US Khabar
  • हिँउदको शासन

    - ©️शरद पोख्रेल | २ हप्ता पहिले प्रकाशित

    हिँउदको शासन

    यो आकाश
    यतिबेला क्रुर हिउँदे शासन चलाइरहेछ गाउँभरि
    र दिइरहेछ यातना
    जजसले दिएका थिए चुनौति – खुल्ला आकाशलाई
    जजसले निलेका थिए हर रात- आकाशीय सौन्दर्य
    जजसले गरेका थिए एकोहोरो प्रेम धरतीसँग
    जजसले गाँसेका थिए मितेरी सिरेटोसँग
    यो आकाश उनै प्रियजनहरूमाथि
    चलाइरहेछ हिउँदे शासन।
    तिमी अग्लो सहरलाई त के छ र
    अग्ला जुत्ता र बाक्ला ज्याकेटहरू छदैछन्
    ठाँटिएर हिड्न चिल्ला सडकहरू छदैछन्
    हेर्नलाई झिलिमिली जति पनि छ
    नहेर्नलाई कालो सिसा जति पनि छ
    गारो त होँचो गाउँलाई रैछ कुहिरोले सबै छेकिदिने
    अफ्ठेरो त पहाडलाई रैछ पहराले सबै हुत्याइदिने
    कुनाको कन्दरालाई रैछ जहिलै ओझेलिनु पर्ने
    नाङ्गा पैतालाले नछिचोली हुदैन अभावको शिखर
    नाङ्गो पेटले नभोगी हुदैन भोकको यातना
    नाङ्गा आँखाले नहेरी धर छैन बाध्यताको ताण्डव
    नाङ्गा छातीले नसहेरै हुदैन निर्मम शितलहर।
    तिमीलाई त के छ र ?
    भनौला आज मौसमले च्यालेन्ज गर्यो
    ठोकौला दुई चार बोतलहरू
    अनि गरौला हामी दुखेका कथाहरूमा भद्दा मजाक।
    तिमीलाई त के छ र?
    गाउँमा पुगौला र बाँडौला एकदुई सर्को उपहासको कम्बल
    खिचौला थुप्रै तस्बिर र पुगौला हरेक समाचारहरूमा।
    तिमीलाई त के छ र?
    पहाडमा जाउला र हिँउखेल खेलौला,
    तस्बिर खिचाउला र भनौला सञ्जालहरूमा –
    ‘स्वर्गको टुक्रा यही हो’।
    तर पहाडको यो सुदुर गाउँले मात्र भोगेको छ –
    हिउँदको यो कडा हिमपाते सजाय
    तिनै होँचा घरले मात्र निलेका छन् –
    कालजस्ता काला रातहरू
    तिनै क्षतविक्षत झुप्राहरूले मात्र सहेका छन् –
    पट्यारलाग्दो जिन्दगी
    तिनै पहाडी आँखाले मात्र देखेको छ हरदिन मृत्यु हुंकार
    तिनै हिमाली कानले मात्र सुनेको छ हररात शोक धुन
    भोग्ने गाउँलाई थाह छ हिमपातको कथा
    त्यही हिउँ खोतलेर निकाल्नुपर्छ भोलिको भान्सो
    त्यही हिउँ बालेर पकाउनुपर्छ नानीको लिटो
    त्यही हिउँ सोहोरेर हाल्नुपर्छ बस्तुलाई स्याउला
    त्यही हिउँ खानुछ
    त्यही हिउँ सुत्नुछ
    त्यही हिउँ बाँच्नुछ
    तर तिम्रो सहर बुझ्दैन हाम्रो कष्टकर ब्यथा
    लेख्दैन हाम्रो कथा
    गाउँदैन हाम्रो गीत
    सुन्दै सुन्दैन हाम्रो चिच्याई।
    यो आकाश हुनेखानेको हो
    हुँदाखानेको हुँदै होइन रहेछ
    यो धरती बाँच्नेहरूको हो
    बचाउनेहरूको होइन रहेछ।
    यो समय यस्तै छ
    यो बेला
    सहरबाट गाउँतिर पस्न सक्छ उत्सव यात्रा

    गाउँबाट घाटतिर झर्न सक्छ शव यात्रा।
    कामना छ
    तिम्रो सहर आगो बलेको देखेर घाटतिर भने नझरोस्।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!