– राधाकृष्ण देउजा
म यो लेख लेख्दै गर्दा नेपाली काँग्रेसबाट राजनीति सुरु गरेर देशकै सर्वमान्य नेता हुन पुग्नु भएका आदरणीय गणेशमान सिंह अनि वहाँले भन्नु भएका केहि कुराहरुको सम्झना गरिरहेको छु । खासमा सुनेका कुराहरु सहि हुन वा हैनन भन्ने तथ्यगत विश्लेषण पनि नगरिकन ‘कौवाले कान लग्यो भन्दैमा कान नछामी कौवाकै पछाडी दौडिने’ शैलीमा हावा कुराहरुलाइ सत्य मान्ने प्रवृति तर्फ संकेत गर्दै वहाँले भन्नु भएका केहि कुराहरु सम्झिरहेको छु ।
नेपाली जनताको मुक्तिको लागि जीवनको सम्पूर्ण उर्जाशील समय व्यतीत गर्नु भएका गणेशमान स्वयमलाई पनि त्यो भनाइ व्यक्त गर्दै गर्दा खुसि लागेको त थिएन होला पक्कै , वहाँले पनि केहि घटना परिघटनामा सत्य भन्दा अफवाह बिकेको अनुभूति गरेर नै त्यस्तो बोल्नु भएको होला ।
सर्वमान्य नेता गणेशमानले संकेत गर्नु भएको त्यो प्रवृतिको पुनरावृति नहोस, हामी नेपालीहरु सत्यतथ्य सुचना राख्ने , वैज्ञानिक र तार्किक ढंगले घटनाहरुको विश्लेषण गर्न सक्ने भइयोस भन्ने आशा गर्यो , कुनै न कुनै बेला हामि पनि हल्लाहरुको आडमा छोपिएको सत्यलाइ वेवास्ता गर्दै अफवाहले सत्य छोप्ने अवस्था सिर्जना गरिरहेका हुन्छौं ।
हुन त ढिला चाँडो सत्य स्थापित हुनु अनिवार्य नै हुन्छ तर त्यस्तो हुनु अगावै नियोजित, प्रायोजित वा भ्रमित रुपमा प्रकट हुने अफवाहले सत्यलाइ छोप्न सफल रहने त्यो छोटो अवधिमा कसैको निजि जीवन वा सामाजिक प्रतिष्ठामा पुग्न जाने क्षतिको आँकलनमा हामी कसैको ध्यान हतपत पुग्दैन । परिणाम कोहि कसै माथि अन्याय हुन पुग्छ , कहिले काहीं दुखद घटनाहरु घट्न पुग्छन अनि समाजलाइ अपुरणीय क्षेति हुन पुग्छ , जव सत्यको पर्दापण हुन्छ तव हामीसंग लज्जित, दुखित र आत्मालोचित हुनुको विकल्प हुदैन ।
त्यसो भएको अवस्थामा हामीसंग त आत्मालोचित हुनेसम्मको विकल्प त हुन्छ तर अफवाहको कारण सृजित परिस्थितीले गुमेको कुरा फिर्ता नहुन सक्ने धेरै सम्भावना हुन्छ । अहिले नेपालमा राजनीतिक हिसाव किताव गरेर तयार गरिएको तथ्यहीन अपहरणको फत्तुर आरोप अनि त्यस तथ्यहीन आरोपलाइ पत्याएर भ्रमित पङ्क्ति हेर्दा लाग्छ सायद यस्तै कुनै अवस्थामा नै सर्वमान्य नेता गणेशमान सिंहले हामी सवैको मन अमिलो पार्ने वाक्यको प्रयोग गर्नु भएको होला ।
हामी सवैलाइ थाहा छ कि केहि दिन अगाडी नेपाल सरकारले राजनीतिक दल विभाजनलाइ सहज बनाउने आसयको अध्यादेश ल्याएको थियो । अस्थिरताको विपक्षमा खडा रहेको नेपाली जनताको पङ्क्तिको खवरदारीले जारी भएको केहि दिनमै उक्त अध्यादेश फिर्ता हुन पुगेको भएपनि उक्त अध्यादेश जारी हुँदै गर्दा नै सवैले बुझेको तथ्य के थियो भने त्यो अध्यादेश सत्तारुढ दल नेकापा वा प्रतिपक्ष काँग्रेस फुटनु परेकोले वा उनीहरु मध्य कोहिलाइ फुटाउनु परेकोले आएको थिएन ।
अनि सवैको अनुमान थियो कि त्यो अध्यादेश समाजवादी वा राजपा जस्ता मधेश केन्द्रित पार्टीहरु भित्र रहेको केहि पदीय लालच भएकाहरुको जे जसरि पनि मन्त्री हुनुपर्छ भन्ने चिन्तनको उपयोग गर्न आवश्यक कानुनी तयारी थियो भन्ने । जव अध्यादेश जारी भयो तव हतार हतार समाजवादी र राजपाको बिचमा अप्रत्याशित एकता भयो, वहुराष्ट्रिय राज्य भन्ने विखण्डनकारी , असंवैधानिक र अराष्ट्रिय वाक्यलाइ नजर अन्दाज गर्ने हो भने उक्त दुई पार्टीहरुको एकता आफ्ना आफ्ना आन्तरिक एकता बचाउने अचुक अस्त्र थियो ।
तर संकट टार्न समाजवादी र राजपाको त्यस्तो एकता हुँदै गर्दा समाजवादी दलका सचेतक उमाशंकर अरगरिया सहित साँसद सुरेन्द्र यादव पार्टी फुटाएर मन्त्री हुने हसिन सपना बोकेर आफ्नो सहकर्मी हुने ठानिएका नेकपाका साँसदहरु महेश बस्नेत र किसान कुमार श्रेष्ठको साथमा महोत्तरीबाट काठमान्डौ आउंदै हुनुहुन्थ्यो ।
साँसद सुरेन्द्र यादव सहित काठमान्डौ आउने त्यो टोलिमा हुनुहुन्थ्यो आफ्नो जिल्लावासी साँसद किसान कुमार श्रेष्ठसंग कोरोना प्रभावितको अवस्था हेर्न भक्तपुर पुगेको समयमा साँसद किसन श्रेष्ठ राजनीतिक संवादको लागि आफ्नो पार्टीका साँसद महेश बस्नेत र समाजवादी दलका सचेतक उमाशंकर अरगरिया सहित सुरेन्द्र यादव सहित साँसदसंग कुराकानी गर्न धनुषा महोत्तरी जाने भएपछी वहाँहरुसंगै साथ लागेर जानु भएका पुर्व आइजीपी सर्वेन्द्र खनाल ।
टोलि काठमान्डौ पुग्दा नपुग्दै जव समाजवादी दल र राजपाको विचमा एकता भयो तव महोत्तरीबाट मन्त्री हुने सपना बोकेर काठमान्डौ आउंदै रहनु भएका साँसद सुरेन्द्र यादवको मन्त्री हुने सपनामा कानुन वाधक बन्ने पक्का भैसकेको थियो । महोत्तरीबाट जव टोली काठमान्डौ पुग्यो, तव मन्त्रीको आकांक्षामा धक्का लागेका माननीय सुरेन्द्र यादव आफ्नो आफन्त र बडीगार्ड सहित काठमान्डौको ठमेलमा रहेको मेरियट होटलमा बस्नु भएको अवस्थामा पार्टी फुटाउन आवश्यक गणपुरक संख्या नपुग्ने अनि आफु पार्टी फुटाएर मन्त्री हुन काठमान्डौ आएको सत्य थाहा हुँदा पार्टी भित्र पनि आफ्नो हालत खराव हुने निष्कर्ष निकाल्दै आफु अपहरित भएको काल्पनिक कहानी सहित आफ्नो पार्टी अध्यक्ष बाबुराम भट्टराईकोमा पुग्नु भयो ।
भोलि आउनसक्ने अवस्थाको आंकलन गर्दै एकातिर मन्त्री हुने सौदावाजी पनि गर्दै अर्को तिर बाबुरामलाइ आफु संकटमा रहेको भनेर फोन पनि गर्न भ्याएका सुरेन्द्रलाइ संकट परेको भन्दा सुनेको नसुनेझै गरेका बाबुराम भट्टराईले पनि अपहरणको काहानीलाइ सत्यको रुपमा उछाल्दै त्यसलाइ सनसनीपूर्ण ढंगले प्रचार गराउनु भयो ।
अनि त गणेशमान सिंहले भन्नु भए जस्तै प्रवृतिको थालनी भैहाल्यो, सत्य तथ्य के हो भन्ने नहेरिकन , के कस्तो भएको थियो भन्ने नेहरिकन अपहरणको नियोजित काहानीले यति धेरै प्रचार पायो कि लोकप्रिय र विश्वसनीय मानिएका मिडिया समेतले घटनालाइ अपहरणको रुपमै प्रचार गर्ने काम गरे भने एउटा राजनीतिक संवाद सहितको सडक यात्रामा संलग्न मध्ये केहिलाइ अपहरणकारीको रुपमा चित्रित गर्ने काम पनि भए ।
यतिसम्म कि समाजवादी साँसद सुरेन्द्र यादवसंग कुराकानी गर्न नेकपाका साँसद महेश बस्नेत र किसन कुमार श्रेष्ठ सँगै समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरिया पनि संगै जानु भएको थियो भन्ने तथ्यलाइ पनि मध्यनजर गरिएन ।
तर भनिन्छ नि अफवाहलाइ जव सत्यले विस्थापित गर्छ तर अफवाहले भ्रमित भएर सुनेको भरमा धारणा सार्वजनिक गर्नेहरु शर्मसार हुनुको विकल्प हुदैन , कथित अपहरणको काहानीमा पनि त्यही हुन पुगेको छ । जव आफ्नो झुठलाई छोप्न साँसद सुरेन्द्र यादवले सुखद सडक यात्रालाइ अपहरणको संज्ञा दिंदै मानव अधिकार आयोगमा मुद्दा दर्ता गरे तव उनिहरुले दिएको मुद्दाको प्रतिवादमा मुद्दा दिंदै साँसद बस्नेत , श्रेष्ठ संगै पुर्व आइजीपी सर्वेन्द्र खनालले पनि साँसद यादव लगायतको विरुद्ध मुद्दा दर्ता गराएको पनि हामीले देख्यौं ।
यति हुँदासम्म त सुरेन्द्र यादव अपहरित भएको भनेर भ्रमित रहेकाहरुले बस्नेत , श्रेष्ठ र खनालको मुद्दालाइ प्रतिवादको खातिर प्रतिवाद नै पनि ठान्नु भएको हुँदो हो तर मुद्दा दर्ता पश्चात पत्रकार भेटघाटमा अहिलेसम्म नखुलेको एउटा सत्य वाहिर आयो जसले फेरी एकपटक गणेशमानले भन्ने गरको नेपाली प्रवृतिको स्मरण गरायो भने अफवाहलाइ सत्य मान्ने सबै सर्वसाधारण देखि मिडियासम्मलाइ लाजले भुत्तुक्कै वनायो ।
सवैलाइ चकित बनाउन सफल उक्त खुलासा के थियो भने नेकपाका साँसदहरुलाइ लिएर आफ्नो दलका साँसद सुरेन्द्र यादवसंग सम्भावित राजनीतिक कदम बारे छलफल गर्न समाजवादी दलका सचेतक उमाशंकर अरगरिया आफैं पुग्नु भएको थियो । त्यो खुलासासंगै त्यो कथित अपहरणको काहानी विल्कुल झुठो थियो , वास्तवमा त्यो घटना अरु केहि नभएर आफ्नो दलका सचेतक सहित एक साँसदले सम्भावित सहकर्मी अर्को दलका साँसदहरु सहित पार गरेको सडक यात्रा र आरामदायी होटल बसाई मात्रै थियो भन्ने स्पष्ट भयो ।
तर त्यसो हुँदै गर्दा अफवाहले सिर्जना गरको अवस्थाले अपहरणको फत्तुर आरोप लागेका साँसदहरु देखि आफ्नो जीवनको उर्जाशील तिस बर्ष बहादुरी पुर्वक प्रहरी सेवामा बिताएर भर्खरै सेवा निवृत भएका पुर्व आइजीपीले जुन अपमान र वदनामी कमाउनु पर्यो त्यसको क्षेतिपूर्ति त सायदै होला ।
त्यसमाथि वर्षौंसम्म अपराधीहरुसंग लडेर जनतालाइ जोगाउने काम गरेका एक पुर्व अधिकृतले मलिन भएर ‘म माथि लागेको झुठो आरोपले मेरा छोरीहरुलाइ समेत टरचर भएको छ’ भन्दा चाहिं गणेशमान सिंह मात्रै हैन भिमशेन थापाको पनि सम्झना आइरहेको छ ।
यद्धपि हामीले अफवाह पत्याइदिएको हुनाले सिर्जना हुने मानसिक तनावले कोहि कसैले भीमसेन थापाको नियति व्यहोर्ने अवस्था हामिले खोजेको पक्कै हैन होला नै । कि कसो ?
प्रतिक्रिया