US Khabar
  • आफैंमा प्रश्न गरौं–हामी केका लागि आपसमै लडिरहेका छौं ? हामीले कस्तो एनआरएनए खोजीरहेका छौं ?- गौरीराज जोशी

    - Admin | २ महिना पहिले प्रकाशित

    आफैंमा प्रश्न गरौं–हामी केका लागि आपसमै लडिरहेका छौं ? हामीले कस्तो एनआरएनए खोजीरहेका छौं ?- गौरीराज जोशी

    गैर आवासीय नेपाली संघ (एनआरएनए) साँच्चीकै कस्तो हुनुपर्छ ? केही वर्ष यतादेखि यो प्रश्नको जवाफ मैले पटक पटक आँफैभित्र खोज्ने प्रयत्न गरेको छु । अझ हिजोआज झन गहिरोरुपमा यो प्रश्नको जवाफ खोजीरहेको छु । पछिल्लो समय प्रतिनिधी छनौटको विषयलाइ लिएर परराष्ट्र मन्त्रालयसम्म पुर्‍याइएको अनावश्यक बिवाद र निर्वाचनका समयमा देखिने तनावले गिराएको यो संस्थाको शाखले लाखौं गैर आवासीय नेपाली जस्तै मलाइ पनि सोच्न, आफैंमा प्रश्न गर्न र जवाफ खोज्न बाध्य बनाएको छ ।

    समयक्रममा दिन प्रतिदिन पूर्णत सँस्थागत बन्दै जानुपर्ने एनआरएनए, झन झन अराजक र बिवादित बन्दै गैरहेको जस्तो देखिनु चिन्ताको विषय हो । यो चिन्ताको विषयसँगै – कस्तो एनआरएनए ? कसका लागी एनआरएनए ? किन एनआरएनए ? भन्ने प्रश्न उब्जिएको छ ।

    यसैपनि, अक्सर मान्छेहरु ठान्छन – एनआरएनका नेतृत्वकर्ताहरु मात्र पैसाका बलमा चलेका छन् ।

    हुनपनि कतिपय अवस्थामा पैसाको राप र तापको खेल र नेपाली राजनीतीको छायाँ यसमा परेको जस्तो देखिन्छ पनि । यो पारा यस्तै रहने हो भने आगामी दिनमा एनआरएनएले अझ बढी विश्वास र सम्मान गुमाउने छ ।

    यसैले अहिले आफ्नो व्यक्तिगत अहम, तुष्टि र महत्वाकांक्षालाइ छाडेर एनआरएनएको शाखलाइ फेरि माथि उठाउन पहल गर्नुपर्ने बेला आएको छ । जति ढिलो गर्‍यो र बिवादहरु बढायो, त्यत्ती त्यो तन्किंदै जान्छ । यसैले आजैदेखि सोचौं, ढिलो नगरौं । आफैंमा प्रश्न गरौं–हामी केका लागि आपसमै लडिरहेका छौं ? हामीले कस्तो एनआरएनए खोजीरहेका छौं ?

    अरुको बारेमा म भन्न सक्दिन । मेरो हकमा, हिजोआज मलाइ पैसा र महत्वकांक्षाले भन्दापनि, यस्तो भावानाले बढी चलाउँछ, जो मेरो मातृभूमि नेपालसँग जोडिएको छ । यस्तो भावना, जो मेरो जन्मस्थल चितवनसँग जोडिएको छ । यस्तो भावना, जो मेरो जन्मस्थल वा त्यस वरपर सानो वा ठुलो सहयोग गर्न पाउँदा हुरुक्क् हुन्छ । यस्तो भावना जो भूकम्पले भत्काएका घर फेरि ठडिएको देख्दा फुरुंग हुन्छ । यस्तो भावना जो सुदुर पश्चिममा रक्त संकलन र संचीत गर्नका लागी ब्लड बैंक बस उपलब्ध गराउन पाउँदा अलीकती भने पनि सन्तोष मान्छ ।

    यस्तो भावना, जो सदैव कुनै न कुनै रुपमा मातृभूमि नेपाल र नेपालीसँग जोडिरहन चाहन्छ । यसैले त जब जब नेपालमा वा नेपालीमा कुनै खालका आपत्ती आइलाग्छन्, तब तब हामीलाइ सबैभन्दा पहिला छिटो छिटो आफु त्यहाँ पुग्न मन लाग्छ । मेरो बिचारमा, एनआरएन पैसा र लगानीको विषय मात्र भन्दापनि बढता भावनाको विषय हो ।

    पैसा त एनआरएनका संस्थापक उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्तहहरुले उतैतीर कमाएकै थिए । तर उनीहरु पैसालाइ छोडेर नेपाली भावसँग जोडीन चाहे । यही भाव, जसले एनआरएन जन्मायो । म पनि यसैसँग जोडीन चाहें र जोडिएँ । यसको ठुलो अर्थ छ । ठुलो अर्थ अर्थात हामी कसैगरेपनि नेपाल र नेपालीबाट टाढा छैनौं । हुने छैनौ । टाढा हुन चाहेरपनि टाढा हुनसक्ने छैनौं । एनआरएनको यो भन्दा ठुलो अर्थ अरु के हुन सक्छ ?

    मैले कती ठुलो वा सानो कम्पनी अमेरिकामा चलाइरहेको छु वा मेरो कम्पनीमा कतीले रोजगारी लिइरहेका छन ? यो मेरो निम्ति आजभोली त्यती ठूलो कुरा होइन । ठुलो कुरा यही हो कि म नेपाल र नेपालीसित कती नजिक छु । यही नजिक हुने एउटा असाध्यै महत्वपूर्ण अभियान हो एनआरएनए ।

    यस्तो एनआरएनए …….

    –बिवादभन्दा माथि
    –राजनीतीभन्दा पर
    –निरन्तर समाजसेवामा
    –समृद्ध नेपालकालागी–दिगो लगानी
    –जहाँ भएपनि सधैं नेपालीसँगै ।
    –मातृभूमि र कर्मभूमि बिचको पुल

    कोही मान्छे किन बिदेशीयो ? यसमा अनेक बहस र तर्कहरु हुन सक्छन् ।
    यो तर्क र बहसमा समय खचिर्नु भन्दापनि समय म खर्चिन चाहान्छु – बिदेशीएका म वा हामी जस्ता नेपालीले कसरी नेपाल र नेपालीलाइ सम्झिरहेका छौं ?

    हो, यही सम्झना मात्र पनि मेरोलागी एनअ।रएनए हो । एनआरएनलाइ म नेपालको पृथक विषय कदापी ठान्दिन । एनआरएनए नेपाल र नेपालीसँग असाध्यै जोडिएको जबर्जस्त भावनात्मक विषय हो ।

    तर भावानले मात्र न उताको जिन्दगी चल्छ, न यताको । भावनाका कुरापनि धेरै भैसके । अब एनआरएनले भौतिक रुपमा पनि देखिनेगरी मातृभूमिको समृद्धिमा योगदान गर्नुछ । दश अर्बको एनआरएनए नेपाल बिकास कोष यसको एउटा कोशेढुंगा हुन सक्छ भन्ने मेरो बिश्वास छ । यो कोष हामी गैर आवासीय नेपालीले नेपाल सरकार र नेपालीको मन जित्ने एउटा खुडकिलो हो भन्ने म ठान्छु । यसैले यो कोषलाइ सही, प्रभावकारी, पारदर्शी रुपमा प्रयोग गरेर देखाउने चुनौती हामी एनआरएन माथि छ । यसैले यो कोषलाइ अझ बढाउन, परिचालन गर्न र प्रतिफल प्राप्त गर्न बलियो संयन्त्र र विश्वाशिला आधारहरु खडा गर्नु जरुरी छ ।

    हुनत, समग्र राष्ट्रका लागि दश अर्ब साह्रै ठूलो महत्वको विषय नहुन सक्छ । तर यो अरु थप ठूला योगदानहरुको बाटो खोल्ने ढोका चाहीं पक्कै हो ।
    यसैले दश अर्बको नेपाल बिकास कोषलाइ गैर आवासीय नेपालीहरुले संवदेनशील रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।

    खासमा हामी गैर आवासीय नेपाली अर्थात एनआरएन भनेका पुल जस्तै हौं । यस्तो पुल जसले मातृभुमिका नेपालीलाइ कर्म भुमिका नेपालीसँग जोडछ । यस्तो पुल जसले वारीका नेपाली र पारीका नेपालीलाइ भावनात्मक र भौतीक दुबै रुपमा जोडछ, जोडिरहन्छ ।

    कसैले मलाइ अब कस्तो एनआरएन भनेर सोधे, म मात्र यत्ती भन्नेछु– पुल जस्तै । यताकालाइ पनि तार्ने, उताकालाइ पनि तार्ने ।

    यस्तो एनआरएनए, जो बिवादभन्दा माथी होस । राजनीतीभन्दा पर होस । निरन्तर समाजसेवामा समर्पित होस । समृद्ध नेपालकालागी–दिगो लगानी गरोस । जहाँ भएपनि सधैं नेपालीको दुख सुखमा साथै होस र मातृभूमि र कर्मभूमिको सम्बन्धको पुल बनोस ।

    (जोशी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सचिव र आगामी केन्द्रिय निर्वाचनमा महासचिव पदका उम्मेदवारपनि हुन्)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!