हत्याका नयाँ नयाँ शैलीका श्रृंखला मध्य यतिबेला भाईरल भनिएको पछिल्लो घटना हो रुपन्देहीमा बिहे गरेको २७ दिनमा नै झुण्डीएको अवस्थामा फेला परेकी बिष्णु बराल प्रकरण । उसो त त्यसको केही समय अघि यहि अवस्थामा भेटिएकी सविता भण्डारीको माईती पक्ष पनि अझैं न्यायका लागि छट्पटाई रहेको छ ।

    पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णु र रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं १ का प्रदिप भट्टराईको बिबाह प्रसंग नै अमिल्दो देखिन्छ घटनालाई हेर्दा । यो घटनाका दुई परिवार मध्य बिष्णु सामान्य परिवारमा एकल महिलाले हुर्काएकी छोरी हुन् प्रदिप सम्पन्न परिवारको भारतमा वसेर पढेको केटो, जसको दिदी समेत अष्टेलियामा छ ।

    केटीकी फुपु पवित्रा गौतमले मागी बिबाहको कुरा चलाएपछि सुरु भएको २०७७ दशैं ताकाको कुरा २०७८ सालको जेठ १४ गते बिष्णुको ज्यान गएसंगै नमज्जाले नेपाली समाजको चित्रण गर्ने घटना भएको छ ।

    फुपुले सम्पन्न घरको केटो भनेर कुरा ल्याईन, केटा पक्षले पढे लेखेकी कम उमेरमा नै राम्रै जागीर खाएकी रुपरंग मिलेकी केटी भनेर कुरा अगाडी बढ्यो । फेसबुकमा केटा केटीको फोटो र गफले राम्रै गती लियो । तर जव केटा केटी भेट्न मन गरेर पोखराबाट बिष्णु लुम्बिनी गईन् यो हत्याको बाटो त्यहिँ बाट सुरु भएको देखिन्छ । चाहे त्यो आत्महत्या नै किन नहोस् ।

    नभेट्दा सम्म ठिकठाक देखिन्छ सम्बन्ध । भेटेपछि केटाले दुरी बढाएको स्पष्ट छ लमी भनिएकी दिदीको अन्तरवार्ता हेर्दा । मंसीरमा गर्ने भनिएको बिबाह माघमा गर्ने कुरा गर्न थालियो, केटाकी दिदी नेपाल आएपछि बिहे गर्ने बहानामा । माघमा केटाका हजुरबुवा बिते, बराखीको बहाना सुरु भयो । सुक्ष्म रुपमा अध्ययन नगरिएको यस घटनामा केटालाई केटी प्रतक्ष्य भेट्दा मन परेन, तर परिवारलाई यत्तीको केटी ठिकै त छ भन्ने लाग्यो र पनि बातचित कम हुँदै गएको देखिन्छ ।

    फेरी बैसाखमा आएर केटाकी दिदी र आमा बोल्न थाले बिष्णु संग । उसो त यस घटनामा केटा भन्दा विष्णु ज्यादा के्रजी भएको स्पष्ट छ, केटाले ईग्नोर गर्दा पनि उनि आफैं फोन गर्ने, परिवारको सम्पर्कमा रहने गरेको देखियो । यहि उनको गल्ती भएको हो । अर्को कुरा नेपाली समाजमा हुने खाने आफु भन्दा सम्पन्न केटो देखेपछि आमा बुवा लगायत सबै हुरुक्कै हुने परम्पराको उपज पनि हो यो घटना । सामान्य टिनले छाएको घरमा दुख गरेर आमाले हुर्काएकी गाउँले छोरी ढाई तलाको सम्पन्न घरमा जाँदा कती सास्ती हुन्छ भन्ने हेक्का हाम्रा आमाहरुलाई पनि हुँदैन । पक्कै पनि यहाँ बिष्णुलाई त्यही सम्झाईयो ‘केटो नबोलेर के भयो त परिवारले मन पराएसी केटो त आफ्नै हो नी । कोही धेरै बोल्ने हुन्छन् कोही कम । ‘यो उपदेश हाम्रो क्षेत्रमा छोरीलाई दिईने उपदेश हो । सोझा छोरी पत्याउँछन् पनि ।

    बिष्णुलाई कमसेकम केटा नबोलेपछि तँ परिवार संग नबोल नानी भनेर कुरा चलाउने मान्छेले समेत भन्दा पनि उनि जसरी भएपनि त्यसै संग बिहे गर्ने हो भन्ने सोचले अघि बढेको देखिन्छ । केटाले त यो पनि भनेको रहेछ, ‘मैले तिमीसंग बिहे गर्ने भनेको आमा र दिदीको लागि हो उनिहरु बोले भै हाल्यो नी ‘यति भनिसक्दा समेत आफुलाई जानकारी नै नदिई मोवाईल स्विच अफ गरेर सौराहा गएको प्रदिपको खोज तलास गर्दै फोन नगरेको भए आज बिष्णु बराल हाँसीखुसी फेसबुकमा नयाँ फोटोहरु पोष्ट गर्दै गरेकी हुनेथिईन् । तर दुखको कुरा यतिबेला उनकी बिधवा आमा जसले विष्णु ४ बर्षकी हुँदा श्रीमान गुमाईन् उनि घरी रुपन्देही घरी प्रहरी चौकीमा न्यायका लागि रुँदै हिडेकी छन् ।

    यो त एउटा प्रतिनिधी घटना मात्र हो हाम्रो समाजको । हामी छोरीहरु आसे जात भएर चिनिएका छौं, आफु भन्दा कमजोर केटासंग बिहे गर्न परिवार मात्र होईन हाम्रै मन पनि मान्दैन । केटो सम्पन्न, ह्याण्सम, पढेलेखेको भएपछि आफु त त्यसै महारानी भईन्छ भन्ने हाम्रो सोचले हामी मृत्युको ढोका ढक्ढकाउन आफैं गै रहेका छौं ।

    म केटा पाल्छु भनेर कमजोर केटा हेर्दैनौं हामी, किनकी हामीलाई लाज लाग्छ समाजका अन्य दिदी बहिनी भन्दा गर गहना लवाई खवाई कम हुने डरले । समाज यसरी बिग्रिएको छ कि बुढा बुढीको अगाध माया भएपनि माईत आउँदा अरु दिदी बहिनी सहर लवाई खवाई नभए ‘कठै बरा फलानीको घरमा दुख रहेछ’ भन्दिन्छन् , माईतबाट फर्किएपछि श्रीमती गर-गहना, वाईक, कार दुनिया माग्न थाल्छे लोग्ने संग छैन अव झगडाको सुरुवात भयो ।

    यहि झगडा नहोस् भनेर पहिले हेर्दा नै सम्पन्न चाहियो केटा, उ संग बिचार सिधान्त मिलाउँदै गरौंला अहिलेलाई अरुले हेर्दा ‘वा फलानाको ज्वाई फलानीको बुढो’ भन्दिनु पर्यो बस् । केटोले आफुलाई कत्तीको ईज्जत गर्छ, आफ्ना बारे के सोच्छ, भोली सन्तान जन्मदा कत्तीको खुसी हुन्छ, योग्यता मिल्छ मिल्दैन, रहनसहन कस्तो छ यसबारे जाँदैन हाम्रो सोच । हामीलाई भित्रनु मात्र छ उसको घरमा उसको जीवनमा र मर्नु छ पलपल उसको बचन सहेर, तनाव झेलेर, दुई चार लात खाएपनि सहीदिने हो, उसले पालेको पनि त छ नि भन्ने सोचले ग्रसित छौं हामी ।

    समानताको भाषा त हामी सोच्न र बोल्नै सक्दैनौं बस् केही भए अधिकारको आवाज उठाउन तयार त्यो पनि मिडिया र महिला अधिकारकर्मीले भरिदिएको बोक्रेपनमा । मेरो अधिकार कहाँ कसरी मिचियो पत्तो नै छैन प्राय नारीलाई ।

    पछिल्ला दिनमा मर्न मार्न दुवै तयार छन् नारी । यसलाई बहादुरी भन्ने कि कायरता ? सरकार भन्छ दोस्रो बिहे गर्ने केटा केटीलाई ५ बर्ष जेल सजाएँ । फेरी आएपछि नि संगै बस्नु पर्ने, त्यो भन्दा मारिनै दिउँ यसै जेल उसै जेल फर्किएपछि त नयाँ जीवन सुरु हुन्छ भन्ने विकृत सोचको बिकास हुँदै गएको छ ।

    नारीहरु मर्नु पनि हुन्न र उबाट मारिनु पनि हुन्न कोही । उ त जननी हो, उसलाई उसको हिम्मतको अन्दाज खोई ? एउटा जावो चप्पल किन्दा त चित्त नबुझ्दा २० वटा पसल चहार्नु पर्छ, जीवन बिताउने लोग्ने त कमसेकम छानेरै बिहे गर्नु पर्छ यति पनि हेक्का छैन नारी र नारीलाई जन्माउने अर्की महान् नारीलाई, प्रेम गर्दा, शारिरिक सम्पर्कमा रहँदा ईज्जत गयो भन्ने सोच नै संकिर्ण हो ।

    कोही बच्चा पेटमा आयो न्याय चाहियो भन्दै रुँदै आउछन्, जो फाईदा लुटेर भागिसक्यो त्यसैसंग जीवन बिताउन कत्रो रहर हामीलाई ? कोही सौता ल्यायो त्यहि बुढो खोज्दीनु पर्यो रे, सौता ल्याउने बुढो त धोकेवाज त्यो संग त बस् भनेपनि बस्नु भएन नी होईन र ?  यसले अन्तत हत्याकै रुप लिने हो, कुनै मर्ने नै गरी हत्या, कुनै मानसिक हत्या, कुनै आत्महत्या । यस्तै स्कुलिगं दिने हो हाम्रा छोरीहरुलाई हामीले ?

    तलाई बलत्कार गर्ने नै तेरो श्रीमान बन्नु पर्यो, त्यसैको टाँसो लाग्नु पर्ने भए त्यो कसरी बलत्कारी भयो ? अव त उसले हरेक रात बलत्कार गर्ने वाला छ त । के हो यो शिक्षा, संस्कार, देखवा, नौटंकी । मारे नी, काटे नी उसैसंग बस्ने हो उसकै हुने हो भनेर किन मरिहत्ते गरिरहेछौं हामी ?

    हामीसंग गरिखाने हात गोडा छन्, यो लोग्ने मरेकै भएपनि मैले मेरो बच्चा त पाल्नु नै पथ्र्यो भन्ने सोच किन नआएको हामीमा ?  हामीलाई मर्न कत्रो रहर लागेको ? आफैं त आफ्नो लागि केही गर्न सकेका छैनौं भने केटो सम्पन्न भएर उसले गरिदिएपछि हामी मान्छे कहलिने हौं र ? जव की अरुको भरमा बाँचेको जीवन आफ्नो कसरी हुन्छ । बिहे पछि पढाई छोडिदिने, जागीर छोडीदिने, अनि भोली उसले धोका दिनासाथ रुँदै कराउँदै मिडियामा आउने संस्कार बन्द हुनु जरुरी छ । कमसेकम म पनि मान्छे हुँ, मेरो अस्तित्व मेरै लय र सुरले कायम हुन्छ भन्ने सम्म त याद राखौं हामी नारी ।

    बच्चा जन्माउँदैमा भए भरको अस्तित्व समाप्त हुँदैन, भोली त्यहि बच्चाले पनि मेरो आमा गृहणी हो भन्नु भन्दा जागीरे हो भन्न पावस् । नत्र त फेरी हामी नारी  आफ्नै बच्चाको समेत बचनले मर्नु पर्ने हुन्छ । बाँच्न सिकौं मर्नका लागि उद्यत नभौं, बाँच्नु त्यो पनि आफु भएर बढो गज्जव कुरा हो, छुटेको पढाई पुरा गर्न लाज नमानौं, सानै काम गरेर भएपनि स्वावलम्बी बन्न साहास गरौं र सबै भन्दा ठुलो कुरा आफ्नै कारण आफु मर्नु पर्ने यात्रा नरोजौं । मर्नु भनेको भौतिक मृत्यु मात्र होईन ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!