US Khabar
  • आफ्नो अधिकारको माग गर्दै अफगानी महिला प्रदर्शनमा: तालिवानको आपत्ती (२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम)

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    आफ्नो अधिकारको माग गर्दै अफगानी महिला प्रदर्शनमा: तालिवानको आपत्ती (२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम)

    तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्। काबुलमा राष्ट्रपति भवनतर्फ अघि बढ्न लागेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन्।

    अफगानिस्तानको तोलो न्यूजका अनुसार तालिबानले उक्त प्रदर्शन नियन्त्रणबाहिर गएको बताएको छ। काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरूले प्रदर्शनहरू गर्दै आएका छन्। प्रदर्शनकारीहरूले महिलालाई घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए।

    तालिबानले महिलालाई मन्त्री बनाउला त?
    केही दिनभित्रै सरकार गठनको तयारी भइरहेको बेला सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठेको हो। तालिबानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ।

    अफगानिस्तानमा धेरै महिलाले यसअघि सन् १९९६ देखि २००१ अवधिको तालिबान शासनकालमा जस्तै महिलासँग असमान व्यवहार हुने चिन्ता व्यक्त गरेका छन्।

    यसअघिको तालिबान शासनमा महिलाहरूलाई घरबाहिर निस्किँदा अनुहार ढाक्न अनिवार्य गरिएको थियो भने सामान्य कसुरमा पनि कडा सजाय दिइने गरिएको थियो।

    “पच्चीस वर्षअघि तालिबान आउँदा उनीहरूले मलाई विद्यालय जान दिएका थिएनन् ,” पत्रकार अजिता नाजिमीले तोलो न्यूजसँग भनिन्। “उनीहरूको पाँचवर्षे शासनपछि मैले २५ वर्ष पढेँ र मेहनतका साथ काम गरेँ। हाम्रो भविष्य राम्रो बनाउनका लागि पनि अब यस्तो हुन दिनुहुँदैन,” उनी भन्छिन्।

    रोएटर्स समाचारसंस्थाले सोराया नाम गरेकी एक प्रदर्शनकारीलाई उद्धृत गर्दै तालिबानले महिलाहरूलाई बन्दुकको म्यागझिले टाउकामा रगताम्मे हुनेगरी हानेको जनाएको छ।

    पन्जशिरमा लडाइँ जारी
    काबुलबाट उत्तरतिर रहेको पन्जशिर उपत्यकालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने र तालिबान र प्रतिरोधी समूहबीच भिडन्त जारी रहेको बताइएको छ। पन्जशिर तालिबानको नियन्त्रणमा नरहेको एक मात्र प्रान्त हो। पन्जशिरलाई तालिबानविरोधी गढ मानिन्छ तालिबानले थप दुई जिल्ला आफ्नो नियन्त्रणमा आइसकेको र उक्त प्रान्तको केन्द्रतर्फ आफ्नो फौज अघि बढेको दाबी गरेको छ।

    तर पन्जशिर उपत्यकाको तालिबानको प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ)का प्रवक्ताले ठूलो भिडन्त जारी रहेको र आफूहरूले हजारौँ तालिबान लडाकुलाई घेराबन्दीमा पारेको बताएका छन्।

    करिब डेढदेखि दुई लाख जनसङ्ख्या भएको उक्त उपत्यका यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि उनीहरूको नियन्त्रणमा गएको थिएन। हेरात सहरमा महिलाहरूको प्रदर्शनमा समर्थन जनाउँदै एनआरफका नेता अहमद मसूदले पन्जशिरले निरन्तर प्रतिरोध जारी राख्ने बताएका छन्।

    काबुल विमानस्थलबाट उडान सुरु हुने
    अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलबाट उडान पुन: सञ्चालन हुने सङ्केत देखिएको छ। अफगानिस्तानको एरियाना विमान कम्पनीले हेरात, मजार-ए-शरिफ र कान्दहारमा उडान गर्ने घोषणा गरेको छ।

    सहायता सामग्री ल्याउनका लागि कतारी प्राविधिक टोली विमानस्थल फेरि खोल्न सफल भएको कतारी राजदूतलाई उद्धृत गर्दै अल-जजिराले जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन आइतवार कतार भ्रमणमा जान लागेका छन्। तर त्यहाँ उनले तालिबानका कसैलाई भेट्ने कार्यसूची नरहेको बताइएको छ। कतार अफगानिस्तानमा मध्यस्थताको भूमिका खेलिरहेको देश हो।

    पाकिस्तानको गुप्तचर संस्था आईएसएसका प्रमुख जेनरल फैज हमीद काबुल पुगेका छन्। तर उनले पत्रकारले सोधेको प्रश्नको कुनै उत्तर दिएनन्। पश्चिमा देशहरूले आईएसएसले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन्। तर पाकिस्तानले त्यसको खण्डन गर्ने गरेको छ।

    २० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

    -सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला

    -सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा

    -सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो

    – सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित

    -सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउने सम्झौता’ मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता

    -सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा

    -सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल

    -सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा

    तालिबानको सत्तामा उदय
    पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू” भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

    मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए। तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो। तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो।

    सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे। त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे। उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ “विधर्मीहरूसँग लड्ने योद्धाहरू” तयार पार्ने संस्थापकमध्ये एक थिए।

    सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे। सोभियत सेना धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

    भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो। तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने – उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने – नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

    उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो। तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए। उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लङ्घन र सांस्कृतिक दुर्व्यवहारका आरोप छन्।

    तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा जब उनीहरू मध्यअफगानिस्तानस्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो। पाकिस्तानले आफू तालिबानको सूत्रधार भएको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ।तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगानहरू पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा छ।

    तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो। तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो। एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो।

    अन्तर्राष्ट्रिय रूपमै धेरै निन्दा गरिएको एउटा घटना थियो – पाकिस्तानी तालिबानहरूले सन् २०१२ को अक्टोबरमा गरेको हमला जब स्कूले छात्रा मलाला युसुफजाई आफ्नो गृहनगर मिङ्गोरा फर्किँदै थिइन्। पाकिस्तानको पेशावरस्थित एउटा विद्यालयमा भएको नरसंहारको दुई वर्षपछि एउटा महत्त्वपूर्ण सैन्य कारबाहीपछि पाकिस्तानमा सो समूहको प्रभाव कम भयो।

    सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो। त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो।

    सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो। अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।

    अल-कायदालाई आश्रय
    विश्वै ठूलामध्ये एउटा मानवखोजी अभियानबीच समूहका तत्कालीन नेता मुल्लाह मोहम्मद ओमार र ओसामा बिन लादेनसहित केही उच्च नेताहरू उम्किन सफल भएको बताइन्छ। तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरूले सो समूहलाई मार्गनिर्देशित गरे। तर “क्वेटा शुरा” को अस्तित्वलाई इस्लामाबादले अस्वीकार गर्‍यो। ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो।

    सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे।

    तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो। तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो। सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्‍यो।

    अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उनको मृत्यु भएको बताइन्छ। त्यसको अर्को महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकारेको बतायो।

    मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक थिए। लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गर्‍यो। त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर। मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिए। त्यसपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा भए।

    फिर्तीको दिनगन्ती

    फेब्रुअरी २०२० को अमेरिका-तालिबान शान्ति सम्झौतापश्चात्‌ तालिबान समूहले आक्रमणको रणनीति फेरेको देखिन्छ। उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थाले। लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउने गरेका छन्। त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ। अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुङ्ग्याउने घोषणा गत एप्रिलमा गरेका थिए।

    तालिबानको काबुल यात्रा

    एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो

    मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको थालनी

    जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण

    २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा

    ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी

    १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा

    १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा

    १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
    ३१ अगस्टः अमेरिकी सेना पूर्ण रूपमा फर्कियो (बिबिसी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!