US Khabar
  • पहिलो चरणको चुनावी अभियान सफलतापूर्वक सञ्चालन गरेर संसद भवन फर्किए ह्यारी भण्डारी

    - USKHABAR | १ हप्ता पहिले प्रकाशित

    पहिलो चरणको चुनावी अभियान सफलतापूर्वक सञ्चालन गरेर संसद भवन फर्किए ह्यारी भण्डारी

    दोस्रो पटक अमेरिकी सांसद पदको दावेदारी यात्रामा रहेका ह्यारी भण्डारी पहिलो चरणको चुनावी सहयोग संकलन अभियान सफलतापूर्वक सञ्चालन गरेर संसद भवन पुगेका छन् । मेरिल्याण्ड राज्यका सांसद भण्डारीले सन् २०२२ को नोभेम्बर ८ मा हुने निर्वाचनमा दोस्रो पटक सांसद पदका लागि दिंदै गरेको उमेद्वारी लक्षित सहयोग संकलन अभियानमा रहेका भण्डारी बैचारिक र आर्थिक अन्तरकृया तथा भेटघाट पछि पुन संसद भवन फर्किएका हुन् ।

    अमेरिकाबाट नेपालीहरुको प्रतिनिधित्व गर्दै आएका भण्डारीले केही बेर अघि आफ्नो चुनावी अभियानका सम्पन्न कार्यक्रमबारे संक्षिप्त जानकारी सार्वजनिक दिंदै आफु नेपाली भएकोमा फेरी पनि गर्वभाव ब्यक्त गरेका छन् । अमेरिकी संसद जस्तो उच्च पदमा निर्वाचित रहेपनि उनले आफुलाई नेपाली हुनुमा गर्व गर्दै आएका छन् । जसको उदाहरणमा उनका हरेक योजना र कार्यक्रम नेपाली लक्षित देखिदै आएका छन् । नेपाली धर्म, संस्कृती, भाषा लगायतका पक्षमा दर्विलो आवाज बनेका भण्डारीले आज सार्वजनिक गरेका वक्तव्यमा पनि नेपाली समुदायप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

    मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ मा बसोबास गर्दै आएका भण्डारी सन् २०१९ मा यही क्षेत्रबाट डेमोक्रेटिक पार्टीका तर्फबाट डेलिगेटमा निर्वाचित भएका थिए । उनि निर्वाचित क्षेत्र अमेरिकी नागरिकको वाहुल्यता भएको क्षेत्र हो । आप्रवासीको संख्या अत्यन्त न्युन रहेको यस क्षेत्रमा एसिया तथा प्रशान्त क्षेत्रका ३० देशबाट आएका आप्रवासीको जम्मा संख्या ६ प्रतिशत मात्र छ । नेपालीहरुको बसोबास अत्यन्त न्युन रहेको यस क्षेत्रबाट सन् २०१९ मा रिपब्लिकन पार्टीबाट १२ वर्षसम्म डेलिगेट रहेका प्रतिस्पर्धीलाई पराजित गरेर भण्डारी निर्वाचित भएका थिए ।

    सांसद भण्डारीद्वारा जारी वक्तव्य

    सपना देख्न नछोडौं, एक दिन अवश्य साकार हुने छ।

    पहिलो चरणको चुनावी सहयोग संकलन अभियान सफलतापूर्वक सञ्चालन गरेर संसद भवन आइपुगेको छु। अभियानमा सहभागी भएर यहाँहरूले गर्नुभएको सहयोग नेपालीले नेपालीका लागि दिएको आशिर्वादका रूपमा शिरोपर गरेको छु। म यो आशीर्वादको मर्यादा सदैव राखिरहनेछु, यहाँहरूलाई कहिलै निराश पार्ने छैन। सद्भावपूर्ण सहयोगका लागि धन्यवाद ।

    अबको तीन महिना जर्ज वासिङ्टन र जेफर्सनजस्ता अमेरिकी ऐतिहासिक पात्रहरूको विरासत रहेको यस गरिमामय संसदमा म एक नेपाली मन लिएर प्रस्तुत हुनेछु। यो मेरो पहिलो कार्यकालको अन्तिम संसद पनि हो। यस्तो अवसर फेरि नआउन पनि सक्छ। त्यसैले म यस संसद-शत्रको अधिकतम उपयोग गर्न कुनै कसर बाँकि राख्ने छैन।

    पहिलो कार्यकाल सुरूवात गर्दा अमेरिकामा पहिलो नेपाली डेलिगेटका रूपमा इतिहास बनिरहेको थियो, कार्यकाल सकिदै गर्दा अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदाय भिजिबल भएको छ। हामीले सपना देख्यौ भने ढिलो चाँडो पूरा हुन्छ भन्ने एउटा नजीर स्थापना भएको छ । र, व्यक्तिगत रूपमा मैले जुन अनुभव हासिल गरेको छु, त्यो मेरो र सबै नेपालीका लागि पूँजी भएको छ।

    संसद चलुञ्जेल मेरो व्यस्तता धेरै नै हुनेछ । म हरेक मिनेटको उपयोग गरेर नेपाली डेलिगेट क्षमतावान हुन्छन्, कर्मशील हुन्छन् भन्ने पुष्टी गर्न चाहन्छु । विदेशमा रहने हरेक नेपाली नेपालका सद्भावना राजदूत हुन् र उनीहरूले आफ्नो असल चरित्र र कर्ममाफर्त नेपाली राम्रा हुन्छन् भन्ने पुष्टी गर्न सक्छन् र गरिरहनुपनि पर्छ। यही नै एक नेपालीले आफ्नो मातृभूमिलाई दिन सक्ने सबैभन्दा ठूलो कुरा हो । संसद आउनुअगाडि विहानै बुबाआमाको चरण स्पर्श गरेर आशीर्वाद लिदै गर्दा मेरो मनमा यो भावना प्रगाढ रूपमा आइरहेको थियो।

    म जति नै व्यस्त भए पनि नेपालीको सेवाभन्दा ठूलो काम मेरा लागि केही हुदैन। मेरो आवश्यकता परेमा यहाँ मलाई कुनै पनि समय ४४३ ४०३ ९९८४ र ४४३ ७८८ ८३७० मा टेक्स्ट गर्न सक्नु हुनेछ । म यथाशक्य चाँडो यहाँको सम्पर्कमा आएर जे गर्न सक्छु, अवश्य गर्नेछु।

    अन्तमा, कोरोना कहरको कालो बादल फेरि पनि मडारिदैछ। यसबाट बच्ने एउटै सूत्र हो, आफू र अरूलाई माया गर्ने। यसले हामीलाई जिम्मेवार बनाउँछ। म यहाँहरू सबैलाई यो कालो बादलबाट टाढा रहन सफलता मिलोस् भन्ने कामना गर्दछु।

    मेरो हार्दिक आग्रह छ, सपना देख्न नछोडौं, एक दिन अवश्य साकार हुने छ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!