US Khabar
  • पर्खाइमा रहेका मनहरू [ अनुभूति ] सविना मल्ल

    - सविना मल्ल | ३ हप्ता पहिले प्रकाशित

    पर्खाइमा रहेका मनहरू  [ अनुभूति  ]  सविना मल्ल

    ओहो ! हेर्दाहेर्दै छोरो घर बसेको नि ठ्याक्कै दुई महिना भएछ। पहिले पहिले समय बिताउन छट्पटाउने ऊ आजकल सजिलै दिन कटाउन बानी परेको छ। स्कुल खुल्ने दिन सोध्दा सोध्दा थाकेको ऊ हिजोआज त स्कुलको बारेमा  प्रश्न गर्न नि छोडेको छ। साथीहरूसँग खेलेर रमाउने ऊ कहिलेकाही अनलाइन कक्षामा जुम एप मार्फत रमाउन थालेको छ। स्वतन्त्र पंछी झैँ रमाउन चाहने ऊ एउटा बन्द कोठाभित्र कैदी जीवन जिउदा नि हर्षित देखिन्छ किनकि उसलाई अब थाहा भैसकेको छ कि स्कुल खुल्ने न त कुनै टुंगो छ न त कोरोना निर्मुल हुने उपाय नै छ। घरभित्र बस्नु भन्दा अरु कुनै विकल्प छैन। हुँदा हुँदा त्यसमा नि करिब अढाई महिनाको गर्मी बिदा (Summer vacation) छिट्टै  सुरु हुँदैछ।
    हुन त देश विदेशमा कोरोनाको संक्रमणले तीव्र गति लिए सँगै मनमा भुँइचालो नआएको होइन। कोरोना संक्रमणकालको पूर्वार्धमा जसरी मन हतोत्साहित थियो बिस्तारै अहिले संक्रमितको संख्या नघटे पनि मनको आँधी हुरी कम हुँदै गएको छ। साँच्चिकै भनौं भने सुरुवाती दिनमा समाचार पढेर अतालिएको मन हिजोआज बिस्तारै शान्त हुँदै गएको छ। सम्झिदै छु यति बेला कयौं रातहरु अनिद्रासँगै बिते छट्पटीका साथ। सायद सयौं पटक कोरोनाको अपडेट चेक गरियो होला हेक्का राखी साध्य छैन। घरबाट फोन नआएको कुनै दिन थिएन। यसो भिडियो  कल गर्यो बुढा बाआमाको अनुहारमा उहीँ मलिनता। न कुनै हर्ष न त कुनै विस्मात! सत्तरी वर्ष काट्नुभएका बुवा (ससुरा) को अनुहार हेर्दा लाग्थ्यो सायद उहाँ आफ्नो मनभित्र थाम्नै नसकिने पीडा लुकाएर यो संकटको घडीमा आफ्ना सन्ततिको हात थाम्न ईश्वर पुकारीरहनुभएको छ। आमाहरू(आमा अनि सासुआमा) को बोली सुन्दा प्रष्ट थाहा पाइन्थ्यो उहाँहरुलाई आँसु लुकाउन सकस परिरहेको छ। उहाँहरूको शब्दैपिच्छे पिडा झल्किन्थ्यो। मनभित्र जति नै सन्तानप्रतिको चिन्ता भए पनि नआत्तिन सम्झाउनुहुन्थ्यो। सबैको एउटै सुझाव हुन्थ्यो काम नगर घरै बस। हो सुरु सुरुमा कोरोनाले होइन बरु मनभित्रको भयानक भयले सबैलाई सिकिस्त पार्दै थियो। म लगायत कयौं नेपालीले कोरोनाले हतोत्साहित भएर काम छोडेर नबसेको पनि होइन तर अनिश्चितकालिन बसाई भएपछि धेरै जसो नेपालीलाई काममा फर्किनुपर्ने विवशताले छाएको छ।
    यहाँ आफू नजिकै भएका आफन्ती अनि साथीभाइहरूसँग पनि सामाजिक दुरी कायम गर्न फोन अनि मेसेन्जरको सहायता लिनुपर्ने बाध्यता छ। धेरै भो मन हुँदाहुँदै पनि एकापसमा जमघट नगरेको अनि प्रत्यक्ष भेट्न नपाएको पनि। जानलाई सबै ठाउँ बन्द छ जताततै। सबैका थरीथरीका सपनाहरू चकनाचुर भएका छन्।

    मलाई लाग्छ परदेशीको पर्खाइमा औंला भाचेर दिन गन्दै बसेका कयौं बाआमाहरूका आशा निराशामा परिणत भएका छन्। घर जाने दिन कुरेर बसेका म जस्ता लाखौं नेपालीहरू क्यालेन्डर पल्टाउन छोडिसकेका छन्। परदेशीको मिलनको पर्खाइमा वर्षौं बिताएका कतिपय नारीहरूको चाहना कुण्ठित बनेका छन्।

    यो धर्तीमा पाइला टेक्नु अगावै विछोडिएका बाको मुख हेर्न उत्साहित ती सन्तानहरूको मनोकांक्षा अपूर्ण बनेका छन् । विदेशबाट स्वदेश फर्केर नयाँ जीवनको सुरुवात गर्न तम्तयार परेर बसेका कयौं युवायुवतीको सपनाहरू अधुरै रहेका छन्।
    किन हो किन हिजोआज मलाई आफ्नो होइन उल्टै घरपरिवार अनि आफन्तीको पिरले पिरोलिरहेको छ। अमेरिकाको दैनिक कोरोना अपडेट जाँच्ने यी आँखाहरु नेपालको अपडेट जाँच्न तत्पर छन्। धेरैजसो बिहान ढिलो खुल्ने मेरो आँखा आजकल नेपाल लाइभ हेर्नको लागि झिसमिसमै खुल्ने भएका छन्। कारण उहीँ छ अनि परिवेश उस्तै छ तर पिर फरक छ। यति बेला आफ्नो होइन आफ्नो पिरमा तड्पिरहेका आफन्तीको चिन्ताले भट्भटी मुटु पोलिरहेको छ। दम अनि रक्तचापले थलिनुभएका अनि बृद्धअवस्थामा सन्तानको पिरले गल्नुभएका बाआमाको थामी नसक्नु पिर छ मनमा। हरेक पटक अमेरिका अपडेट जोडघटाउ गर्ने म   दिनानुदिन नेपालमा बढ्दै गइरहेको संक्रमण संख्याको हिसाबकिताब गर्न थालेकी छु। मलाई सम्झाउने मेरा आफन्ती अनि साथीहरुलाई उल्तै सम्झाउन थालेकी छु। बिस्तारै आत्मबल थपिदै गएको छ ता कि कोरोनाको भयानक स्थितिलाई पनि सहजै जित्न सकिनेछ। देश विदेशमा स्थिति जे जस्तो भए पनि सुरुवाती दिनभन्दा सुस्त सुस्त जनजीवन सुधारमुलक बनेको अनुभूति हुँदैछ।
    आशा छ बिस्तारै रोगबाट सबैले मुक्ति पाउनेछौँ, साथीसँग खेल्न नपाएर घरभित्र कैदी जीवन बिताइरहेका केटाकेटीहरू छिट्टै हर्ष उमंग बोकेर पुनः विद्यालय फर्किनेछन्, परीक्षाको पर्खाइमा हतोत्साहित विद्यार्थीहरू उत्साहित बन्नेछन्, कयौं दिनदेखि छट्पटाइरहेका भोका पेटहरूले भरिने अवसर पाउनेछन्, महिनौंदेखि छुट्टिएका आफन्तीहरूको पुनः मिलन हुनेछ, चिसिएको चुल्हो बिस्तारै तातिनेछ, गुमेको रोजीरोटी मिल्नेछ, अवरुद्ध सम्पूर्ण कार्यहरू सुचारु हुनेछन्, अधुरा अनि अपूरा कामहरू पूरा हुनेछन्, मलिन अनुहारमा खुसी छाउनेछ अनि कोही कतै आफन्तीको विछोडमा भावविह्वल हुने दिन आउनेछैन्।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">