US Khabar
  • सस्थाको प्रतिष्ठा जोगाउने बेला आएको छ – लामिछाने

    - Admin | २ महिना पहिले प्रकाशित

    सस्थाको प्रतिष्ठा जोगाउने बेला आएको छ – लामिछाने

    आदरणीय अमेरिकावासी नेपाली जनसम्पर्क समितिमा आबद्ध सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु तपाईहरु सबैमा जय नेपालको न्यानो अभिवादन ।

    नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिवको हैसियतले यस संस्था भित्र भईरहेको बिभिन्न गतिविधिहरुको सम्बन्धमा तपाईहरुलाई जानाकारी गराउँनु मेरो पहिलो कर्तव्य संझिएर केही बिषयहरु उठान गर्दैछु।

    आदरणीय महानुभावहरु, जननायक बिश्वेश्वर प्रसाद कोईरालाज्यूले स्थापित गर्नुभएको नेपाली जनसम्पर्क समिति समयको क्रम र नेपालीहरुको जनघनत्वसंगै आज संसारको धेरै देशहरुमा फैलिएको छ। हामी बसोबास गरिरहेको देशमा समेत यो संस्था बिगत लामो समयदेखी कृयासिल छ।

    मुलत: अमेरिका एउटा संसारकै उत्कृष्ट प्रजातान्त्रिक अभ्यास भएको देश हो। यहॉं कानुन सम्मत बनाईएको बिधि र प्रकृयाको आधारमा सबै चिजहरुको निरुपण हुँदछ। सन् २०१४ को नोभेम्बर २२/२३ तारेख टेक्ससको डलासबाट निर्वाचित नेपाली जनसम्पर्क समिति अमेरिका सन् २०१६ को ओक्टुबर देखि बिधिवत ५०१ सी (३) अन्तर्गत दर्ता गरी सोहीनुसार कृयासिल छ भन्ने मेरो बुझाई हो।

    यदी, ५०१ सी (३) मा नै दर्ता भएको भएतापनि सन् २०१७ को अप्रिल २२ तारेख भर्जिनियाको मनाससमा गरिएको साधारण सभापछि कुनैपनि साधारण सभा गरिएको/ भएको छैन। यसरी दर्ता गरिएको संस्थाको अनिवार्य बार्षिक साधारण सभा हुनुपर्नेछ।

    अमेरिका जस्तो कानुनी देशमा बसेर पनि हामी जिम्मेवार मानिसहरुबाट नेपाली जनसम्पर्क समिति अमेरिकालाई आफ्नो ब्यक्तिगत संस्था जस्तो गरी चलाई राखेका छौ। तपाईहरुको मौनता पछिको कारणहरु मैले बुझेको छु। एकातिर ५०१ सी (३) मा संस्था दर्ता गर्ने र अर्को तर्फ सोही दर्तानुसारको नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा नेपाली कॉंग्रेस पार्टीको पनि इकाई यही हो भन्ने दोहोरो चरित्रले गर्दा हामीलाई थप संकट तर्फ धकेल्दै छ भन्ने मेरो ठम्याई हो।

    नेतृत्वमा पुगेपछि नेतृत्व मै बसी राख्ने सोंचलाई नै मान्ने हो भनेपनि कम से कम यहॉंको कानुनत दर्ता भएको संस्थालाई सोहीनुसारको बिधि र पद्धति अनुसार अगाडी बढ्न दिनुपर्ने होईन … ??? यो गाम्भीर्यताको उत्तर कसले दिने हो। अहिले नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनलाई आधार बनाई नेपाली कॉंग्रेस जस्तो लोकतान्त्रिक पार्टीको साखलाई यति ठुलो बिकसित देशमा बसेर निर्लज्ज ढंकबाट जसरी उपहास गरिदैछ यसले आम लोकतन्त्रप्रेमीहरुको मनलाई क्षयिकरण गरेको छ।

    हाक्काहाक्की बिधि सम्मत नेपाली कॉंग्रेसको कृयासिल सदस्यता र नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता बितरण गरी पारदर्शिता सहित अघि बढ्दै अमेरिकाभर सकृय सबै च्याप्टरहरुको अधिवेशनबाट नयॉं नेतृत्वहरु स्थापित गर्दै केन्द्रीय अधिवेशन गर्नुको सट्टा लुकीछिपी कृयासिल सदस्यता बाढ्दै गैह्र कानुनी तरिकाबाट रकमहरु संकलन गरी नेपाली कॉंग्रेस पार्टी समेतलाई भविष्यमा बद्नाम गर्नेगरी अँध्यारो कुनाबाट रचिएको षड्यन्त्रलाई चिर्न म तपाईहरु सबैलाई एकाकार हुन यसै मार्फत हार्दिक अपिल गर्दछु।

    तपाई हामी सबैको बिचारको प्रतिबिम्ब हो, नेपाली जनसम्पर्क समिति अमेरिका। यसमा हामीहरु सबैजना चनाखो भई कानुन बिधि प्रकृया र पद्धति बिपरित गरिएको सबै निर्णयलाई प्रतिवाद गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउन गरी अगाडी बढ्न पुनः एक पटक आह्वान गर्दछु।

    जय नेपाल !!!

    कृष्ण प्रसाद लामिछाने
    संस्थापक महासचिव
    नेपाली जनसम्पर्क समिति अमेरिका।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!