विश्वव्यापी महामारी कोरोना भाईरसका कारण विश्व समुदाय यतिबेला रोग, शोक र सन्त्रासले आक्रान्त छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोभिड-१९ का कारण २४०,५१३ ले यस माहामारीबाट ज्यान गुमाईसकेका छन् भने संक्रमितको संख्या ३,४२७,२६५ पुगेको छ ।
चिनबाट फैलिएको यो भाईरसका कारण यतिबेला नेपाल पनि संन्त्रास र संक्रमणको जोखिम बेहोरिरहेको छ । विश्व मानचित्रमा सानो स्थान ओगटेको हाम्रो देशमा भलै यस संक्रमणको प्रभाव पनि न्युन देखिएको किन नहोस् तर बिभिन्न राजनितीक कालखण्डमा गुज्रेको नेपालका लागि यहि न्युन संक्रमण पनि ठुलो विपत्ती बनिरहेको छ । हाल सम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्कीसकेका छन् । खुसीको कुरा यो छ कि हाल सम्म नेपालले यस रोगबाट मानविय क्षती बेहोर्नु परेको छैन ।
फागुनको पहिलो साता चिनको वुहान शहरबाट १७० जना नेपाली बिद्यार्थीलाई स्वदेश फिर्ता गरेर भक्तपुरको खरीपाटीमा क्वारेन्टाईनमा राख्ने निर्णय गरेसंगै कोरोना सन्त्रासको आतंक देशभरी फैलिएको हो । मानसिक रुपमा भयवित नेपालीहरु गत चैत ११ गते देखी सरकारले लकडाउनको घोषणा गरेसंगै बिस्तारै दैनिक जीवनमा पनि असहज महशुष गर्न थालेका हुन् । यो असहजताको मारमा सबैभन्दा बढि दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएका मजदुर र डेरा गरी पढ्न बसेका बिद्यार्थीहरु परेका छन् ।
घरबाट खर्च ल्याएर र सानोतिनो जागीर खाएर राजधानी काठमाडौंमा बसेर अध्ययन गर्दै आएका बिद्यार्थीहरुका मर्काका किस्सा पनि फरक फरक छन् । सरकारले लकडाउनको घोषणाको यथेष्ट तयारी नगरी सार्वजनिक यातायात बन्द गर्यो, धेरै बिद्यार्थी सो समय बस भाडा नभएर नै घर नफर्किएका गुनासा पनि सुनाउँछन्, सरकारले घर फर्कनका लागि आह्वान गरेको भएपनि बिद्यार्थीका लागि निशुल्क बसको ब्यवस्था गरिदिनु पथ्र्यो, घर जाने भाडा थिएन साथीभाई संग साटप खोज्दा खोज्दै यातायात नै बन्द भयो कोही बिद्यार्थीका दुखेसा यस्ता छन् भने सरकारले पहिले नै आजको अप्ठेरो अवस्थाको बारेमा सचेत गराएको भएपनि हामी यहाँ रोक्किने थिएनौं भन्नेहरु पनि छन् । जे होस् लकडाउन ४० औं दिन सम्म आईपुग्दा काठमाडौं उपत्यकामा डेरा गरी बस्ने बिद्यार्थीहरु अत्यन्त कठिन अवस्थामा छन् ।
बिद्यार्थी जीवन सबैका लागि आर्थिक रुपमा असजिलो समय हो । सिमित खर्चमा घरभाडा, कलेजको भर्ना, पाठ्यापुस्तक, यातायात भाडा साथीभाईसंगको खाजा खर्च सबै मिलाएर त्यसैबाट महिनाभरीको रासन पानी किन्नुपर्ने अवस्थाका बिद्यार्थीहरुका लागि ४० दिनको लकडाउन सामान्य कुरा बन्नै सक्दैन हाम्रो जस्तो देशमा । सरकारले नगरपालीकालाई अप्ठेरोमा परेका बिद्यार्थी तथा अन्य डेरावालाका लागि राहत बितरणको जिम्मेवारी दिएपनि उनिहरुलाई सहज तरिकाले राहत प्राप्त गर्ने आधार तयार भएन । कारण घरधनीको परिचय पत्र दिन नै नमान्ने घरबेटीहरु पनि थुप्रै रहेका छन् । बिद्यार्थीको चेतले यसको बिरोध गर्न सक्ला तर उनिहरुकै घरमा बसेर उनिहरुकै बारे खबरदारी गर्न सक्दैनन् बिद्यार्थीहरु यतिबेला । किनकी यस्तो अवस्थामा घरबेटीसंग पौंठेजोरी खेल्नु भनेको भै रहेको बास समेतको ठेगाना नहुने डर छ उनिहरुलाई ।
यस अवस्थामा अनेरास्ववियू उनिहरुको दुखको साथी बनेर उभिएको छ अहिले । राजनितीक आस्था भन्दा माथी उठेर मानविय धर्म निभाईरहेको अनेरास्ववियूले काठमाडौं र नजिकका जिल्लाहरुमा रहेका बिद्यार्थीहरुलाई राहत बितरण गरिरहेको छ । अनेरास्ववियूका पूर्व नेता टेक्सस निवासी राजु नेपालको सहयोगमा अखिलका वर्तमान नेता सुदेश पराजुलीको नेतृत्वमा रहेर अनेरास्ववियूका केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, अखिलका पूर्व नेता अशोक रावल लगायतको टोलीले लकडाउनका कारण अप्ठेरोमा परेका बिद्यार्थीहरुलाई सुचना पाए लगत्तै सम्पर्क गरेर उनिहरुको बसोबास क्षेत्रमै पुगेर राहत बितरण गरिरहेका छन् ।
शुक्रबार सम्म २५० भन्दा बढि बिद्यार्थीलाई राहत बितरण गरेको अनेरास्ववियूले यसलाई अत्यन्त गम्भिरताका साथ लिएको देखिन्छ । अप्ठेरोमा परेका बिद्यार्थी स्वयंले खबर गर्न नसकेको अवस्थामा समेत उनिहरुका निकट ब्यक्तीबाट पाएको सुचनाका आधारमा फोन नम्बर लिएर आफैं फोन गरेर त्यस्ता बिद्यार्थीको अवस्थाबारे जानकारी लिईरहेका छन् । जसमा उनिहरु ‘बेलुका खाने खानेकुरा छ कि छैन ?स्वास्थ्य अवस्था कस्तो छ ? हामी सकेसम्म आजै आउछौं नआत्तिनु होला, केही अप्ठेरो भए मलाई सिधा सम्पर्क गर्नुहोला’ जस्ता कुराहरु भन्ने गर्दछन् । भलै यसलाई राजनितीक रंग दिनेहरु पनि भेटिएलान् तर यसरी बिद्यार्थीहरुप्रति जिम्मेवार भएर सोधिएका प्रश्न र बातचितले उनिहरुको ब्यक्तीगत स्वार्थ नजर आउँदैन किनकी यो अवस्थामा हामी छौं नआत्निु भन्ने कोहि पनि छैन बिद्यार्थीहरुका लागि । त्यसैले मानविय हितमा जुटेका मनहरुलाई अतिरञ्जित गरेर राजनितक गन्धको महशुष गरिनु हुँदैन जस्तो लाग्छ ।
अवस्था यति पिडादायी छ कि यस्तो बेला रुघा खोकी लाग्दा समेत ला मनाई नि संक्रमण भयो कि भनेर आत्तिनु पर्छ तर सिटामोल समेत किन्ने पैसा बिद्यार्थीसंग छैन । कहाँ जाने माग्नलाई ? कोही मनकारी घरबेटी होलान् सापट चलाउने तर प्राय सबै पैसा छैन भन्नेहरु नै छन् । बिद्यार्थीका साथी बिद्यार्थीनै हुन्छन् उनिहरुको अवस्थापनि उस्तै छ । काम गर्ने बिद्यार्थीको समेत तलव रोक्किएको छ काम छोडेर बस्दा । पैसा हुनेहरुका लागि त यो लकडाउन पारिवारिक जमघट जस्तै बनेको छ, फेसबुक र टिकटकका भित्ताहरु अनेक रंगका तस्विर र भिडियोले रंगीरहेका हुन्छन् तर एक प्रकारको सुन्यता जस्तो बनेको छ बिद्यार्थीहरुको जीवन । साथीभाईसंग रमाईले गर्ने बानिहरुलाई एकातिर थन्काएर कसरी दैनिक गुजारा गर्ने भन्ने समस्याले पिरोलिएका छन् सबै भने घरमा रहेका बा आमालाई समेत आफ्ना छोराछोरी भोकै भएकी भन्ने पिरलोले निदाउन दिएको छैन । यस्तो अवस्थामा जो कोहीले गरेको सहयोगप्रति ति आत्माहरुले आर्शिवाद दिईरहेका होलान् ।
बन्द कोठामा भित्रबाट यो आर्टिकल तयार पारिरहँदा आजकै दिनमा पनि अनेरास्वियुको राहत बितरक टिमका साथीहरु धेरैका दैलोहरुमा हिडिरहेका होलान् । छिन छिनमा पानी परिरहने मौसम छ, उनिहरुका पनि परिवार होलान्, कतिका साना छोराछोरी पनि होलान्, घरबाट बा आमाले ‘घर आईज न छोरा’ भनेर बोलाईरहेका होलान् तर ति सबै ब्यक्तीगत सुखलाई छोडेर घरी एउटा ठाउँ घरी अर्को ठाउँ राहतका बोरा र झोला बोक्दै हिँडेका उनिहरुप्रति सम्मानित नजरले हेर्न सकिदैंन र यसलाई राजनितीक रंग दिईन्छ भने त्यो हाम्रै मनको दोस हुन सक्छ । म स्वयं कुनैपनि राजनितीक आस्थासंग नजोडिएको मान्छे हुँ जोडिएकै भएपनि त्यो खाष कुरा होईन खाष त्यो हो यस अवस्थामा हाम्रा देशका कोहि बिद्यार्थी भोको बन्न नपरोस् भनेर गरिएका सहयोग । यहाँ तँ यो पार्टीको म यो पार्टीको भन्ने अवस्था नै कहाँ छ र ? यहाँ बाँच र बचाउको अवस्थामा छौं हामी । त्यसैले यस बिपतको घटीमा गरिएको सहयोगलाई सकारात्मक रुपमा लिन सिकौं, जसले नेपाली मन र आपसी भाईचाराको सन्देश प्रवाह गर्दछ ।
प्रतिक्रिया