US Khabar
  • जीउँदा ईतिहास संस्कृतीबिद डा. सत्यमोहन जोशीलाई खोज्दै जाँदा…….

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    जीउँदा ईतिहास संस्कृतीबिद डा. सत्यमोहन जोशीलाई खोज्दै जाँदा…….

    बिबेक चन्द ठकुरी (मध्यपस्चिम,नेपाल)

     

    हाम्रा जिऊंदो ईतिहास जसलाई हिजो केवल किताबका पानमा फोटो हेर्दै उहॉका बारेमा लेखिएका अक्षर पढेको म आज प्रत्यक्ष भेट्ने फोटो खिच्ने र समय मिले छोटै भएपनी संबाद गर्ने हुटहुटी लिई ललितपुरको बखुम्बहालको गल्लीतिर हुईकीन्छु । “संस्कृतीबिद” मा. डा. सत्यमोहन जोशीज्युको पबित्र धार्मिक तिर्स्थस्थलको रुपमा बिकसित हुँदै गएको बासस्थान जहॉ उहॉ जन्मनु भयो, हुर्कनु भयो, शिक्षा-दिक्षा लिई देश र दुनियालाई बुझ्ने बुझाउने गर्नु भयो त्यसै स्थानमा पुग्न सजिलो लोकेसन बंगालामुखी मन्दिरबाट कृष्ण मन्दिर जाने बाटो हुदै कृष्ण मन्दिरकै प्रांगणबाट बॉयॉ थोरै उत्तर पुर्बको गल्ली हुदै सिधै ३०० मिटर जति अगाडी आईपुगे पछी सानो शिबमन्दिर छेवैको गल्ली बाट दॉयॉ भित्र फर्किदा उहॉको निवाशको प्रबेश द्वार स्पस्टै देखिन्छ । त्यही द्वारबाट भित्र प्रबेश गरी सके पछी सानो सफा र मनोरम प्राकृतिक सुन्दरताले भरिएको खुल्ला बगैंचा संगै जोडिएका जोडी घरनै उहॉको हो जुन मेरो पनी गन्तब्य थियो ।

    त्यहॉ पुग्दा अत्यन्तै सरल र साधारण एउटा सुरुवाल र कोठे बाक्लो कमिज र भर्खरै कसैले सम्मान स्वरुप पहिर्याईदिएको ढॉकाको खादामा साधारण चप्पल लगाई आफ्नै त्यही मनोरम बगैचामा टहल्लीरहेको उहॉलाई पाए । मैले नमस्ते! भनी दुईहात जोडी अत्यन्तै श्रद्धाले शिर झुकाएँ ! मन्द मुस्कानका साथ मेरो आदरभावलाई स्विकार्नु भएका उहॉ सताप्दी बर्ष पुगेका मान्छेलाई दर्शन भेट गर्न, समिप्यता संगै छेऊमै बसी फोटो खिच्न पाउनु आफैमा बिरलै अवसर माथी ति पुरुष जो यो देश र समाजका धरोहरलाई मैले भेटे, केही संबाद गरें, फोटो खिचाएँ , यो नै मेरो अहो-भाग्य थियो । थोरै ब्यस्तताका कारण उहॉ छुट्टीएपनी उहॉका केही छिमेकी र भान्जा नाता पर्ने (सनम साक्य) संग बसी उहॉका बारेमा यति आलेख तयार पार्न भने भ्याए ।

    पिता शंकरदास जोशी र माता राजकुमारी जोशीका कोख बाट बि. सं. १९७७ बैशाख ३० गतेका दिन ललितपुर जिल्लाको बखुम्बहाल भन्ने ठॉउमा जन्मनु भएका संस्कृतिविद् सत्यमोहन जोशी मैले यो लेख तयार पार्दाको दिन अर्थात आज बैशाख ३० गतेका मितिबाट १०० बर्षमा टेक्नु भएको छ । उहॉको नाम सम्झनेबित्तिकै हरेक नेपालीहरुको शिर श्रद्धाले झुक्छ । सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय उहॉ शतायुमा आइपुग्दा पनि उत्तिकै चिन्तनशील हुनुहुन्छ र अझैं मानव हितमा क्रियाशील पनी हुनुहुन्छ । हरेक मान्छेको चाहना हुन्छ– सुखी बन्ने, कोही आफ्नो र परिवारको स्वार्थमा मात्र सुख भेट्छन् भने कोही पर-कल्याणमा, आफ्ना लागि त पशु पनि बाँच्छ, समाजका लागि बाँच्नेहरू महान् हुन्छन् उहॉ आफै यसो भन्नुहुन्छ । सादा जीवन उच्च विचारले उहॉको जीवन सार्थक भएको मैले उहॉलाई प्रत्यक्ष भेट्दा प्रष्टै पाए । जुरेली दर्शन पच्छाएकैले उहाॅलाई आत्मसन्तुष्टि मिलेको छ । नेपाली समाजले उहॉलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनेर सम्बोधन गर्दछ । संस्कृति, कथा, कविता, उपन्यास, नाटक आदि वाङ्मयका विभिन्न फाँटमा अतुलनीय योगदान पु-याएकाले उहॉलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनिएको हो ।

    नेपाली साहित्य जगतामा ‘मदन पुरस्कार’ को उच्च सम्मान छ । जुन पुरस्कार पाउँदा स्रष्टाहरूको उचाइ बढ्ने नै भयो र लोकप्रियता पनी चुलिन्छनै । त्यही पुरस्कार एक पटक होईन तिन-तिन पटक पाउने एकल भाग्यमानी उहॉ मात्रै हुनुहुन्छ । यो भाग्यरेखा भावीले कोरिदिएको नभै उहॉ आफैँले कोर्नुभएको हो । त्यसैलेत आज नेपाली साहित्यिक ईतिहॉसमा उहॉको नाम स्वर्णक्षरित बनिरहेको छ । निरन्तर साधना र सत्कर्मबाट भाग्य चम्कन्छ उहॉ भन्नुहुन्छ र उहॉको जीवनले पनी यही देखाउँछ । मान्छेको मूल्याङ्कन आयुबाट होइन, योगदानबाट गरिन्छ । ऊ कति वर्ष बाँच्यो भन्दा पनि कसरी बाँच्यो भन्ने महत्वपूर्ण हुन्छ । ’वाङ्मय शताब्दी पुरुषले’ सय वर्षमा पाइला टेक्दै गर्दा समाज र राष्ट्रलाई योगदान गर्न बुढ्यौली बाधक बनेको छैन भन्नुहुन्छ । उहॉको जीवन कथाले राष्ट्रियता र संस्कृतिप्रति प्रेम गर्न प्रेरित गर्दछ ।

    शताब्दी पुरुषको जीवन आफैँमा एउटा खुल्ला विश्वविद्यालय बनेको छ । एउटा मान्छेले जीवनमा कति धेरै सत्कर्म गर्न सक्छ भन्ने उदाहरण खोज्नेले सत्यमोहन जोशीका बारेमा पढे पुग्छ । उहॉले पहिलोपटक मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोकसंस्कृति’ हो । नेपालको पस्चिम तथा मध्यपस्चिमका लयहरु संकलन गरिएका झ्याउरे, दोहोरी र लोकगीत समेटिएका छन यसमा, यसैले उहॉलाई २०१३ सालको मदन पुरस्कार दिलाएको थियो । त्यसपछि उहॉले २०१७ सालमा फेरि मदन पुरस्कार पाउनुभयो । ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि, त्यसमा नेपालको प्राचीनकालदेखि पुस्तक लेखुन्जेलसम्मका मुद्राको संकलन, अन्वेषण र अध्ययन गरेर सचित्र वर्णन गरिएको छ । तेस्रोपटक २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उहॉ सहित पॉच जनाले संयुक्तरूपमा मदन पुरस्कार पाउनुभयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बेला उहॉले नेतृत्व गरेको समूह (भाषाशास्त्री चुडामणि बन्धु, भूगोलविद जंगबहादुर सिंह, गायक प्रदीप रिमाल र सरकारी कर्मचारी बिहारीकृष्ण श्रेष्ठ) सहित उहॉ नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिञ्जा उपत्यका पुग्नु भएको थियो । उहॉहरुले त्यहा दुई महिना बसेर पॉच खण्डको ग्रन्थ ‘कर्णाली लोकसंस्कृति’ लेख्नु भएको थियो । यसरी लोकसाहित्य मात्र होइन, अन्य सांस्कृतिक र पुरातात्विक सम्पदाको खोज तथा अनुसन्धानमा समेत उहॉको गहिरो लगाव रहेछ ।

    नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वस्वरप्रशाद कोईरालाको शासनकालमा उहॉ पुरातत्व विभागका महानिर्देशक हुनुभएको थियो । त्यतिबेला उहॉले महत्वपूर्ण काम गरेको इतिहास छ । तत्कालीन समयमा छाउनीमा मात्र संग्रहालय थियो । उहॉकै पहलमा हुनमानढोकामा “राष्ट्रिय मुद्रा संग्रहालय”, भक्तपुरमा “राष्ट्रिय चित्र संग्रहालय” र ललितपुरमा “राष्ट्रिय धातुकला संग्रहालय” खोलियो साथै भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको उत्खनन् पनि उहॉकै सकृयतामा गरियो । अर्को कुरा, उहॉले नेपाल भाषामा एउटा महाकाव्य पनि लेख्नु भएको छ जुन नेपाल भाषा उत्थानका लागि नेपाल भाषा एकेडेमी स्थापना गर्नमा उहॉकै योगदान र उल्लेख्य भुमीका रहेछ । उहॉले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बसेर पनि महत्वपूर्ण काम गर्नु भएको थियो । बि. सं. २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गर्नुभएका उहॉ त्यहीबेला कर्णालीको खोजमा निस्कीदा, त्यसबाट ठूलै उपलब्धि पायो मुलुकले । पछि सूर्यविक्रम ज्ञवाली कुलपति हुँदा उहॉ सदस्यसचिव बन्नु भयो । उहॉकै सोच अनुशार प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नाटक महोत्सव गर्न थाल्यो, महोत्सवमा उहॉका केही नाटक पनि मञ्चन गरियो । महोत्सवले नाटक मोह जगाउने काम गरेको थियो त्यतिबेला । पञ्चायतकालमा पञ्चायतविरुद्ध व्यंग्य गर्ने कार्यक्रम ‘गाईजात्रा महोत्सव’ उहॉकै निर्देशनमा बि. सं. २०३५ साल बाट सुरु भयो । उहॉ सस्थापक रहेको ‘गाईजात्रा-महोत्सव’ को परमपरा हाल सम्मै कायम छ । यसरी हेर्दा सत्यमोहन जोशीमा विद्रोही चेत पनि देखिन्छ । राष्ट्रिय विभूति अरनिकोको खोजी गर्दै पहिलो पटक बि. सं. २०१६ सालमा चिन सम्म पुग्ने अभियन्ता पनि उहॉनै पहिलो हुनुहुन्छ । १३औँ शताब्दीमा नेपालबाट चीन पुगेका कलाकार अरनिकोले उता चिनमा स्वेत चैत्य बनाएका थिए । जोशीले चीनबाट फर्केर ‘कलाकार अरनिको’ नामक पुस्तक लेख्नु भयो । कलाकार अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गराउनुमा उहॉको खोजले ठुलै योगदान गर्यो । पछि २०१९ सालमा चिनिया सरकारको निम्तोमा त्यहाँका नागरिकलाई नेपाली भाषा सिकाउन जानुभएका उहॉले चार वर्षसम्म र बि. सं. २०३६ सालमा फेरी २ बर्ष बसेर नेपाली भाषा सिकाउनु भयो । चिनबाट फर्केपछी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा नेपाल भाषा पढाउन थाल्नु भएका उहॉको औपचारिक शिक्षा स्नातक तहसम्ममात्र हो । नेपाली मौलिकता खोजी गर्ने र त्यसको गोडमेल गर्ने माली हुनुहुन्छ सत्यमोहन जोशी, उहॉका ७० भन्दा बढी बिभिन्न कृति प्रकाशित छन् । उहॉले अंग्रेजी र नेपाली दुबै भाषामा थुप्रै निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक पुस्तकहरु पनी लेख्नु भएको छ । उहॉले नेपाली भाषामा लेखेको “याज्ञबल्क्य” नाटक प्रर्यटन तथा संस्कृति मन्त्रालयले “संस्कृत” भाषामा प्रकाशन गर्दैछ । उहॉको लेखन यात्रा अविराम छ । बि. सं. २०७३ सालमा निस्केको “नेपाली कलाको रूपरेखा” मा प्राचीन र मध्यकालीन कलाको सचित्र जानकारी पस्किनु भएको छ, त्यस्तै कवि अनिल पौडेलले उहॉको जीवन दर्शनमा आधारित पुस्तक “जुरेली दर्शन” छाप्नु भएकोरहेछ जुन मैले पनी पढ्ने मौका पाए ।

    नेपाली समाजमा मरेपछि मात्र गुनगान गाउने चलन छ तर केही वर्षयता भने जिउँदैमा सम्मान गर्ने थिति बसेको छ, यो निकै सुखद सन्देश हो । उहॉलाई राज्यबाट प्रख्यात त्रिशक्तिपट्ट, सुप्रबल गोरखा दक्षिणबाहु, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, महाउज्ज्वल राष्ट्रदीपसहित वाङ्मय शताब्दी पुरुष जस्ता सम्मानले सम्मानित गरीएको छ । अन्य थुप्रै साहित्यिक तथा सांस्कृतिक पुरस्कार बाट सम्मानित उहॉलाई नागरिकस्तरबाट पनि मान-सम्मान भैरहेको छ । सबैभन्दा ठूलो कुरात उहॉ जनजनको मनमा बस्न सफल हुनुहुन्छ । गत वर्ष मात्रै पनी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा गठित सत्यमोहन जोशी अभिनन्दन समारोह समिति मूल आयोजक र काठमाडौँ महानगरपालिका सहआयोजक भएर उहॉको भब्य अभिनन्दन गरिएको थियो । उहॉको रथारोहण पनि भइसकेको छ ।

    तिन छोरा र तिन छोरीका पिता उहॉलाई उमेरले बूढो भए पनि सक्रियताले तन्नेरी बनाएको छ । दिनैजसो साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा प्रमुख अतिथिको निम्तो आईरहेको हुन्छ । समयले भ्याएसम्म आमन्त्रित ठॉउमा पुग्नुहुन्छ र आफ्नोपनमा गौरब गर्न हुट्हुटी बढाउँनुहुन्छ । मञ्चमा उहॉ उभिँदा मात्रै पनी कार्यक्रमको गरिमा ह्वात्तै बढेको अनुभुती गर्छन आम नागरीक, हरपल दौरा–सुरुवाल, खैरो टोपी र कोटमा ठाँटिने उहॉ बिगतमात ठमठमी हिँडेरै कार्यक्रमहरूमा पुग्ने गर्नुहुन्थ्यो । केही वर्ष अघी ललितपुर महानगरपालिकाले उहॉलाई गाडी सुविधा दिएको छ, त्यसैले आजभोली भने त्यसमै आवतजावत गर्नुहुन्छ । ललितपुर महानगरपालिकाले “वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र” स्थापना गर्दैछ । नगरपालीकाले आजै वैशाख ३० गते देखि वर्ष दिनसम्म जोशीको शतायु कार्यक्रम मनाउँदैछ । ललितपुर महानगरभित्र जोशीको प्रतिमासहित पार्क निर्माण पनी गर्दैछ । यसरी राष्ट्रिय ब्याक्तित्वलाई ज्युँदैमा सम्मान गर्ने सबैलाई हार्दिक नमन !!! उहॉको विचार, व्यवहार र जीवनशैलीमा प्रष्टै नेपालीपन झल्किन्छ । पाटनको नेवारी समाजमा जन्मे-हुर्केका जोशीमा बाल्यकालदेखि नै सांस्कृतिक प्रभाव प-यो । समयक्रममा त्यही माहौललेनै उहॉलाई सांस्कृतिक अभियन्ता हुदै सांकृतिबिद बनाइदियो । उहॉ भन्नुहुन्छ मान्छे सांस्कृतिक पहिचान, भाषा र तद-अनुरुपको जिबनशैलीले मात्र पूर्ण बन्छ । उहॉ आफुत पूर्ण बन्नुनैभयो अरुलाई पनि त्यही बाटोमा हिँड्न प्रेरित गर्नुहुन्छ । त्यसैलेत आज ललितपुर स्थित बखुम्बहाल उहॉको निवासनै तीर्थस्थल बनिसक्यो ।

    उहॉले घरको आँगनमा आफ्ना माता र पिताको अर्धकदको प्रतिमा बनाउनु भएको छ । दैनिक बिहान माता-पिताको प्रतिमामा तर्पण दिनुहुन्छ । यो उहॉको माता पिता प्रतिको श्रदाभक्ति हो । त्यसरीनै हरेक साँझ आरती गर्नुहुन्छ । आफूभन्दा पाँच वर्ष कान्छी जीवनसाथी राधादेवीसँगै त्यही तीर्थस्थलमानै बस्नुहुन्छ उहॉ । उहॉको जीवन संघर्षलाई सफल र सार्थक बनाउन धर्मपत्नी राधादेवीको ठूलो सहयोग मिलेको छ । मैले नमस्ते गरी दुईहात जोडी एउटा तस्बिर लिने अनुमति माग्दा उहॉको भद्रपन र शालिनता बुढेउली अनुहारमा छरिएको मुस्कानले प्रष्टै पार्दथियो । जे होस सत्यमोहन जोशीको जीवनकालमै त्यो ललितपुरको बखुम्बहाललाई ‘वाङ्मय शताब्दी पुरुष खुला संग्रहालय’ का रूपमा विकास गर्न पाए राम्रो हुन्थ्यो । त्यसो गर्न सकियो भने मुलुकभित्रका मात्र होइन, बाहिरका नेपाली समेत त्यो तीर्थमा धाइरहन्थे, ज्ञानगुनका कुरा बटुलिरहन्थे । मान्छे कति वर्ष बाँच्छ ? कसैले भन्न सक्दैन, ५ वर्षअघि फोक्सोमा पानी जमेर अस्पतालको बेडमा पल्टिएका बेला मनले भन्थ्यो ‘अब मरिन्छ कि!’ मृत्युलाई जितिसकेका उहॉलाई मृत्युदेखि खासै डर छैन अब, मर्नु त एकदिन पर्छ नै, जीवनमा जति कमाए पनि साथमा केही लान पाइँदैन भन्नुहुन्छ उहॉ ।

    एक टेलीभिजनको अन्तरबार्तामा उहॉले बडो रोचकका साथ राणा शासक देखी चारपॉच वटा राजाको शासन देखेको भोगेको आखिर तिनिहरुको बिलाशी जिबन शैली थियो, तिनिहरु सबै मरेर गए के लगेर गएत पनी भन्नु भएको थियो । त्यसैले धर्तिमा जसरी आयो उसैगरी जानुपर्छ । बुढ्यौलीलाई भगवानकै वरदान ठानेका उहॉले मान्छेले आफूलाई चिन्न सके आत्मसन्तुष्टि मिल्छ भन्नुहुन्छ । हामीले आफूभित्रको देवतालाई चिन्नुपर्छ’, भेट र कुराकानीकै क्रममा उहॉले भन्नुभयो की, मान्छेले सबै भन्दा पहिला आफूले आफैँलाई चिन्न सके आनन्द मिल्छ । जिन्दगीको यात्रामा कहिलेई फुर्सद पाएको अनुभुती नगर्ने उहॉलाई शिखरबाट फर्केर हेर्दा जीवन सफल भएको अनुभूति हुन्छ रे । उहॉले धेरै सुकर्म गरेका मध्य “कर्णालीको लोकसंस्कृति” अध्ययनबाट बढी सन्तुष्ट मिलेको रहेछ । कुरा कानी कै बेला म पनी उतै कर्णाली मध्यपस्चिम क्षेत्रको परे हजुर मैले भन्दा, उहाॅले ओहो! हो र ? कर्णालीनै हो हाम्रो आस्था भाषा-संस्कृतीक धरोहर, हामी आज जो-जो जहाॅ र जे भए पनी हाम्रो सांस्कृतीक धरातल कर्णाली अर्थात मध्यपस्चिमनै हो । मलाई पनी कर्णालीको कामलेनै चिनायो र मलाई सबैभन्दा धेरै सन्तुष्टि कर्णालीलेनै दिलायो भनी कर्णालीको बडो तारिफ गर्नुभयो । मैले पनी गर्वले छाती चौडा बनाउने मौका पाए ।

    उहॉलेनै संकलन गरेका लोकगीतले भन्छ– ‘के खायो होला के लायो होला वनकी चरीले..।’ यद्यपि ती चरा सुखी देखिन्छन् । जोशीले जुरेली चरीलाई आफ्नो गुरु मान्नुहुन्छ । बनकी जुरेली चरी कठ्ठैऽऽऽऽ जसलाई भोलिको कुनै चिन्ता छैन, आनन्दपूर्वक बाँच्छे । त्यसैगरी बाँचिरहनु भएको छ उहॉ, कहिल्यै तनाव नलिइ, हाम्रो देश नेपाल जातीय विविधताको साझा फूलबारी हो, हरेक जात-जाति र भाषाभाषीको समृद्धि, समभाव र आपसी सद्भावबाट मात्र मुलुक समृद्ध बन्छ । सॉच्चीकै उहॉको जीवन दर्शनले ‘पहिला हामी नेपाली’ भन्ने बुझाउँछ । राष्ट्रियताको डोरी झनै कसिलो बनाउन योगदान गरेकालेत होला उहॉलाई सम्झँदा गर्वले हृर्दय नै बिशाल बनाई र श्रर्दाकासाथ शिर निहुर्याई मनभरी फुल चढाउन मन लाग्छ ।

    अन्त्यमा फेरी पनी हाम्रा “वाङ्मय शताब्दी पुरुष” को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु !!!

    मैले यो लेख २०७६ साल बैशाख ३० गते उहाॅकै निबासमा गएर उहाॅलाई प्रत्यक्ष भेट र बार्तालाप गरेको आधारमा तयार पारेको थिए । यो सालको बैशाख ३० गते देखी उहाॅको उमेरले १०१ बर्षको यात्रा तय गरेको छ । फेरी पनी उहाॅलाई दिर्घ जिवनको शुभकामना !!!

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">