US Khabar
  • अप्ठ्यारो परिस्थितीमा सधैं अग्रपंक्तीमा उभिने आनन्द- US-संवाद || किशन रेग्मी||

    - Admin | ६ महिना पहिले प्रकाशित

    अप्ठ्यारो परिस्थितीमा सधैं अग्रपंक्तीमा उभिने आनन्द- US-संवाद || किशन रेग्मी||

    सबैको सपनाको देश भनिएको अमेरिका यतिबेला विश्वब्यापी महामारी कोभिड—१९ को चरम जोखिम बेहोरिरहेको छ । त्यसमा पनि न्यूयोर्क राज्य सबैभन्दा भयावह अवस्थामा रहेको छ जहाँ दर्जन भन्दा बढि नेपालीहरुले समेत यो रोगका कारण ज्यान गुमाउन पर्यो भने हजारौं नेपालीहरु समस्या र संक्रमणको पिडा खेपिरहेका छन् । यो पिडालाई महशुष गरेर यतिबेला न्युयोर्कमा कोरोना बिरुद्ध सचेतना समुह निकै सक्रियतापूर्वक नेपालीको सहयोगमा जुटिरहेको छ ।
    कोभिड १९ को ईपिसेन्टरका रुपमा रहेको न्यूयोर्क राज्यका नेपालीहरुको अवस्था अत्यन्त भयावह भएपछि राजनितीक आस्थाबाट माथी उठेर मानविय धर्म निभाईरहेको जन सम्पर्क समितीका अध्यक्ष समेत रहेका कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्टले त्यहाँ रहेका बिभिन्न राजनितीक र सामाजिक संघ संस्थालाई संयुक्त रुपमा नेपालीलाई सहयोग गर्ने प्रस्ताव राखेसंगै यतिबेला सबैजना नेपालीको सुरक्षा र हकहितमा जुटेका छन् । महामारी बढेसंगै समुदायलाई सहयोग होस् भनेर समुदायका अन्य संस्थाका अगुवा सामु यो प्रस्ताव राखेको फलस्वरुप कोरोना बिरुद्ध सचेतना सहयोग संघ गठन भएको छ जसले यहाँ रहेका पिडित नेपाली परिवार र बिद्यार्थीलाई स्वास्थ्य तथा खाध्य सामग्री बितरण गर्दै आईरहेको छ ।
    नेपालको सुदुरपश्चिमाञ्चल डोटी जिल्ला गड्सेरामा जन्मी बिगत२२ बर्षदेखी अमेरिकामा रहँदै आएका बिष्ट यतिबेला न्यूयोर्कमा छन् । जन सम्पर्क समितीको अध्यक्षमा निर्बाचित तथा नेपाली कांग्रेसको आमन्त्रीत केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेका आनन्द विष्ट सन् २००२ देखी क्रियाशिल रुपमा संस्थागत जिम्मेबारी निर्वाह गर्दै सामाजिक काममा सक्रिय नाम हो । गणतन्त्र प्राप्तीका लागि नेपालमा भएको २०६२÷६३ सालको जनआन्दोलनमा अन्तराष्ट्रिय जनमत सृजना गर्ने काममा आनन्दले अमेरिकाबाट अहम् भुमिका खेलेका थिए । कहिले संयुक्त राष्ट्रसंघको मुख्यालय त कहिले ह्वाईट हाउस अगाडि सयौंको संख्यामा नेपालीहरुले लिएर नेतृत्व गर्दै आनन्द आन्दोलनको अगुवाई गरेका थिए । युवा उमेरमा रहेका आनन्दलाई त्यतिबेला धेरै धम्की र प्रलोभन आउंदा पनि देशमा लोकतान्त्रीक गणतन्त्र नै प्रिय लागेर अग्रपक्तीमा लागेका थिए । देश र समुदायलाई पर्दा राजनीतिक र सामाजिक रुपमा सकृय हुने आनन्द राजनीतिक परिवर्तनका लागि मात्र नभएर महाभुकम्पका बेला पनि देशमै पुगेर सकृय रुपमा सहयोग गरेका थिए । हरेक समयमा निरन्तर संस्थागत र ब्यक्तीगत रुपमा नेपालीहरुको हक हितमा जुटिरहेका आनन्द नामले आनन्द भए पनि यतिबेला कर्मभुमी र जन्मभुमी लगायत संसाभर पिडामा रहेका ब्यक्तीहरु देखेर कसरी सहयोग गर्न सकिन्छ भन्दै आनन्दीत हुन नसकी दौडिरहेका छन् । यस पटकको यूएस संवादमा उनै बिष्ट संग उनको राजनितीक यात्रा, बर्तमान अवस्थाको संकट र भै रहेको सहयोग र समन्वय बिषयमा यूएस खबरकर्मी किशन रेग्मीले गरेको कुराकानी

    कुन कुन सामाजिक संस्थामा आवद्ध हुनुभयो ? 
    म सन् १९९८ को जुन महिनामा अमेरिका आएको हुँ । हर कोहिका लागि सुरुवाती दिनमा बिरानो नै लाग्छ परदेश । म पनि पनि अन्य नेपालीले झैं आफ्नै कर्ममा लागे २÷ ३ बर्ष । जव  २०६२÷ ६३ सालको जनआन्दोलनमा अन्तराष्ट्रिय जनमत सृजना गर्नुपर्ने भनेर कुरा आएपछि अमेरिकामा रहेरै पनि मेरो राजनितीक यात्रा सुरु भयो । जव तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको मुल्य र मान्यतालाई आँच आउने निर्णय स्वरुप कु गरेर एकतन्त्रीय सासनको नमुना प्रस्तुत गरे त्यो जायज थिएन । सहिदहरुको ठुलो संघर्ष र बलिदान पछि आएको ब्यवस्थाको खिलापमा भएको यो निर्णय बिरुद्ध प्रजातन्त्र पूर्नवहालीका लागि हामी देश बिदेशमा रहेका सबै एकजुट हुनु थियो । फलस्वरुप अन्तराष्ट्रिय जनमत सृजनाका लागि ज्ञानेन्द्र शाहको कदम बिरुद्ध नेप्लीज डेमोक्रयाट युथ काउन्सील नामक संस्थाको गठन गरेउँ हामीले अमेरिकामा । जसको अध्यक्ष म थिएँ । त्यहि संस्था अन्तरगत हामीले बिभिन्न बिरोध कार्यक्रम सहित अन्तराष्ट्रिय अभिमत बोलाउने काम गरेउँ ।  मेरो नेतृत्वमा सन् २००२ देखी संयुक्त राष्टसंघ अगाडी, ह्रवाईट हाउस, सिनेट हाउस अगाडी लगभग २२ बटा जति र्यालीहरु भए ।

    हरेक बर्ष संयुक्त राष्ट्रसंघमा सबै देशका राष्ट्राध्यक्ष आउँथे । त्यो बेला हामीले २००२ बाट २००६ सम्म निरन्तर नेपालको प्रजातन्त्र पुर्नवहालीका लागि दवाव दिने काम गरेउँ । अन्तराष्ट्रिय जनमत र अन्तराष्ट्रिय मानव अधिकारका निम्ती हामीले राष्ट्रसंघ र ह्वाईट हाउसमा संधै यो कुरा राखिरह्यौं ।  त्यसरी प्रजान्तन्त्र र मानब अअधिकारका लागि अमेरिकामा मेरो सक्रियता सुरु भयो ।

    जन सम्पर्क समितीको स्थापना र तपाँईको प्रवेश कसरी भयो ?
    त्यो समय तत्कालिन प्रधानमन्त्री गीरीजाप्रसाद कोईरालाले बिपि कोईरालाको राजनितीक जीवनलाई स्मरण गर्दै मलाई बिपीले नेपालको प्रजातन्त्र स्थापनाका लागि नेपालमा रहेका र भारतमा रहेका नेपालीहरुलाई कसरी प्रत्यक्ष संलग्न गराउने भनेर सुरु गरेको जन सम्पर्क समितीको अवधारणाको बारेमा बताउनु भयो । उहाँले डेमोक्रयाट काउन्सील छोड्नुस र जन सम्पर्क समितीमा नै काम गर्नुस भनेर उहाँले नै  सन् २००४ मा मलाई जनसम्पर्क समिती अमेरिकाको संस्थापक संयोजक तोक्नुभयो  र जन सम्पर्क समितीमा जोडिए म । यो अबधीमा ३ पटक सभापतिको जिम्मेवारीमा पाएँ । अहिले नेपाली कांग्रेसको आमन्त्रीत केन्द्रिय सदस्य सम्म पुगेको छु ।

    त्यस पछिको जन सम्पर्क समिती र तपाँईको सक्रियताका कस्तो रह्यो ?

    जन सम्पर्क समिती अमेरिका सन् २००४ बाट सुरु गरेको हो । २००४ को अन्त्यबाट पहिलो संस्थापक संयोजक भएको हुँ म । त्यसपछि बिचमा २ वटा समिती बन्यो । एउटा समितीको नेतृत्व डा. सुरेन्द्र देवकोटाले गर्नु भयो अर्को समितीको मैले । हामी दुई जना आ—आफ्नो समितीका अध्यक्ष थियांै ।

    पछि २ वटै समितीलाई पार्टीले मान्यता दिएर तदर्ष समिती बनायो । २÷३ बर्ष सम्म निर्वाचन हुन सकेन । पछि सन् २०१४ मा टेक्ससको ड्यालसमा भएको अबिधेशनबाट म अध्यक्षमा निर्वाचित भएँ । यो मेरो तेस्रो अध्यक्ष पदको जिम्मेबारी थियो । तसर्थ जन सम्पर्क समितीको स्थापना देखीको यो यात्रा अहिले पनि निरन्तर छ ।

    तपाँई कहिले सम्म अध्यक्ष पदमा बसिरहने ?
    पदिय मोह भन्दा पनि यो मेरो जिम्मेवारीले जोडिराखेको पद हो । पार्टीको बिधानमा पनि माथिल्लो पदमा गै सकेको मान्छे तल्लो पदमा बस्न नपाउने उल्लेख छ । मैले त ३ बर्ष भित्रमै अबिधेशन गर्नु पर्छ भन्दै आएको हुँ । यहाँका साथीहरुको आन्तरिक किचलोका कारण, अबिधेशनलाई फेस गर्न नसक्ने साथीहरुले जहिले पनि नेपालका नेताहरुसंग गुठबन्दी गरेर अबिधेशन हुने बेलामा भाडभैलो गर्ने, अबिधेशन हुन नदिने बिभिन्न सणयन्त्र गर्ने जस्ता अबिधेशन बिरोधी क्रियाकलाप गरिरहेका हुन्छन् । कोरोना कहर नभएको भए यहि अप्रिल भित्र अबिधेशन गर्ने कुरा तय भै सकेको थियो । बिचमा नेपालमा भएका स्थानिय, प्रदेश आदी निर्वाचनका कारण पनि अबिधेशन रोक्नु परेको हो ।
    म जति सक्यो चाँडो या अबिधेशन गराएर नेतृत्व हस्तान्तरण गर्न आतुर छु । एउटा जिम्मेबार पदमा बसेको मान्छे भागेर जान नमिल्ने भएर मात्रै बसिरहेको हो । मैले राजिनामा दिएर पनि जान सक्थें तर धेरै लामो संघर्ष पछि निर्वाचित समितीको अध्यक्षले बिचमा गैर जिम्मेबार शंैलीमा राजिनामा दिनुले समितीको बारेमा बाहिर राम्रो सन्देस जाँदैन र यो हुनुपनि हुँदैन भन्ने म सोच्दछु । फेरी तदर्थ समिती बनाउनुले निर्वाचनप्रति हामी कत्ती जिम्मेबार रहेछौं भन्ने कुरामाथी नै प्रश्न उठ्न सक्छ । त्यो भन्दा जति सक्दो छिटो अबिधेशन हुनु राम्रो हो भन्ने सोचेर र पार्टीको पनि त्यहि सल्लाह भएकाले ६ महिना भित्रै अधिवेशन गर्ने तय भएको थियो । कोरोनाका कारण विश्व ढप्प छ मुख्य कुरा यो अधिवेशन भन्दा पनि नेपालीलाई सहयोग गर्नु छ अहिलेको अवस्थामा ।

    कोरोनाका कहर झेलिरहेका न्युयोर्कबासी  नेपालीको अवस्था कस्तो छ ? 

    सुरुवाती दिनहरुलाई स्मरण गर्दा अहिले अवस्था अलिक सुधार उन्मुख छ । हामी ८÷९ हप्ता भयो सहयोगमा जुटेको । सुरुवाती दिनहरु सम्झँदा मन अझै पनि भारी हुन्छ जतिबेला न्युयोर्कको अवस्था अत्यन्त भयावह थियो । सुरुमै न्युयोर्कमा अनिल सुब्बाको मृत्यु भयो, लगत्तै एकै दिन ४ जनाको मृत्यु भयो, यि मृत्युहरुले नेपालीहरुलाई ठुलो सन्त्रासको आतंक सृजना भएको थियो ।
    सक्रमित परिवार यति भेटिएकी चिनजानका ब्यक्ती संक्रमित नभएको भेट्नै गाह्रो भै सकेको थियो । यस्तो भयावह अवस्था हेरेर बस्न हाम्रो मनले दिएन र त्यो हाम्रो जिम्मेबारी पनि थियो त्यसैले कसरी यो भयावह अवस्थालाई रोक्न र सहयोग गर्न सकिन्छ भनेर तत्काल जन सम्पर्क समितीको बैठक बस्यो र डक्टरको टोली , लयरको टोली देखी लिएर यहाँको सरकारी स्रोतबाट कसरी सहयोग लिने, बिभिन्न उपल्ब्धीहरुहरु गठन गरेउँ र जन सम्पर्क समितीबाट काम थालेउँ । तर काम थालेको २÷४ दिनपछि नै के महसुष भयो भने भोलीका दिनमा को रहला को नरहला भन्ने समेत अन्यौलतालाई नजिकबाट देखेको मैले यहाँ न्युयोर्कमा भएका बिभिन्न संघ संस्थाहरुलाई एउटा प्रस्थाव राखें । स्थिती यति भयावह थियो कि यसमा आनन्द बिष्ट या जन सम्पर्क समिती एक्लैले मात्र लागेर केही हुनै सक्दैन भन्ने भै सकेको थियो ।  त्यसैले राजनितीक आस्था भएका संस्था राजिनती भन्दा माथी उठेर सोचौं जातिय संगठनहरु जतियता भन्दा माथी उठौं र को कुन ठाउँ वा क्षेत्रको होईन हामी नेपाली हौं यहााँ हाम्रा नेपालीको ज्यान खतरामा पर्दै गएको छ, मानवियता र भातृत्वभावले हामी नेपाली एकजुट हुनु जरुरी छ त्यसैले संयुक्त रुपमा नेपालीको पिडालाई महशुष गरेर सहयोगमा लागौं भनेर प्रस्थाव राखेको थिएँ ।
    यो प्रस्ताव प्रवासी नेपाली एकता मंच , आदिबासी जनजाती महासंघ लगायत यहाँ रहेका बिभिन्न संघ संस्थालाई राखेपछि उहाँहरुले पनि नेपालीमाथीको बिपत्तीलाई हेरेर प्रस्ताव स्वकार गर्नुभयो र संयुक्त रुपमा हामीले एउटा समुह गठन गरेउँ न्युयोर्कमा । जसको नाम “कोरोना बिरुद्ध सचेतना सहयोग संघ राखियो र  गठित समुह आ—आफ्नो जिम्मेबारीका साथ अघि बढ्यो । यो संयुक्त प्रयासले धेरै नेपालीहरुको अप्ठेरो अवस्थाको साथी बन्न सकेउँ हामी ।

    हामी यहाँ रहेका नेपालीहरु यो पिडालाई प्रत्यक्ष महशुष गर्न सक्थेउँ किनकी यो हाम्रो पनि भोगाई थियो । अवस्था यस्तो थियो त्यो बेला जतिबेला न्युयोर्कका फामेर्सीहरुमा माक्स थर्ममिटर, गोल्भस, सेनेटाईजरहरु पाईंदैन भनेर ढोकामा लेखिएको हुन्थ्यो यो कारुणिक र  भयावह अवस्थामा हाम्रा नेपालीहरुको ज्वरो आएर बस्दा समेत ज्वरो नाप्ने थर्मामिटर थिएन, औषधी थिएन, हस्पीटल जान चाहनुहुन्थ्यो तर अस्पतालको ढोका समाउन पनि डर थियो ग्लोभ्सबिना ।  सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यता थियो । त्यहीबाट संक्रमण फैलन सक्ने अर्को खतरा ।
    त्यो अवस्थामा हामीले न्युयोर्क बाहिरका बिभिन्न संघ संस्था र साथीभाईलाई यहाँको अवस्था यस्तो छ तपाँईहरु सक्नुहुन्छ भने हामीलाई सहयोग गर्नुस् भनेर आह्रवान नै गर्यौं । त्यो आह्रवान पछि  मेरो घरमा दिनहुँ ४÷५ वटा डेलीभरी आउन थाल्यो, ति सामग्रीहरु न्युयोर्कमा रहेका संक्रमितहरु जो लिन आउन सक्नुहुन्थ्यो आउनु भयो, लिन आउन नसक्नेलाई घर—घरमा गएर पुर्याउन थाल्यौं ।
    दर्दनाक अवस्था थियो मान्छे कति अप्ठेरोमा छन् गनेर साध्यै नै थिएन । त्यो बेला मिनेट मिनेटमा फोन बज्थ्यो मेरो । कोही सहयोग दिन त कोही लिनका लागि फोन गर्नुहुन्थयो । सहयोगको आवश्यकता छैन भन्ने मान्छे भेट्नै मुस्कील थियो । यो अवस्थामा हामीले मात्र स्वास्थ्य र खाध्य सामग्री जुटाएर नपुग्ने भएपछि न्यूयोर्क बाहिरका साथीहरुलाई सहयोगका लागि अपिल गरेका थियौं । फलस्वरुप यति राम्रो संग सहयोग आयो कि ति सहयोगी मनहरु सबै प्रति संधै कृतज्ञ छौं हामी ।
    जव सहयोग दिने र लिनेहरु बढ्दै गए तव एउटै मेरो घरबाट मात्र बितरण गरेर सबैलाई पायक हुँदैन भन्ने लागेपछि सजिलो लोकेसन बनाउन पर्यो बनाउने सल्लाह गरेउँ हामीले र १४ वटा फरक फरक लोकेसन बनाएउँ र त्यहाँबाट बितरण गर्न थालेउँ र जो त्यहाँ जान सक्नुहुन्छ जानुस् नसके हामी छौ हामी ल्याईदिन्छौं भनेर सबै भोलेन्टीयरहरु खटेउँ ।
    न्युयोर्कमा म लगायत  हामी सबै सुरुकै दिनदेखी भोलेन्टीयरहरु  ८÷९ हप्ताबाट खटिरहेका छौं भगवानको कृपाले आजको दिन सम्म हाम्रा कुनैपनि भोलेन्टीयर साथीलाई संक्रमण भएको छैन ।

    यो अवस्थामा जन सम्पर्क समितीको उपस्थिती अन्य राज्यमा कस्तो छ ?
    आन्तरिक रुपमा हामीले जन सम्पर्क समितीका साथीहरु सबैलाई जहाँ जहाँ अप्ठेरो भएको छ त्यहाँ रहेका साथीहरुले सहयोग गर्नुस् भनेर निर्देशन गरेका छौं । त्यसैले पनि सबै राज्यमा अप्ठेरोमा परेका नेपालीले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । न्युयोर्क सबैभन्दा बढि संक्रमित भएको राज्य भएकाले  र म आफैं पनि यहाँ भएकाले पहिलो प्राथमिकतामा राखेका छौं । किनकी सबैभन्दा अप्ठ्यारो अवस्था यहि ठाउँमा छ ।
    त्यो संगै क्यालिफनिर्यामा पनि अल्लीबढी संक्रमित भएकाले त्यहाँ पनि जन सम्पर्क समिती सक्रिय छन् । सबै साथीहरु तयारी अवस्थामा छौं जस्तोसुकै भयावह अवस्था आएपनि हामी सेवाका लागि तयार छौं भन्नुभएको छ  ।

    बिद्यार्थीहरु बढि समस्यामा छन् ति बिद्यार्थीप्रति यहाँहरुले के गरिरहनु भएको छ ?
    सुरुको दिनमा यस्तो थियो अवस्था की म संग माक्स र ग्लोभ्स भएको भएपनि म अस्पताल जान्छे, मलाई ज्वरो आएको छ नाप्न थर्ममिटर छैन, सेनिटाईजर छैन भन्ने अवस्था थियो । त्यो अवस्थलाई पहिले हामीले कभर गरेउँ । त्यो स्टेजमा करिव १ हजार परिवारलाई हामीले घर घरमा गएर सहयोग गरेउँ । अहिले पनि यहाँ कुनै यस्तो नेपाली छैन जसलाई सहयोग चाहिएको छैन भनोस् । हाम्रो कामको चापले सतप्रतिसत सहयोग गर्न सकेनौं होला तर ९० प्रतिसत भन्दा बढिलाई सहयोग गरेउँ ।
    त्यसपछि सेकेण्ड फेजमा जो मान्छेहरु कागजपत्रबाला छन्, लिगली काम गरिरहेका छन्, जो ग्रीनकार्ड होल्डर छन् जो सिटिजन छन् उहाँहरुलाई गभरमेन्टडले १२ सय डलर दिएको छ । चाईल्डलाई ५०० डलर दिईरहेको छ । अनईन्प्लाईमेन्टलाई ८० प्रतिसत दिईरहेको छ त्यसमा ६०० डलर एक्ट्र थपेर दिईरहेको छ । यहाँ बैधानिक तरिकाले बसेकाहरुलाई त केही मर्का नै परेको छैन बास्तवमा भन्ने हो भने ।

    उहाँहरुको दैनिकी जीवनमा पाउने कुराहरुमा जुन ६०० डलर थपेर दिईरहेको छ त्यस अर्थमा उहाँहरुको रेगुलर कमाईभन्दा बढि पाईरहनु भएको छ उहाँहरुलाई समस्या नै छैन ।
    समस्या भनेको ती नेपाली बिद्यार्थी भाईबहिनीलाई हो जो पढ्नका लागि एफ वान भिसामा आउनु भएको छ । ति भाईबहिनीहरुको कलेज सबै बन्द भयो जो हप्ताको २० घण्टा काम गरेर दैनिक जीवन चलाईरहनु भएको थियो, उहाँहरु समस्यामा हुनुहुन्छ । न्यूयोर्क बढि संक्रमणको सिकार भएकाले यहाँ रहेका ति बिद्यार्थी भाईबहिनीहरु जो एफ वान स्टुडेण्टजो पढ्नका लागि मात्र नेपालबाट आउनु भएको छ, जसको परिवार यहाँ छैन उहाँहरुलाई लगातार ४ हप्तादेखी १ महिना पुग्ने खाध्य सामग्री घर घरमा गएर बितरण गरेका छौं ।
    चौंथो चरण सम्म बितरण बितरण भै सकेको राहतमध्य पहिलो चरणमा हामीले ४६ जना बिद्यार्थीलाई बितरण गरेउँ, दोस्रो चरणमा ५६ जना बिद्यार्थीलाई, तेस्रो चरणामा ७१ ज्ना बिद्यार्थीहरुलाई र    चौंथो चरणमा ६१ जना बिद्यार्थीलाई बितरण गरेउँ । सबैलाई थाहा छ एफ वान स्टुण्डेन्ट भिसामा पढ्नका लागि आउने बिद्यार्थीहरु न्यूयोर्कमा भन्दा बाहिर धेरै छन् तर यतिबेला सबैभन्दा बढि न्यूयोर्क यस संक्रमणको सिकार भएकोले र यो ठाउँ धेरै महंगो ठाउँ पनि भएकाले  बिद्यार्थीहरुलाईलाई कुनै पिडा नहोस् भनेर हामीले हाम्रा बिद्यार्थीलाई प्राथमिकतामा राखेर राहत बितरण गरिरहेका छौं ।

    दुतावासले के गरिरहेको छ भन्ने कुरा दुतावासलाई नै थाहा छैन । दुतावासले मान्छेलाई मिटिगं बोलाउने, घण्टौं गफ गर्ने यहाँ के भईरहेको छ  ? त्यहाँ के भईरहेको छ ? भन्ने सोध्ने र बस्ने मात्र काम गरिरहेको छ । न्युयोर्क कोरोनाको ईपिसेन्टर हो, उहाँहरुले यहि ठाउँमा समेत ख्याल गर्नु भएको छैन र  दुतावासले कुनै पनि यहाँका सकिय संघ संस्थासंग समन्वय गरेको छैन । दुतावासले ५÷६ वटा मिटिगं गर्यो २ वटा मिटिगंमा म पनि सहभागी भएँ तर यो समय गफ गरेर, भाषण सुनेर बस्ने बेला होईन भन्ने मलाइ लाग्यो र मैले म तेस्रो मिटिगंबाट आउँदिन भनेर राजदुतलाई जानकारी गराएर सहभागी हुनै छोडें । यहाँ यस्तो भयावह अवस्था छ यो भाषण सुनेर समाचार सुने जस्तो गरेर बस्ने बेला हो कि कसरी यहाँ रहेका नेपालीलाई यो बिपतमा साथ दिन सकिन्छ भनेर सोच्ने बेला हो ?

     के गर्नु पथ्र्यो दुतावासले ? 
    दुतावास भनेको त नेपाल सरकारको निकाय हो, सरकार जुनसुकै पार्टीको होस् तर सरकार सबै जनताको हो । नेपाल सरकारको निकाय भएकाले यो अवस्थामा दुतावासको भुमिका अहम् हुनुपथ्र्यो । दुताबासले अमेरिकामा रहेका सबै संघ संस्थासंग समन्वय गरेर एउटा राम्रो सन्जाल बनाएर यहाँका संघ संस्थालाई सक्रिय बनाएर ल तपाँईहरु काम गर्नुस् दुतावासले समन्वय गर्छ भनेर अविभावकको भुमिका निर्वाह गर्नुपथ्र्यो । तर दुतावासले न हामीसंग समन्वय गरेको छ  न अन्य संघ सस्थासंग । दुतावासले मिटिगंमा बोलायो भनेर दंग परेर जानेहरु आफ्नै ठाउँमा हुनुहोला तर जुन भयावह अवस्था हामीले प्रत्यक्ष देखेका छौं, हाम्रा लागि कसरी नेपालीको ज्यान बचाउन र अप्ठेरोमा साथ दिन सकिन्छ भन्ने मात्र महत्वपूर्ण कुरा हो अहिलेको अवस्थामा ।  नकी भाषण गरेर, भाषण सुनेर बसौं । सडकमै आएर सहयोग गर भनेको होईन तर संजाल निर्माण गरेर तपाँईहरु संग हामी छौं भन्ने सम्म त गर्न सक्थ्यो नि यस्तो गैर जिम्मेवार बन्न हुन्थेन दुतावास ।

    तपाँईको बिचामा कोरोना संक्रमणलाई लिएर नेपालको अवस्था कस्तो छ ? नेपाल सरकारको भुमिकामा के भन्नु हुन्छ ?
    जसरी हामीले न्युयोर्कमा यति भयाबह अवस्था बेहोरेउँ, १६ जना दाजुभाई त हामीले गुमाउनु पर्यो । यो अवस्थामा दिनहुँ २५÷२६ सय मानिसहरुको मृत्यु भएको छ यो भयावह अवस्था देखेको अनुभवले के भन्छ भने नेपालको अवस्था पनि भयावह बन्दै छ, नेपाल सरकारको भुमिका अत्यन्त फितलो छ । सानो देश हो जहाँ लगभग ४ सय संक्रमित भै सके २ जनाको ज्यान गै सक्यो । क्वारेन्टाईनबाट मान्छेहरु भागेर गै रहेका छन्, क्वारेन्टाईनमा मान्छेलाई हुलेर राखेको जस्तो भएको छ  ।
    लापरवाही जस्तो देखिन्छ, संक्रमित नै बस्न नसक्ने भएर भाग्नु पर्ने भनेको लज्जास्पद कुरा हो । राम्रो ब्यवस्था गर्नुपर्छ, मान्छेको उपचारको लागि डाक्टरहरु र अस्पततालहरुलाई सक्रिय बनाउनु पर्छ । सरकारले प्राईभेट संघ संस्थासंग समन्वय बढाएर कसरी क्वारेन्टाईनलाई राम्रो बनाउने ? को भोकै छ ? को बिरामी छ जस्ता कुराको सहि तथ्याकं सकलन गरेर अस्था अनुसार सहयोग गर्नु पथ्र्यो तर सरकारलाई  मतलव छैन, सरकार आफ्नै आन्तररिक कलहमा छ, जनताको मर्का सन्त्रास एकातिर छ सरकार कसलाई प्रधानमन्त्री बनाउने ? कसले के भन्यो ? भन्नेमा लागि रहेको छ ।
    यो अवस्था खेलाची गर्ने अवस्था होईन । कांग्रेस जस्तो सशक्त प्रतिपक्ष पार्टीका  सभापती स्वयं बालुवाटर गएर कसरी कोरोना महामारी रोक्न सकिन्छ, जनता अप्ठेरोमा परे यो बेला आन्तरिक कलहमा लाग्ने बेला होईन भनेर सुरुकै दिनबाट भनिरहँदा पनि यो कुरालाई नजरअन्दाज गरेर बसेको छ सरकार तर यस्तो लापरवाहीले मर्कामा पर्ने भनेको त जनता नै हो । प्राथमिकता के हो भन्ने नै सरकारलाई थाहा छैन । जनता भोकै पनि लकडाउनको पालना गरिरहेका छन् ।

    नेपाल सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
    अहिले भारतका बिभिन्न नाकामा हाम्रा नेपालीहरु फँसिरहनु भएको छ महिनौं देखी भारतिय सरकारले बोडरमा लगेर जकड्दिएको छ । कुबेतका रहेका कागजनपत्र बिहिन ३ हजार नेपालीको अवस्था दर्दनाक छ ।
    हाम्रै यहि अमेरिकामा पनि भिजिटर भिसामा आफ्ना छोराछोरी भेट्न आएका बा आमाहरु आत्तीरहनु भएको छ । युरोप अमेरिका त छोडौं । कमसेक भारतमा रहेका हाम्रा दाजु भाई दिदी बहिनी नेपाल भारत सिमामा भोक भोकै यति लामो समयदेखी बसिरहेको देख्दा पनि हेरेर बस्नु सरकारको नालायकी पन होईन ? सबैको अवस्था बिचल्ली छ मान्छेहरु आत्म हत्या र डिप्रेसनको बाटोमा जाँदैछन् ति मान्छेहरुलाई नेपाल ल्याएर क्वारेन्टाईनमा राख्ने सम्म क्षमता छैन सरकारको ? यो दाहित्व सरकारको होईन ?
    कति सम्म लाजमर्दो कुरा छ भने युएई सरकारले दुवईमा रहेका नेपालीहरुलाई चार्डर गरेर पठाईदिन्छु भन्दा पनि सरकारले आफ्नो जनता ल्याउन सकेको छैन । सरकारले आफ्नो राजनितीक स्वार्थभन्दा माथी उठेर सोच्नु पर्छ । आफ्नो कर्तब्य के हो भनेर सोचेको छैन । यो अवस्था कोरोना मुक्त र संन्त्रास र सकसबाट सबैलाई निकाल्ने समय हो ।

    अन्त्यमा के भन्न चाहनु हुन्छ ? 
    तपाँई लगायत युएस खबर परिवारलाइ हार्दिक धन्यवाद  । यो अवस्थामा मिडियाका साथिहरुपनि खटिनैरहनु भएको छ ।  सहि समाचारलाई संप्रेसण गरेर नेपालीहरुलाई सु सुचित गर्ने काममा ठुलो भुमिका निर्वाह गरेको छ मिडियाले । म सम्पुर्ण मिडियाकर्मी साथीहरुको पनि मुक्तकण्ठले प्रसंसा गर्न चाहन्छु ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">