महाकवि देवकोटा ‘के नेपाल सानो छ ?’ निवन्धमा भन्थे – ‘विदेश भनेको सपना हो, एउटा कता-कताको कथा हो, नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो, जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ? कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठूलो चिज केही हुँदैन र उसले सम्झँदैन कि यो खलि विशालको एक अल्प खण्ड हो ।‘
महाकविबाट अत्यन्त प्रभावित हुँदा हुँदै पनि अन्तत म विदेश आएँ । एक कालखण्ड यहिँ बिताएँ ,म जस्तै लाखौं नेपाली पनि भासिए मुग्लान । कति फर्किए, कति यतै अल्झीए, कतिका निस्प्राण देह काठका बाकस हुँदै अदृश्य संसारमा बिलाईगयो । जे होस् यतिबेला म पनि मुग्लान मै छु । कोरोनाको उच्च जोखिममा रहेको देश अमेरिका जो हिजो सम्म सबैको सपनाको देश कहलिएको थियो ।
यहि देशबाट हेरिरहेछु मातृभूमि नेपालको राजनितीक कलह र कोरोना बिपतलाई । देश सम्बृद्ध हुन त्यहाँका साशकमा हुने देशप्रेमको चेत रहेछ, जनता सम्पन्न हुन यहि देशले सिकाएको माटोको महत्व रहेछ । तर मेरो मातृभूमी नेपाल कहिल्यै सहि सासकको हातमा परेन । अत्यन्त सुन्दर हुँदाहुँदै पनि देश बाँदरको हातमा नरिवल जस्तो भै दियो भने यति सम्मकी नेपाल आमाको सौन्दर्य देखेर छिमेकी देशहरु संधै यसको हरणमा उद्धत हुँदा सम्म पनि हाम्रा देश चलाउनेहरुले यसको महत्व र सौन्दर्य चिन्न सकेनन् । सासकहरु फेरिदैं गए, राजनितीक कालखण्डका नामहरु पनि फेरिदैं गए तर फेरिएन देशको मुहार कहिल्यै ।
आज नेपाल आमाको खुलेआम हरण भै रहेको हाम्रो आँखा सामु छ । हामी सम्पूर्ण नेपालीहरुका साथै नेपाललाई संबृद्धशाली बनाउँछु भन्दै बिगुल फुक्नेहरु भषणका भरमा जनतालाई अल्मलाई रहेछन् । गरिव जनताले आफ्नो भोको पेट राखेर तिरेको करलाई सेकुवा सम्झेर आनन्दको स्वाद लिईरहेछन् । देशको भूमी भारतले खुलेआम मिची रहेको छ । ६०१ जना सांसदहरुबाट कलहको नयाँ नयाँ शैली अपनाईरहेछन् । कवि माधव प्रसाद घिमिरे भन्थे नेपाली हामी रहुँला कहाँ नेपालै नरहे । यो गीत आजपनि चर्चामा छ, यि ६०१ जनाले पनि सुनेकै होलान् तर निदाउनु र निदाए जस्तो गर्नु फरक कुरा हो । यहाँ जनता देशमाथी छिमेकीको हस्तक्षेप विरुद्धमा ज्यानकै बाजी थाप्न तयार छन् तर नेताहरु यति सम्म गिरेका छन् कि उनिहरु देशको रक्षाका लागि कुनै विश्वासीलो कदम चाल्न चाहँदैनन्, भरपर्दो बक्तब्य र कुनै कुटनितीक पहल हुँदैन । हुन्छ त केवल जनताको आँखामा छारो हाल्ने शैलीका भाषण र अपत्यारिला आश्वासन ।
भारतको बारेमा केही बोल्यो भने आफ्नो अंगको मुख्य भाग नै जाला कि भन्ने डरले मुक दर्शकको रुपमा छन् राजनिती गर्नेहरु भनुँ भने पनि यहाँ यो डर के का निमित्त । जव की जनता सबै देशको रक्षार्थ साथ दिन तयार छन् । हिजोका दिन यहि साशन सत्ताका लागि कयौं नेपालीले ज्यान गुमाए आज उनिहरुलाई आफ्नो ज्यानको कत्रो माया । नेपालीका आँखामा छारो हालेर भित्र भित्रै यिनिहरुले छिमेकी संग घुँडा टेकेरै माफ मागिरहेका होलान् आफ्नै देशको माटोमाथी बलत्कार गरिरहनेहरु संग । होईन भने देशको रक्षाका लागि किन भरपर्दो कुटनितिक पहल गरिएको छैन ?
भोट दिएर कुर्चिमा बिराजमान गराउने जिम्मा त नेपालीहरुमा छँदै छ । आज भारतको बिरोधमा बोल्दा र नारा जुलुसमा भाग लिँदा प्रहरीको डंडा खाने पनि हामी ईमन्दार नेपाली नै । राजनितीक कर्मीहरु के को लागि ? देशमा भ्रष्ट्रचारलाई बढावा दिन ? नेपाली जनताले तिरेको करको दुरुपयोग गर्न ? आफ्ना नाता गोतालाई सुविधा सम्पन्न ठाउँमा जागिर दिन ? वा के का लागि ?
खोई कहाँ छ देश प्रतिको मायाँ ? राष्ट्रको सिमाना मिचेको पनि पिडा नहुने राजनितिज्ञहरु छन् हाम्रो देशमा । देशमा भ्रष्ट्रचार, बलत्कार, हत्या, हिंसा र अन्याय अत्याचार खुलेआम छ । छिमेकी देशले सिमा अतिक्रमण गर्दा किन मौन छन् ६०१ जना राजनिती कर्मीहरु ? किन संयुक्त राष्ट्र संघको दैलो ढकढकाउन डराउँछन् राजनितीकर्मीहरु ? देशको लागि यो भन्दा बढि आपतकाल कहिले हुन सक्छ ? नेपाली जनताले कति अन्याय र अत्याचार सहने छिमेकी भारतको ? राजनितीकर्मीहरु मौन रहनुपर्ने कारण के छ ? देशको भूमि देखादेखी लुटिनु यो भन्दा बढि के हुन सक्छ ? किन नेपाली जनतालाई संधै गुमराहमा राख्ने उदेश्य लिनु हुन्छ राजनितीक कर्मीहरु ?
देशका आफ्ना जनता कोरोनाका कारणबाट मृत्यु हुँदा, ईटालीका प्रधानमन्त्री जमिनमा लडीलडी रुन्छन, छट्पटाउँछन् । स्वयं भारतले पाकिस्तानमा हस्तक्षेप गर्दा तत्कालिन पाकिस्तानका प्रधानमन्त्री भूट्टो रुँदै सहयोगका लागि संयुक्त राष्ट्र संघ पुगेका थिए । आफ्नो मातृभूमि र स्वाभिमानको लागि राष्ट्रभक्ती नेताहरु आफ्नो प्राण आहुती गर्न पनि बाँकी राख्दैनन् । खुद तत्कालिन भारतिय प्रधानमन्त्री लाल बहादुर शास्त्री भारतमा अनिकाल र भोकमरी हुँदा “जय जवान, जय किशान” को नाराका साथ सम्पूर्ण भारतबासीलाई आह्वान गर्दै भनेका थिए “ हामी सम्पूर्ण भारतबासीका साथै म सहित मन्त्री मण्डलमा हुने सबैले आफ्नो घर अगाडी पछाडीको जमिन जोतेर अन्न उब्जाउनु पर्छ ” ।
लाल बहादुर शास्त्रीले यो पनि आह्वान गरेका थिए “ हामी सम्पूर्ण भारतबासी हप्तामा एक दिन उपवास ( ब्रत ) बस्नुपर्छ ता की हामीले कुनै बिदेशीहरुको सहयोग लिन नपरोस् ।
लाल बहादुर शास्त्रीले एउटा सानो गाडी खरिद गर्न बैंकबाट सापटी लिनु परेको थियो । तर हाम्रो देशमा सतीले सराप परेको छ भन्छन सबै नेपालीहरु । हाम्रो देशका राजनितीकर्मीहरु सामान्य रुघा खोकी लाग्दा बैंकक, सिंगापुरको अस्पतालमा भर्ना हुन जान्छन् ।
जवाहरलाल नेहरुको प्रधान मन्त्रित्व कालमा भारतले नेपालको तराई क्षेत्रको सिमाना मिच्ने र नेपालीहरुलाई हेप्ने काम भै रहन्थ्यो । देशको राष्ट्रिय अखण्डता माथि भारतको ठाडो हेपाह प्रवृत्तीलाई सहन नसकी तत्कालिन राजा महेन्द्रले हाम्रो उत्तरको छिमेकी मित्र चिनसंग गहिरो कुटनैतिक सम्बन्ध राखी, कुटनैतिक सम्बन्धबाट समस्याको सरलीकरण गरेको कुरा हामी सबैले मनन गरेको पनि सर्वविदित छ । समय समयमा भारतले नेपाल र नेपालीमाथी धावा बोल्ने गरिरहन्छ । नेपालमा मात्र होईन, दक्षिण एशियाली मुलुकहरुमा भारतको दमननिती असह्य छ ।
हामी नेपालीहरुको विश्वको अर्थतन्त्रमा कमजोर भएता पनि देशको रक्षाका लागि पछि नहटिकन दुश्मनसंग मुकाविला गर्ने बानी छ । सर्पलाई माया गरेर दुध पिलाएपनि उसलाई अनकुल मिलेपछि एकदिन डसेर प्राण लिन्छ । आज भारतले हामी नेपाली र नेपालप्रति गोमन सर्पको काम गरिरहेको छ ।
दुनियाको कोही पनि मानव जातीले आफ्नी जन्मदिने आमालाई हरण गरेको देख्न र सहन नसक्ने प्रष्ट छ । यसर्थ नेपाल आमाप्रतिको पटक पटकको भारतिय गिद्धेदृष्टी र हरणको प्रयास कुनैपनि नेपालीलाई सह्य हुने छैन । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीको मुलमन्त्रमा बाँचेका हाम्रो लागि हाम्री धर्तीमातामाथीको यो कुदृश्टी कदापी मान्य हुने छैन ।
प्रतिक्रिया